• २०८१ बैशाख १५ शनिबार

विकास माग्न जाजरकोटी काठमाडौँमा : ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

kharibot

सुर्खेत। जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङग अवस्थालाई गती दिनका लागि जाजरकोटका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हारागुहार गरेका छन् ।

पूर्वमन्त्री गणेशप्रसाद सिंह लगाएतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।

भूकम्पबाट पीडित बनेका जाजरकोटबासीलाई तत्काल उचित व्यवस्थापन देखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाक्रषण गराएका हुन् ।

जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङग बनाएका मोटरेबल पुल , पुष्पलाल मध्यपहाडी लोक मार्गको १२ वर्ष देखि अलपत्र परेको मन्ताभिर लगाएत अन्य सडक खण्ड , लुम्बिनी –रारा सडक खण्डको जाजरकोट भित्र पर्ने सडकको विजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाक्रषण गराएको छ ।

नलगाड जलविद्युत आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तिमा १० लाख भन्दा माथी उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । 

ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरि छिटो भन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टिमको माग रहेको छ ।

भेरी करिडोर भित्रको ५६ किलोमिटरमा पिचको लागि काम भएपनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यलाई समेत भारी मात्रामा उठाएको छ ।

पश्चिम जाजरकोटको छेडा– चाँदे हुँदै जुम्ला जोडने सडकको स्तरोन्न्तीको काम रोखिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै– बहुप्राविद्यिक शिक्षालय काफलचौर सम्मको ठेक्का लागेपनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ ।

नलगाड नगरपालिकाले आफ्नो पालिका भित्र दर्जन पुलहरु अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । 

जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरु लथालिङग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ । 

नलगाड जलविद्युत आयोजनाको पुल समेत ९ वर्ष देखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरु ६ वर्ष देखि अलपत्र हुँदै आएका छन् । 

विकास निर्माणको काम लथालिङग बनाउने जो सुकै भएपनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गती दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँ सम्म काम नगरी पेश्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ ।

जिल्लामा धेरै पटक विकास निर्माणको काममा  बिलम्ब नगर्न आग्रह गरेपनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रिसपन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाक्रषण गराउन काठमाडौँ पुगेको हो ।

भूकम्पमा परि क्षत ,विच्छेद भएको समयमा सबै खालका कामहरु होल्ड गर्दा जिल्ला पछाडी परेको समेत माग पत्रमा उल्लेख गरिएको छ । 

कोहलपुर देखि सुर्खेत सम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोट सम्म पुर्याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट लाइ समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोट सम्म तत्काल जोडनुपर्ने उनीको भनाई छ । 

४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सव टेशनको काम रोखिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर  लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ । 

माग पत्र बुझाउन उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पत्रकार प्रभात चलाउने , नलगाडका नगरप्रमुख डम्वर रावत , पूर्वमेयर टेकबहादुर रावल , पूर्व जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य कालीबहादुर मल्ल लगाएका नेताहरु बालुवाटार पुगेका थिए । 

सधै बालुवाटारको वरिपरी रहने तर जिल्लाको विकास निर्माणको कुरालाई ध्यान नदिएको भन्दै जिल्लाका दलका नेतृत्वको आलोचना समेत हुने गरेको छ । 

हाल जिल्लाबाट उर्जामन्त्री बस्नेत , कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , प्रदेशसभा सदस्य राजिवविक्रम शाह , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा , केही दिन अघि सम्म प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार रामदिप आचार्य रहेका छन् । 
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै