• २०८१ बैशाख १६ आइतबार

तनहुँमा जन्ती जीप दुर्घटना: मृतकको सङ्ख्या तीन पुग्यो

kharibot

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । 

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो । तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो । 

आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो । दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ । 

आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । उनले भने, “खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ ।” 

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो । उनले भने, “दुई वटा गाडी घर पुगिसकेको थियो । आफन्तहरु चढेको बोलेरो जीप दुर्घटना भयो । घाइतेहरु पनि आफन्त नै हुन् ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै