• २०८१ बैशाख २४ सोमबार

आत्मनिर्भर बनाउन व्यवसायिक तालिम केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री आचार्य

kharibot

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्रले नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

कतार च्याप्टर तथा हिल नेपालद्वारा आयोजित ‘अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन समुद्घाटन तथा हस्तान्तरण समारोह’का अवसरमा मन्त्री आर्चायले तालिमबाट सीप आर्जन गरी आत्मनिर्भर बन्न केन्द्रले ठूलो भूमिका निर्वाह गर्ने बताए । 

“नेपालमा कतार च्यारिटीले निस्वार्थभावमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रंशसनीय छ । व्यावसायिक तालिम केन्द्रले व्यावसायिक सीप प्रदान गरी नेपाली नागरिकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, मन्त्री आर्चायले भने ।

व्यावसायिक तालिम केन्द्रले दुई मुलुकबीचको सौहार्द सम्बन्धलाई थप सुदृढ बनाउनेमा मन्त्री आचार्यले विश्वास व्यक्त गरे ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कतार च्यारिटीले शिक्षा, सीप विकासलगायत क्षेत्रमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै केन्द्र कुनै धर्म समुदायको मात्र नभई देशको सम्पत्ति रहेको बताए ।

कार्यक्रममा हिल नेपाल र कतार च्यारिटी नेपालद्वारा निर्मित उक्त भवन असलाम सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।

प्राविधिक तथा व्यावसायिक तालिम प्रदान र संस्कृतिको आदान–प्रदान तथा संरक्षण गर्ने मुख्य दुई उद्देश्यसहित निर्मित भवनको सोहीअनुसार रेखदेख तथा व्यवस्थापन गर्ने जिम्मेवारीसहित दुई पक्षबीच हस्ताक्षर गरिएको छ ।

असलाम सोसाइटीका अध्यक्ष नजरुल हसनले सोसाइटीले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै केन्द्र सबै नेपालीको उत्थानका लागि रहने जनाए ।

समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले व्यावसायिक तालिम प्रदान केन्द्रलाई थप सहजीकरणको भूमिका परिषद्ले गर्ने आश्वासन व्यक्त गरे ।

कतार च्यारिटी नेपाल कार्यक्रमका निर्देशक मोहम्मद वकासले व्यावसायिक तालिम केन्द्रले स्थानीय समुदायमा सीप विकास तथा संस्कार संरक्षणमा टेवा पुग्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै