• २०८१ बैशाख १६ आइतबार

सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव गणतन्त्रको मूल लक्ष्य : राष्ट्रपति पौडेल

kharibot

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता र एक्यबद्धता देख्न सकिने बताएका  छन् ।

अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताएका हुन् ।

“सबै धर्म, संस्कृतिको संरक्षण गर्ने संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न किसिम उल्लेख गरेर सबैले अधिकारको स्वतन्त्रता उपयोग गर्ने विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भने । 

उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

“स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु–सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

यस क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायत काम हुनु खुसीको कुरा भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरेर अल्प, मध्य र दीर्घकालीनरूपमा नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

तीनै तहका सरकारले बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको भनाइ थियो ।

शिवरात्रि, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दसैँ, श्रावण स्नान, बोलबमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको उनले राष्ट्रपति पौडेलले बताए । 

“यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौँ पर्यटक भित्रयाउने सम्भावनाप्रति सबैको ध्यानाकर्षण गराउँदछु । यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

छ/छ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२–१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र एक सय ४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ । 

राष्ट्रपति पौडेलले यो पवित्रस्थल तीर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउँदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकामा सुदूरपश्चिम क्षेत्रका सबै धन्य भएको बताए ।

उनले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताए ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै