• २०८१ बैशाख १५ शनिबार

२०२३ मा दर्शकले मन नपराएका बलिवुडका ठुला बजेटका फिल्म

kharibot

काठमाडौँ । बलिवुडका लागि सन् २०२३ को बक्स अफिसको हिसाबले उत्कृष्ट रह्यो । यस वर्ष धेरै यस्ता फिल्म रिलिज भएका छन्, जसले मनग्य कमाईसँगै दर्शक र समीक्षकको माया पनि कमाए ।

शाहरुख खान अभिनित फिल्म पठानबाट सुरु भएको यो यात्रा हालै रिलिज भएको सालारसम्म जारी छ । तर, यो वर्ष यस्ता धेरै फिल्म रिलिज भए जसले दर्शकलाई चकित पारेको छ भने निर्माताले ठुलो घाटा बेहोर्नु पर्यो ।

यो सूचीमा पहिलो नम्बरमा प्रभास र कृति सेनन अभिनित फिल्म आदिपुरुष हो । करिब ७ सय करोडको बजेटमा बनेको यो फिल्म पहिलो टिजरसँगै विवादमा आएको थियो । यसपछि फिल्म हलमा आएपछि स्टारकास्टको लुकदेखि लिएर संवाद र पटकथासम्म पुरै देशमा हंगामा मच्चिएको जस्तो देखिन्थ्यो, फिल्ममा निकै विवाद भएको थियो । रामायणको कथामा आधारित आदिपुरुषले यस्तो हलचल मच्चाउने फिल्म निर्माता र निर्देशकले सायदै सोचेका होलान् । चलचित्रको संवाद सुनेपछि दर्शक निराश भएर हलबाट फर्केका थिए । आदिपुरुषले भारतीय बक्स अफिसमा १३५ करोड कमाई गरेको थियो ।

यो लिस्टमा दोस्रो नाम सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’को हो । ठुलो स्टार कास्ट भएको यो फिल्मबाट निर्माता र दर्शकले धेरै अपेक्षा गरेका थिए तर ठूलो पर्दामा यो फिल्मले खासै कमाल गर्न सकेन र फ्लप भयो । फिल्मको कमजोर कथाले दर्शकलाई निकै निराश बनाएको थियो । करिब १२५ करोडको लागतमा बनेको सलमानको यो फिल्मले बक्स अफिसमा ११० करोड कमाई गरेको थियो । 

फिल्म शेरशाहबाट ठूलो सफलता हासिल गरेका अभिनेता सिद्धार्थ मल्होत्रालाई सन् २०२३ मा ठूलो झटका लागेको थियो । एक अन्डरकभर एजेन्टमा आधारित उनको फिल्म ‘मिशन मजनु’ नराम्ररी फ्लप भयो, दर्शकले फिल्मलाई नक्कली कथा भने । अब २०२४ मा सिद्धार्थ फिल्म ‘योधा’ बाट कमब्याक गर्ने तयारीमा छन् । 

वर्ष २०२२ मा, भुल भुलैया- २ ले अभिनेता कार्तिक आर्यनलाई ठुलो राहत दिएको थियो । तर, सन् २०२३ मा रिलिज भएको उनको फिल्म ‘शेहजादा’ उनको करियरको सबैभन्दा खराब फिल्म बन्यो । बलिउडको सामान्य कथामा आधारित यो फिल्मलाई दर्शकले पूर्ण रूपमा अस्वीकार गरेका थिए । करिब ८५ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा ३२ करोड मात्र कमाएको थियो ।  

यो सूचीमा वर्षकै सबैभन्दा ठूलो हिट फिल्म दिने अभिनेता रणवीर कपूरको नाम पनि परेको छ । श्रद्धा कपूरको फिल्म ‘तू झुठी मैं मक्कर’ लाई दर्शकले अस्वीकार गरे । निर्देशक लव रञ्जनको यो फिल्ममा विषाक्त सम्बन्धबाट बाहिर निस्कने र सम्बन्धको हेरफेर देखाइएको छ । यो फिल्म पूर्णतया आजको युवा पुस्तामा आधारित थियो, तर फिल्मको कथा दर्शकले रुचाएनन  । करिब १७५ करोडको लागतमा बनेको यो फिल्मले करिब १५० करोड कमाई गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै