• २०८१ बैशाख २३ आइतबार

जीबी राईविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

kharibot

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा जीबी, भूपेन्द्र राई र थानबहादुर बुढाविरुद्ध नोटिस जारी गर्न पत्र पठाएको थियो । राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । २०८० असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका वर्तमान र पूर्वपदाधिकारी/सञ्चालक तथा कर्मचारीसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए ।

अनुसन्धान चरण र अदालतमा विचाराधीन मुद्दाका फरार प्रतिवादी देशभित्र फेला नपरेमा इन्टरपोलमार्फत खोजबिनका लागि सम्वन्धित देशका प्रहरीको अनुरोधमा डिफ्युजन नोटिस जारी हुन्छ । नेपाल इन्टरपोलको सदस्य राष्ट्र हो ।

फरारमध्येका जीबी राई गोरखा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन् । सूर्यदर्शनसहित अन्य जिल्लामा खोलिएका आधा दर्जन सहकारीको रकम हिनामिना प्रकरणमा समेत जीबी राईसहितका व्यक्ति मुछिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै