• २०८१ बैशाख १६ आइतबार

अफताव आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

kharibot

रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटमा आज अन्तिम सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि  मुद्दाको पेशी न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा तोकिएको छ ।

यसअघि पुस २९ गते सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा सो दिन मुद्दा स्थगनको सूचीमा राखिएको थियो । त्यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो । तर उनको हाल सरुवा भइसकेको छ ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही  विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए ।

उनीमाथि १८ कार्त्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा 'विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरुमा मुद्दा दायर भएको थियो । सो मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको हो ।

उनी २०७६ कार्त्तिक २९ गतेदेखि थुनामै छन् । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो  आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो ।

त्यसपछि उनले सर्वोच्च अदालतमा आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका थिए। सर्वोच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी पुर्पक्षका लागि थुनामै छन् ।

यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहका बाबु नारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ ।

मुद्दामा आलमसहित मोहम्मद महताव आलम,शेख भदई,मोहम्मद मोविन आलम,शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै