भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।
तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए । बेलेरोको ठक्करबाट गम्भीर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी छन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए ।