• २०८१ बैशाख १६ आइतबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा

kharibot

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दस मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

आयोजनाको मुख्य सुरुङतर्फ कूल एक हजार चार सय ५६ मिटर खन्नुपर्नेमा हालसम्म एक हजार दुई सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ । सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । 

आयोजनाको हालसम्म ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । प्रत्येक महिनामा एक प्रतिशत कार्य प्रगति हुने गरेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । तीनवटा प्याकेजमा गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।   

ट्रान्समिटरको कार्य पुनः सुरु 

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुन: सुरु गरिएको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुनः  सञ्चालन भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।  

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको छभने ३४ टावर खडा गरिसकिएको छ ।  

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सो रकममध्ये एशियाली विकास बैंकले  १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले  १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले  आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै