• २०८१ बैशाख ३० आइतबार

बाँदरका कारण बाँझो जग्गामा ओखरखेती

kharibot

बलेवा (बागलुङ)।  बसाइँसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन् ।

बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलियाबाङ्गा विदेशिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा छन् ।

जसोतसो खेती लगाउँ भने पनि घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल भएपछि अधिकांश गाउँबसीको यही नै  साझा पिरलो भएको छ । 

गाउँमा खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरुले अहिले  पनि बाँदरले नखाने खेती के हुन्छ भनेर खोजी गरिरहेका छन् ।

यसै क्रममा बागलुङ नगरपालिका–५ मालिकादेखि वडा नं ९ तित्याङको उच्च भेगका किसान अहिले ओखर र किबी खेतीमा तानिएका छन् ।

किसानको मागअनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका पाँच वडामा ओखरखेतीको सुरुआत गर्न लागेको छ । 

यो वर्ष नै एक हजार तीन सय ५० बिरुवा किसानलाई उपलव्ध गराइने नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए ।

बजारमा दाँते ओखरको माग उच्च छ । स्थानीय बजारमै पठाउन सकिने भएकाले पनि किसानले ओखरको माग गरेको उनको भनाइ थियो ।

नगरपालिकाको वडा नं ५ देखि ९ सम्म एक हजार छ सय मिटरभन्दा माथिको भूभागमा यो खेती गर्ने नगरपालिकाले योजना बनाएको छ ।

“किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो । अधिकतम बाँझो जग्गा उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो”, शाखाप्रमुख सापकोटाले भने, “कास्मिरी थिनलेस जातको ओखर लगाउने तयारी छ । 

बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको छ । बाँदरले कम क्षति गर्ने भएकाले किसानको उच्च माग मागलाई  हामी कार्यान्वयनमा ल्याउने सोचमा छौँ ।”

ओखरसँगै किबी खेतीलाई पनि प्रवद्र्धन गरिने उनले बताए । यो वर्ष पाँच सय किबीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराइने छ ।

फलफूल प्रवद्र्धन कार्यक्रमका लागि नगरले रु २० लाख विनियोजन गरेको छ । कूल बजेटको ७० प्रतिशत नयाँ बाली विस्तारमा खर्च गरिने छ । 

जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

“दैनिक स्याहार गर्नुपर्ने खेतीपाती लगाउन नसकिएकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाइएको हो,” जैमिनी–३ का किसान प्रेमबहादुर छन्त्यालले भने, “मेरो बारीमा भएका दुईवटा बोटमा लटरम्म ओखर फलेको छ ।

व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।” उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् । 

यहाँका किसानले गठन गरेको छन्त्याल किसान समूहमा आवद्ध भएका तीन भाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् ।

एक हजार दुई सय बिरुवा रोप्नका लागि रु १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रु १० लाख अनुदान दिएको थियो । 
 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै