• २०८१ बैशाख १६ आइतबार

भारतीय टिममा छनौट हुन घरेलु प्रतियोगिता खेल्नै पर्ने

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले रणजी ट्रफी २०२४ नखेलेका खेलाडीहरूलाई चेतावनी दिएका छन् । शुक्रबार शाहले सेन्ट्रल कन्ट्र्याक्ट पाएका स्टार र राज्यको टोलीबाट नखेल्ने आइपिएलको तयारीमा रहेका भारत- ए का खेलाडीलाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार शाहले पत्रमा राष्ट्रिय टोलीमा छनोटका लागि घरेलु क्रिकेट अझै पनि महत्वपूर्ण मापदण्ड रहेको उल्लेख गर्दै घरेलु खेलमा भाग नलिँदा गम्भीर परिणामहरू हुने बताएका छन् । सचिव शाहले चेतावनी जारी गर्नुको कारण घरेलु क्रिकेट भन्दा आईपीएललाई प्राथमिकता दिने खेलाडीहरूको व्यवहार भएको बताइएको छ ।
घरेलु क्रिकेट जहिले पनि भारतीय क्रिकेटको जग रहेको छ ।

शाहले लेखेका छन्, ‘हालसालै केही यस्ता कुराहरु बाहिर आएका छन् जुन चिन्ताको विषय बनेको छ । केही खेलाडीले घरेलु क्रिकेटभन्दा आईपीएललाई प्राथमिकता दिन थालेका छन् । यो अपेक्षा नगरिएको परिवर्तन हो । घरेलु क्रिकेट जहिले पनि भारतीय क्रिकेटको जग रहेको छ ।'

उनले पत्रमा भनेका छन्- 'घरेलु क्रिकेट भारतीय क्रिकेटको मेरुदण्ड हो र टीम इन्डियाको लागि फिडर लाइनको रूपमा काम गर्दछ । भारतीय क्रिकेटको लागि हाम्रो दृष्टिकोण सुरुदेखि नै स्पष्ट छ । टीम इन्डियाबाट खेल्न चाहने हरेक खेलाडीले घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । छनोटका लागि घरेलु क्रिकेटमा प्रदर्शन महत्वपूर्ण मापदण्ड बनेको छ र घरेलु क्रिकेटमा सहभागी नहुनुले गम्भीर असर पार्नेछ ।'

केही खेलाडीहरूले फिट रहन र अर्को आईपीएल सिजनको लागि तयारी गर्न वर्तमान रणजी ट्रफीमा खेल्न बेवास्ता गरेपछि यो पत्र आएको हो । यसमा राजस्थानका फास्ट बलर दीपक चहर, झारखण्डका विकेटकीपर इशान किशन र मुम्बईका दाहिने हात ब्याट्सम्यान श्रेयस अय्यर जस्ता खेलाडीहरू सामेल छन्, जसले शुक्रबारदेखि सुरु भएको रणजी ट्रफी खेलको अन्तिम चरणमा भाग लिइरहेका छैनन् ।

बीसीसीआईले खेलाडीहरू जनवरी भन्दा पहिले नै आईपीएलको मुडमा आएकाले असन्तुष्ट रहेको छ । रिपोर्टहरूले आगामी दिनहरूमा बोर्डले सबै खेलाडीहरूलाई रणजी ट्रफी र बीसीसीआईको अन्य घरेलु प्रतियोगिताहरूमा आफ्नो राज्य टोलीबाट खेल्नको लागि सूचित गर्ने भएको छ । अब राष्ट्रिय टिममा नरहेको र नेशनल क्रिकेट एकेडेमीमा अयोग्य र पुनर्वासमा रहेका खेलाडीलाई मात्र घरेलु खेल नखेल्ने छुट दिइने बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै