• २०८१ बैशाख १५ शनिबार

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना साढे ३ बजेदेखि सुरु हुने

kharibot

विराटनगर। कोशी प्रदेशमा भर्खरै सकिएको मतदानको मतगणना अबको आधा घण्टापछि हुने भएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् । 

मतदान नगर्नेहरुमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।

यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । 

प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।

सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले अब साढे ३ बजे मतगणना सुरु गरिने जानकारी दिए । मतपरिणाम दुई घण्टामा आइसक्ने उनको भनाइ छ । 

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदै छ । त्यसमध्ये कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जसमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । 

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । 

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै