• २०८१ बैशाख १५ शनिबार

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

kharibot

मध्यविन्दु (नवलपरासी)।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन् ।

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । 

मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।

विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।  

“जिल्लाको कावासोती नगरपालिका-८ देखि १७, गैँडाकोट नगरपालिका-१०, ११, १२ र १३, देवचुली नगरपालिका-१७, मध्यविन्दु नगरपालिका-२ र ३,  विनयी त्रिवेणी गाउँपालिका-१ र ५, बुलिङटार गाउँपालिका-३ र बौदीकाली गाउँपालिका-४ मा हिउँदे धान खेती हुने गरेको छ”, उनले भने । 

कृषि ज्ञान केन्द्र नवलपुरले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।   

“गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो”, उनले भने, “यस वर्ष एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएको छ ।

गतवर्ष भन्दा अहिले एक सय १५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ।” जिल्लामा गतवर्ष एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो । 

बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए । “चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ”, उनले भने, “जिल्लामा विशेष गरी चैते-५ र हर्दिनाथ-१ जातको चैते धान रोप्ने गरिन्छ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै