• २०८१ बैशाख २० बिहीबार

आइपिएल बन्यो 'डेकाकोर्न' ब्राण्ड

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेटमा विश्वकै उत्कृष्ट लिग रहेको छ । ब्रान्ड फाइनान्सको पछिल्लो रिपोर्ट अनुसार, आईपीएलको मूल्याङ्कन गत वर्ष ८.४ बिलियन डलरबाट २८ प्रतिशतले बढेर हाल १०.७ बिलियन डलर (लगभग एक लाख ४३ हजार करोड रुपैयाँ) पुगेको छ । आइपिएल शुरु भएदेखि हेर्ने हो भने सन् २००८ मा आईपीएलको मूल्य २ अर्ब डलर थियो, जस अनुसार अहिलेसम्म यो ४३३ प्रतिशतले बढेको छ ।

एक अर्ब डलर भन्दा ब्राण्ड भ्यालु भएका कम्पनिलाई युनिकर्न कम्पनि भनिए जस्तै १० अर्ब डलर नाघेका कम्पनीहरूलाई डेकाकोर्न भनिन्छ । अब आईपीएलको मूल्याङ्कन सन् २०२३ मा १०.७ बिलियन डलर नाघेपछि यो ब्राण्ड डेकाकोर्न ब्राण्ड भएको छ ।

आईपीएलको ब्राण्ड माथि आउनुमा कोरोना अवधि पछि पूर्ण क्षमतामा स्टेडियमहरूमा दर्शकहरू फिर्ता आउनुलाई लिइएको छ । त्यस्तै आइपिएलले थप ६.२ बिलियन डलरको मिडिया अधिकार सम्झौता गरेको छ भने आईपीएलको केन्द्रीय आम्दानी पूलमा व्यापक विस्तार भएको छ । साथै पछिल्ला दुई बर्षमा दुई फ्रेन्चाइज टोली थपिनु र गत सिजनदेखि महिला प्रिमियर लिगको सुरुवातले यसको मूल्याङ्कनलाई उल्लेखनीय रूपमा बढाएको रिपोर्टमा उल्लेख छ ।

साथै अम्बानी समुहको जियो सिनेमा एपको सहकार्ले पनि आईपीएललाई डेकाकोर्न बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यो एपले दर्शकहरूलाई नि: शुल्क आईपीएल देखाइरहेको छ ।

आइपिएलका १० फ्रेन्चाईजीमा मुम्बई इन्डियन्स ८७ मिलियन डलरको मूल्याङ्कनका साथ सबैभन्दा मूल्यवान आईपीएल फ्रन्चाइजको रूपमा अगाडि छ । त्यसपछि चेन्नई सुपर किंग्सको ८०.६  मिलियन डलर छ भने कोलकाता नाइट राइडर्सको ७८.६ मिलियन डलर रहेको छ । त्यस्तै एक पटक पनि आइपिएलको उपाधि जित्न नसकेको रोयल च्यालेन्जर्स बैंगलोरको ब्रान्ड भ्यालु ६९.८ मिलियन डलर रहेको छ । यस अघि केवल दुई सिजन मात्र खेलेर पहिलो सिजनमा नै उपाधि जितेको गुजरात टाइटन्सको ब्रान्ड भ्यालु ६५.४ मिलियन डलर रहेको छ । गुजरातले ब्रान्ड मूल्यमा उल्लेखनीय ३८ प्रतिशत वृद्धि गरेको छ । 

त्यसैगरी दिल्ली क्यापिटल्सको ६४.१ मिलियन डलर, राजस्थान रोयल्सको ६२.५ मिलियन डलर, सनराइजर्स हैदरावादको ४८.२ मिलियन डलर, लखनउ सुपर जाइन्टको ४७ मिलियन डलर र पञ्जाव किंग्सको ४५.३ मिलियन डलर ब्राण्ड भ्यालु रहेको छ ।     

त्यसैगरी ब्रान्ड स्ट्रेन्थ इन्डेक्सको आधारमा चेन्नई आइपिएलको सबैभन्दा बलियो ब्राण्ड देखाएको छ । मार्केटिङ फ़्रेन्चाइजीले गरेको लगानी र फ्यान वफादारी आदि सूचकांकले चेन्नईलाई बलियो ब्राण्ड बनाएका छन् ।

प्रत्येक अतिरिक्त फ्रान्चाइजीले एक अर्ब डलरको इकोसिस्टममा अनुमानित ब्रान्ड मूल्य थप्दै आईपीएल फ्रान्चाइजीहरूले आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछन्। आईपीएल विश्वभर आफ्नो पहुँच विस्तार गर्न सफल भएको छ । जसका कारण यसको बजार मूल्य निकै बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै