• २०८१ बैशाख १५ शनिबार

जापानको चन्द्रमामा यान सफलतापूर्वक अवतरण, सोलार व्याट्रीको रिचार्जमा समस्या

kharibot

टोकियो । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ । 

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ । जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ ।

यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ । “स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन घण्टौंसम्म मात्र टिक्छ,” जाक्साका अधिकारीहरूले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्याङ्क लिने कामजाक्साका लागि प्राथमिकतामा रहेको अधिकारीले बताएका छन् ।   स्लिमको अवतरणसँगै जापान, अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ । 

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीहरूले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन् तर क्र्यास ल्यान्डिङ, सञ्चारमा समस्या र अन्य प्राविधिक समस्या व्याप्त छन् । 

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । बिहीबार अन्तरिक्ष यान फिर्ता हुने क्रममा पृथ्वीको वायुमण्डलमा जल्ने सम्भावनापछि दक्षिणी प्रशान्त महासागरमा उसको सम्पर्क विच्छेद भएको थियो ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत चालक दल भएको चन्द्र मिसनको योजना पनि स्थगित गरेको छ ।  यसअघि एउटा सार्वजनिक र एउटा निजी गरी दुईटा जापानी यान चन्द्रमामा पठाउने दुई वटै प्रयास असफल भएका  थिए । 

दुई वटा असफल चन्द्र अभियान र टेकअफपछि विस्फोटसहित हालैका रकेट असफलतापछि अन्तरिक्षमा यो सफलताले उच्च प्रविधिको जापानी प्रतिष्ठालाई पुनःस्थापित गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै