• २०८१ बैशाख २१ शुक्रबार

होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

kharibot

भोजपुर । होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । भोजपुरको हतुवागढी गाउँपालिकामा अनुमानित कूल रु ३० करोड ९० लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । पानीको समस्यामा रहेका हतुवागढीको वडा नं १, ५ र ६ का करिव एक हजार चार सय ६९  घर परिवारलाई पिउने पानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुर अन्तर्गत निर्माण भइरहेको यो आयोजनाको मुख्य पाइपलाइन विस्तार, ट्याङ्की, पालेघर, शौचालय निर्माण लगायतको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ । हालसम्म करिव चार हजार दुई मिटर मुख्य पाइपलाइन मध्ये दुई हजार चार सय ६० मिटर  विस्तार सम्पन्न भएको छ । 

त्यस्तै आयोजनाको लागि  पालेघर,  शौचालय, ३० घन मिटर(को ट्याङकी ,४० घन मिटरको ट्याङकी , ७५ घन मिटरको ट्याङकी  र मुहानमा पानी तान्न सम्फवेल(इनार) निर्माण सकिएको उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिए । 

आयोजनाको लागि शाखा पाइप लाइन,  शाखा लाइन ट्याङ्की निर्माण र बराङ डाँडाँबाट जैसी धारासम्म मुख्य लाइन विस्तार गर्न बाँकी रहेको उनको भनाइ छ । प्रदेश सरकारबाट बर्सेनी आउने बजेट कम हुँदा काममा केहि ढिलाई भएको सचिव राईले बताए । “आयोजना निर्माणका काम तीव्र गतिमा अघि बढाएका छौँ” सचिव राईले भने, “बस्तीमा  चाडो पानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । वर्सेनी थोरै थोरै मात्र बजेट आउने गरेकोले काममा केहि ढिलाई हुने अवस्था बनेको छ ।” 

हालसम्म भौतिक संरचनाको करिव ७० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विजय राईले बताए । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गरिने उनको भनाइ छ ।  वर्सेनी थोरै बजेट विनियोजन हुँदा काममा केहि ढिलाई भएको अवस्था रहेको अध्यक्ष राईको भनाइ छ । “योजनालाई चाडो सम्पन्न गराउने उद्धेश्यका काम गरिरहेका छौँ” उनले भने, “विद्युत् विस्तारको काम शुरु गर्ने तयारी भईरहेको छ । विद्युत् विस्तार सम्पन्न भएपछि पानी वितरण गछौँ ।”

योजनाको कामको भौतिक निर्माण अन्तिम चरणमा पुगेकोले अब पानी वितरणको काम अघि बढाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको छ । पानी तान्नको लागि पम्प जडानको लागि विद्युत् विस्तारको सर्वे भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंहले बताए । विद्युत् जडान पश्चात सवै पाइपलाइन तथा ट्याङ्कीको परीक्षण गरेर पानी वितरणको काम गरिने उहाँको भनाइ छ । “लामो समयबाट यहाँको भौतिक निर्माणको काम भइरहेको छ” प्रमुख सिंहले भने, “यो काम अन्तिम चरण पुगेको अवस्था छ । अव हामी यहाँ विद्युत् जडान गरेर पानी तान्ने कामलाई अघि बढाउछौँ ।”

यस वर्ष आएको करिव रु. एक करोड ५० लाख बजेटबाट आयोजनाको लागि विद्युत् जडान गरिने प्रमुख सिंहको भनाइ छ । थप कामलाई तीव्र गतिमा अघि बढाएर स्थानीयलाई चाडो पानी खुवाउनको लागि सवै संरचनाको कार्यालयले स्थलगत अनुगमन गरेको छ । प्राविधिकहरुसहितको समुहले अनुगमन गर्दा मुहानमा निर्माण भएको ट्याङ्कीमा खोलाले धार परिवर्तन गरेकोले कम पानी देखिएकाले त्यसको सुधार गर्नु पर्ने देखिएको प्रमुख सिंहले जानकारी दिए ।

“उपभोक्ता समितिद्धारा यहाँ निर्माण भएका सवै संरचनाहरुको विस्तृत रुपमा अनुगमन गरेका छौँ” उनले भने, “ अनुगमनका क्रममा देखिएका प्राविधिक समस्यालाई समाधानको पहल गछौँ ।” प्रदेशबाट आवश्यक बजेट आएको खण्डमा आगामी वर्ष भित्र योजनालाई पूर्णता दिने लक्ष्य रहेको कार्यालयको भनाइ छ । कम बजेट विनियोजन हुँदा कामलाई सम्पन्न गराउन चुनौति रहेको कार्यालयले जनाएको छ । 

यो आयोजना सम्पन्न भएपश्चात गाउँपालिकाका धेरै स्थानीयको पानीको समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतका वर्षहरुमा कम बजेट  विनियोजन हुँदा काममा ढिलाई हुने अवस्था देखिएको उहाँको भनाइ छ । योजनालाई चाडो सम्पन्न गराउन स्थानीय सरकारले पनि आवश्यक भूमिका खेलिरहेको अध्यक्ष राईले बताए । “यो हाम्रो गाउँपालिकाको निकै ठुलो खानेपानी योजना हो” अध्यक्ष राईले भने,“यसले तीन वटा वडालाई समेटेको छ ।  यहाँका पानीको समस्या रहेका स्थानीयलाई प्रत्यक्ष राहत पुग्ने छ । निर्माण कामलाई चाडो सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।”

प्रदेश सरकारबाट प्रयाप्त बजेट नआउँदा काममा केहि ढिलाई भएको अवस्था रहेको उनको भनाइ छ । करिव पाँच वर्षअघिबाट शुरु भएको योजना रहेकाले यसलाई चाडो सम्पन्न गराउन सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने अध्यक्ष राईले बताए ।  

योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने हतुवागढी ६ का अध्यक्ष मोहनकुमार राईले बताए । “हाम्रो वडामा पानीको निकै समस्या छ” वडाध्यक्ष राईले भने,“स्थानीयबासी पानीको पर्खाइमा छन् । पानी बस्तीमा आएपश्चात वर्षौबाट रहँदै समस्या अन्त्य हुनेछ । आयोजना समयमा सम्पन्न वडाले आवश्यक पहल गर्दै आएका छौँ ।”

स्थानीयको बहुप्रतिक्षित योजना रहेकोले कामलाई चाडो सम्पन्न गराउन राज्य गम्भिर बन्नु पर्ने हतुवागढी ५ का वडाध्यक्ष सुरेसकुमार राईले बताए । योजना सम्पन्न भएपश्चात यसको दिगोव्यवस्थापनको लागि वडाले पनि पहल गर्ने उनको भनाइ छ । 

स्थानीबासीको पानीको समस्या समाधानको लागि पिखुवा खोलाबाट सात  लिफ्ट गरेर पानीलाई बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५-०७६ बाट आयोजना निर्माण थालिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै