• २०८१ बैशाख १५ शनिबार

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर

kharibot

कास्की । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।

महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिनुभयो । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो ।

“अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ । छिमेकी पालिकालाई रु २५ लाखका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौँ”, प्रमुख आचार्यले बताए ।

महानगरको चालु आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको थियो । बैठकमा कास्कीको रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

सो क्रममा छिमेकी पालिकामा भए÷गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दैगर्दाका अनुभवसमेत आदानप्रदान गरिएको छ । आगामी बैठक कास्कीको रुपाको व्यवस्थापनमा तीन महिनाभित्रमा बस्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै