• २०८१ बैशाख १६ आइतबार

चोरीका मोटरसाइकल समाउने प्रहरीको क्लिन स्वीप अप्रेसन अभियान

kharibot

भैरहवा (रुपन्देही)। जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अप्रेसन’ अभियान सञ्चालन गरेको छ । 

यही पुस १ गतेदेखि प्रहरीले अभियानलाई ‘क्लिन स्वीप अप्रेसन’नाम दिएर चोरीका मोटरसाइकल नियन्त्रणमा सक्रियता देखाएको छ । 

अभियान सुरु गरेयता हालसम्म २३ मोटरसाइकल र नौ जना आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।

“केही दिनअघि भैरहवाबाट एकैदिन आठवटा मोटरसाइकल चोरी भएको थियो । सोही चोरीको घटना पछ्याउँदै जाँदा प्रहरीले २३ मोटरसाइकल बरामद गरेको छ”, उनले भने ।

रुपन्देहीका प्रहरी प्रमुख विश्वकर्माले अबका दिनमा चोरीका मोटरसाइकल नियन्त्रणमा अझै आक्रमक तरिकाले लाग्ने बताए । “हामीलाई सूचना आयो भने हामी घरमै गएर पनि चोरीका मोटरसाइकल बरामद गरेर ल्याउँछौँ”, उनले भने, “चोरी कार्यमा संलग्न जोसुकै होस् नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने छौं।”

भारतीय सीमा नजिक भएकाले भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तो मूल्यमा खरिद गरी प्रयोग गर्ने बढेको अनुसन्धानका क्रममा पाइएको विश्वकर्माले जानकारी दिए ।

“आफ्ना छोराछोरी कस्तो मोटरसाइकल प्रयोग गरिरहेका छन् यो अभिभावकले पनि ख्याल गर्नुपर्छ”,उनले भने, “अहिले धनाढ्य घरका मानिस नै यस्तो कार्यमा लागेका पाइएको छ ।” 

यही पुस १ गतेयता प्रहरीले दुईवटा रोयल इन्फिल्ड, बजाज पल्सर एक, हिरो स्पेलेण्डर छ, बजाज पल्सर दुई सय २० सिसीको तीन, यामाहा एफजेड एक, हिरो डिलक्स एक, हिरो होण्डा दुई, यामाहा आर–१५ दुई, फरिना स्कुटर एक, डियो एक, बजाज डिस्कोभर दुई र बजाज पल्सर दुई सय २० एनएस एक कुल २३ वटा मोटरसाइकल बरामद गरेको विश्वकर्माले जानकारी दिए ।

यही अवधिमा एउटै इन्जिन नम्बर भएको दुई वटा फोर्ड कम्पनीका कार पनि बरामद गरिएको उनले बताए ।

तिलोत्तमा नगरपालिका–२, जानकीनगरमा रहेको श्रीनगर अटो ग्यारेजमा एउटै इन्जिन नम्बरको कार रहेको सूचनाका आधारमा प्रहरीले दुईवटा कारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको विश्वकर्माले बताए ।

“विशेषतः जिल्लाको दक्षिणी क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग बढ्दो रहेको छ”,उनले भने, “यस्ता मोटरसाइकल आपराधिक क्रियाकलापमा प्रयोग गर्ने र सजिलै सीमा पारी भाग्ने गरेका पाइएको छ ।”

कतिपय अवस्थामा भारतबाट चोरी भएका मोटरसाइकल वा मोटरसाइकलमा प्रयोग हुने सामग्री नेपालमा बिक्री वितरण हुँदै आएका प्रहरी प्रमुख विश्वकर्माले बताए ।

नेपाली मोटरसाइकलको तुलनामा अत्यन्त सस्तो मूल्य रहेकाले युवा यस्ता चोरीका मोटरसाइकल तर्फ आकर्षित भएका उनको भनाइ थियो ।

अहिले रुपन्देही प्रहरीको ‘क्लिन स्वीप अपरेसन’ पनि यस्तै युवालाई केन्द्रित गरि ल्याइएको भन्दै यस क्रममा प्रहरीले चोरीको मोटरसाइकलसहित लागुऔषधमा सातवटा मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै