• २०८१ बैशाख १५ शनिबार

शुभारम्भ र उद्घाटनको गोलचक्करमा मेलम्ची, कहिले कसले गरे ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुर्नविर्तरण कार्य शुभारम्भ गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा निर्माण गरिएको पहेँलो जलप लगाइएको धाराबाट बगेको पानी पिएर पानी वितरण शुभारम्भ गरे । उनी पानी वितरण उद्घाटन गर्ने छैटौँ नेता बनेका छन् ।

यसअघि मेलम्ची खानेपानीको आयोजनाको शुभारम्भ तथा उद्घाटन गर्नेहरूमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्री मणिचन्द्र थापा, खानेपानी मन्त्री उमाकान्त चौधरी, खानेपानी राज्यमन्त्री रामबीर मानन्धरलगायतले मेलम्चीका विभिन्न चरणहरूमा शुभारम्भ र उद्घाटन गरेका थिए ।

मेलम्ची आयोजना सुरु भए देखिनै शुभारम्भ र उद्घाटनको सिलसिला रोकिएको छैन । कहिले मेलम्चीको पानी पथान्तरण, कहिले सुरुङ निर्माण सम्पन्न, कहिले सुरुङको पानी प्रशोधन केन्द्रमा हाल्ने नाममा, कहिले मेलम्चीको पानी भन्दै ढुङेधारा खोल्ने नाममा, कहिले काठमाडौँका पानी ट्याङ्कीमा पुगेर पानीको भल्भ खोल्ने नाममा यस्ता शुभारम्भ र उद्घाटनका सिलसिला जारी रहेका हुन् । 

अझ रोचक कुरा के छ भने प्रधानमन्त्री प्रचण्डले आज शुभारम्भ गरेको पथान्तरण पनि अस्थायी भएको आयोजनाले बताएको छ । यसको अर्थ हामीले फेरी पनि मेलम्चीको पानीको पथान्तरको शुभारम्भ वा उद्घाटन फेरी पनि देख्न पाइने भएको छ । 

शुभारम्भको सिलसिला: 

१- सिन्धुपाल्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र  तत्कालीन खानेपानी मन्त्री विना मगरले काठमाडौँबाट मेलम्ची खानेपानी आयोजनाको पानी २०७७ असार २१ गते पथान्तरणको शुभारम्भ गरेकी थिइन् । त्यसवेला पथान्तरण गरिएको पानी काठमाडौँ आउन नपाउँदै गेट भत्किएको थियो ।

२- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए ।

३- तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौँको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् ।

४- तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले २०७८ फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए ।

५- तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले २०७९ चैत  १९ मा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।

६- तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले  २०७९ वैशाख ११ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङ्कीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन् ।

७- तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ मङ्सिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए । 

८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० माघ १ गते सिंहदरबारमा मेलम्चीको पानी पथान्तरको शुभारम्भ गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै