• २०८१ बैशाख १६ आइतबार

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

kharibot

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । 

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्काेतर्फ १४ मिटर तल झरेको छ । उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उनले भने, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।” 

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताए । उनको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ । 

पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उनले बताए । काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए । 

आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उनका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । 

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् । 

जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए । उनका अनुसार काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए  । अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताए । 

यो राजमार्गलाई एशियाली विकास बैंक (एडिबी) को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै