• २०८१ जेठ १ मंगलबार

नियमविपरीत रातु नदीमा उत्खनन भएको अनुगमन समितिको निष्कर्ष

kharibot

महोत्तरी। जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको संयोजकत्वमा गठित अनुगमन समितिले रातु नदीमा गलत ढंगले उत्खनन भएको निष्कर्ष निकालेको छ । 

सोमवार भएको अनुगमनको क्रममा धेरै त्रुटिहरु भेटाएको संयोजक कर्णले बताए । ‘हामीले धेरै त्रुटिहरु पहिचान गरेका छौँ । पहिला त एकपटक सुधारको लागी सुझाव दिनेछौ,’ कर्णले भने, ‘त्यसपछि कानुनी प्रक्रियामा जानेछौँ ।’ 

प्रमुख जिल्ला अधिकारी सिवलाल गेलालले पनि अहिले भइरहेको उत्खननप्रति असन्तुष्टि जनाएका छन् ।

सूचना बोर्ड नराखेको, घाटगद्दी तथा संकलन केन्द्र नदेखिएको, ड्यामबाट ५०-५० मिटर छाडनुपर्ने ठाउँमा नछोडिएको, रेखांकन नगरिएको, मापदण्डभन्दा गहिरा खाल्डा खनिएको लगायत धेरै त्रुटि भेटिएको प्रमुख गेलालले बताए । 

उनले पनि नगरपालिकालाई पत्र लेख्ने र अहिले भइरहेको उत्खननलाई मापदण्डअनुसार कार्यान्वयन गर्न लागिपर्ने बताए । उत्खनन मापदण्डको वैधतामाथि प्रश्न उठेपछि जनप्रतिनिधिले समेत आपत्ति जनाएका छन् । 

बर्दिवास वडा न.६ र वडा न.८ का वडा अध्यक्ष शम्शेर सिंह र पदम आलेमगरले मापदण्डविपरीत भएको उत्खनन तत्काल रोकिनुपर्ने बताउँछन् ।

‘खोलामा नै पुगेर अनुगमन गर्यौ । निक्कै गहिरा खाल्डा देखिएका छन् । यसलाई रोक्नुपर्छ भन्ने नै हाम्रो निष्कर्ष हो,’ शम्शेर सिंहले भने । कार्यापालिका बैठकमा पनि यो विषय गम्भीर रुपमा उठाउने पदम आलेमगरले बताए । त्यस्तै पूर्वनगरप्रमुख बिदुर कार्कीले पनि उत्खनन भइरहेको ४ न. खण्ड निकै भयावह ढंगबाट भएको भन्दै आपत्ति जनाएका छन् ।

विगतमा पनि उत्खननको क्रममा सम्झौताभन्दा बढी उत्खनन गरेपछि आफ्नै कार्याकालमा नापजाँच गरेर १२ करोड राजस्व बाँकी रहेको र अहिले पहिलेभन्दा पनि डर लाग्दो गरि उत्खनन गरेको कार्कीको भनाइ छ ।

उत्खनन भइरहेको ३ र ४ खण्डमा बेथिति देखिएको भन्दै उनले तत्काल उत्खनन रोकिनुपर्ने माग राखे । 

‘सर्वदलीय छलफल गरेर कानुनी उपचार खोज्ने छौँ,’ कार्कीले भने, ‘पर्यावरण प्रतिकुल हुनेगरी र ऐनविपरित काम गर्न कसैलाई छुट छैन ।’यता नगरप्रमुख क्षेत्रीले भने अनुगमन रिपोर्टलाई आधार बनाएर काम गर्ने वताएका छन् । क्षेत्रीको अनुसार ठेक्केदार कम्पनीहरुलाई चेतावनी दिइसकेको र अटेर गरे कारबाही हुनेछ ।

नगरले रातु नदीको पथलैया, जुरेटोल, फुलवारी र किसाननगर खण्डमा ६ करोड ४३ लाख ९ हजार ९ सय ९९ मा ठेक्का लगाएको हो ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै