• २०८१ बैशाख १९ बुधबार

भ्रूण स्थानान्तरणबाट गैँडा गर्भवती

kharibot

नैरोबी (केन्या) ।  एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् । 

अर्को उप–प्रजातिका साथ परीक्षण गर्दा अन्वेषकहरूले प्रयोगशालामा अन्डा र शुक्राणुबाट दक्षिणी सेतो गैँडाको भ्रूण बनाए । ती अन्डा र शुक्राणु पहिला अन्य गैँडाबाट सङ्कलन गरिएको थियो र त्यसलाई केन्यामा ओल–पेजेटा कन्जर्भेन्सीमा एउटा दक्षिणी सेतो गैँडा सरोगेट आमामा स्थानान्तरण गरिएको थियो । 

“सफल भ्रूण स्थानान्तरण तथा गर्भावस्था अवधारणाको प्रमाण हो र अब यसले अन्वेषकहरूलाई उत्तरी सेतो गैँडाको भ्रूणलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न अनुमति दिन्छ, यो उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने मिसनको आधारशीला हो”, समूहले विज्ञप्तिमा भनेको छ । 

यद्यपि सरोगेट आमा गैँडाको सन् २०२३ नोभेम्बरमा एक जीवाणु सङ्क्रमणबाट मृत्यु भएपछि मात्र टोलीलाई गर्भावस्थाबारे थाहा भयो । क्लोस्ट्रिडियम स्ट्रेनका बीजाणुहरू बाढीको पानीले माटोबाट निस्कँदा गैँडालाई सङ्क्रमण भएको थियो र पोस्टमार्टम परीक्षणमा भ्रूण पत्ता लागेको थियो । 

तर पनि वैज्ञानिकहरू आफ्नो निष्कर्षलाई लिएर अत्यन्त आशावादी छन् । बायोरेस्क्यु प्रजनन विभागका प्रमुख एवं मुख्य शोधकर्ता प्राध्यापक थोमस हिल्डेब्रान्टले भने, “अब हामीसँग परीक्षण ट्युबमा तयार गरिएको जमेको, पग्लिएको भ्रूणले नयाँ जीवन दिनसक्छ भन्ने स्पष्ट प्रमाण छ र हामी सेतो गैँडाका लागि यही चाहन्छौँ ।”

अफ्रिकामा करिब २० हजार दक्षिणी सेतो गैँडा रहेका छन् । तिनीहरू उप–प्रजातिका साथै अर्को प्रजाति कालो गैँडा आफ्नो सिङको अवैध शिकारका कारण तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमीबाट माथि आइरहेका छन् । यद्यपि उत्तरी सेतो गैँडाको उप–प्रजाति विश्वमा दुई वटामा मात्र बाँकी छन् । 

तिनीहरू बस्ने ओल–पेजेटा कन्जर्भेन्सीका अनुसार ३४ वर्षीय नाजिन र उसको २३ वर्षीय सन्तान फातु दुवै प्राकृतिकरूपमा प्रजननमा असमर्थ छन् । अन्तिम भाले सेतो गैँडा ४५ वर्षको सुडान थियो । उमेरसम्बन्धी जटिलताका कारण सन् २०१८ मा उसको मरण सहज बनाइयो । ऊ नाजिनको भाले थियो । 

उत्तरी सेतो पोथी गैँडाबाट प्राप्त अन्डाहरू प्रयोग गरी भ्रूण उत्पादन गर्नका लागि प्रयोग गर्ने आशामा वैज्ञानिकहरूले उसको वीर्य र अन्य चार मरेका गैँडाहरूको वीर्य भण्डारण गरे । अन्ततः दक्षिणी सेतो गैँडा सरोगेट आमाहरूले ती वीर्य र अन्डा बोक्नेछन् । 

केही संरक्षण समूहहरूले चाड, सुडान, युगान्डा, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा प्रजातिहरूको प्राकृतिक वासस्थान मानव द्वन्द्वका कारण नष्ट भएकाले इन भिट्रो फर्टिलाइजेसनमार्फत उत्तरी सेतो गैँडालाई बचाउन सम्भवतः ढिलो भइसकेको तर्क दिएका छन् । संदिग्धहरूले बाँच्नका लागि राम्रो अवसरका साथ अन्य गम्भीररूपमा लोपोन्मुख प्रजातिहरूमा प्रयास केन्द्रित गर्नुपर्ने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै