• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

kharibot

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ  । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे । 

दुवै पक्षबीच एकआपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रममा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उनले व्यक्त गरे । 

नेपाल प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई थप सबल बनाउन काठमाडौँ विश्वविद्यालयबाट विगतदेखि प्राप्त भएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा सहकार्यका थप क्षेत्रको पहिचान र परस्पर सहयोगको लागि नेपाल प्रहरी तयार रहेको बताए । सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशनसमेत दिए । 

समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा  थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले बताए । 

सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकतालाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमको विकास र कार्यान्वयनका सम्भावना अन्वेषण गर्ने उल्लेख गरिएको छ । विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आआफ्ना सङ्कायका लागि संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, अनुसन्धान निष्कर्ष, प्रकाशन र शैक्षिक सामग्रीसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधा, उपकरण र विधिमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्ष अवधिको लागि लागू हुनेछ ।

प्रहरी अतिरिक्त महानिरीक्षक, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा डा मनोज हुमागाईंलगायत अन्य प्राध्यापक, प्रहरी नायब महानिरीक्षक एवं वरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै