• २०८१ बैशाख १५ शनिबार

कोभिडपछि पहिलो रुसी पर्यटकहरू प्योङयाङमा

kharibot

सोल । रुसी पर्यटकहरूको समूह शुक्रबार प्योङयाङ आइपुगेको एएफपीका पत्रकारहरूले देखेका छन् । उनीहरू महामारीका कारण सीमा बन्द हुनुभन्दा अघि आणविक सशस्त्र उत्तर कोरियाको भ्रमण गर्ने पहिलो ज्ञात विदेशी पर्यटक समूह थिए । 

एएफपीको भिडियो र तस्बिरहरूमा रुसी पर्यटकहरूलाई प्योङयाङ विमानस्थलमा पुगेको, विमानस्थलका चारैतिर घुम्दै तस्बिरहरू लिएर मुस्कुराउँदै गरेको र आगमन बोर्डमा उडानको विवरण देखाइएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेपछि यो भ्रमण मस्को र प्योङयाङबीचको सम्बन्धलाई बलियो बनाउने रूपमा भएको हो । 

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि मस्कोलाई हतियार पठाएको दक्षिण कोरिया र वासिङ्टनले पछि दाबी गरेका छन् । उत्तर कोरियाले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रमहरूका लागि र रुसले किएभसँगको युद्धका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेका छन् । 

भ्रमणको आयोजना गर्ने भोस्तोक इन्टुर टुर एजेन्सीका व्यवस्थापक नतालिया जिनिनाले सोलस्थित विशेषज्ञ साइट एनके न्युजलाई टुर समूहले फेब्रुअरी ९ देखि फेब्रुअरी १२ सम्म उत्तर कोरियाको भ्रमण गर्ने जानकारी दिनुभयो । उक्त समूह मुलुकको पूर्वी तटमा रहेको वोनसान सहर नजिकैको मासिक्रायोङ स्कि रिसोर्टमा यात्रा गर्नुअघि प्योङयाङमा पहिलो पटक रोकिने रिपोर्टमा उल्लेख छ । चार दिने भ्रमणमा कूल ९७ रुसी सामेल रहेको अनुमान गरिएको छ । 

युक्रेनमा आक्रमण गरेपछि प्रतिबन्ध लगाइएसँगै रुसीहरूका लागि युरोप र अमेरिकाको भ्रमण गर्न कठिन भएको छ । प्योङयाङको समेत भ्रमण गर्नुभएका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियालाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गर्न सकिने बताउनुभएको तासले रिपोर्ट गरेको छ । 

करिब चार वर्षको महामारीका कारण सीमा बन्द भएपछि गत वर्ष अगस्टमा उत्तर कोरियाले आफ्नो सिमाना पुनः खोलेपछि उत्तरमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको पहिलो समूह रुसीहरूलाई मानिन्छ । 

“यो उदाहरणले उत्तर कोरिया–रुस शिखर वार्तापछि दुई मुलकबीचको विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको पुनरुत्थानलाई प्रकाश पार्दछ”, सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले पुटिन र किमबीचको गत वर्षको भेटलाई उल्लेख गर्दै भने, “यसले विशेषरूपमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई मार्ग प्रशस्त गर्ने उद्देश्यलाई दर्शाउँछ ।”

“निकट भविष्यमा रुसले उत्तर कोरियालाई खाद्यान्नसहित मानवीय सहायता प्रदान गर्ने सम्भावना छ, उत्तर कोरियाले पनि रुसलाई क्षेप्यास्त्रलगायत आफ्नो सहयोगको दायरा बढाउने र विस्तार गर्ने सम्भावना छ”, उनले थपे । 

आणविक सशस्त्र उत्तर कोरियाले यसै वर्ष सोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरू बन्द गरेको छ । साथै ‘शून्य दशमलव ००१ मिलिमिटरसम्म’ पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । 

प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि रुस पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्नसक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै