• २०८१ बैशाख १५ शनिबार

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुइँमा पढ्न बाध्य

kharibot

बारा । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ ।

तर, बाराको आदर्श कोटवाल गाँउपालिका–५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।

आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा खाली खुट्टा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको गुनासो छ ।

 चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षक रामबाबु प्रसाद यादबको भनाइ छ ।

आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ ।

विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । झन् ‘दैलो सरकार’ (स्थानिय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।

बाराको आदर्श कोटवाल गाउँपालिका–५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेको स्थानीयको भनाइ छ । 

तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक सारदा सिंहले गुनासो गरिन् ।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।

विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन् ।सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।

विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरणनै देखिँदैन् । चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न तिनै तहका सरकारले ध्यान नदिएकाले आदर्श कोटवालका स्थानीय बताउँछन् ।

विद्यालयमा अहिले जम्मा चार वटा कोठा छ । प्रशासनिक भवन अर्को भवनमा छ जसमा एउटा कोठामा निर्माण सामाग्री राखिएका छन् । सोही कोठामा विद्यालयको अफिस पनि छ । गाउँपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।

धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । आदर्श कोटवाल गाँउपालिकामा रहेको यस आधारभुत विद्यालयको नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुँइमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै