आठ हजार आठ सय ४८ मिटर नाप्ने पूर्णिमाको पाइताला

खरीबोट
ad

काठमाडौं । यही जेठ ५ तदनुसार मे १९ मा दश जना महिलाको टोलीले सगरमाथाको शिखरमा पाइला राख्न सफल भए । त्यो टोलीमा आठ जना विदेशी महिला थिए भने दुई जना नेपाली महिला । तिनै दुई नेपाली महिलामध्येकी एक थिइन् पूर्णिमा श्रेष्ठ ।

पेसाले उनी फोटो पत्रकार हुन् । यसै पनि जोखिम उठाउनु पत्रकारिताको धर्म नै हो, लेखेरै सारा वास्तविकताहरु देखाउनसक्ने पत्रकारको विशिष्ट गुण उनमा पनि छँदै थियो, फोटोपत्रकार हुनुको नाताले उनलाई जोखिम मोलेरै किन नहोस्, लोभलाग्दा हिमश्रृंखलालाई आफ्नो क्यामरामा कैद गर्ने पनि ठूलो सोख थियो । यसका लागि जोखिम उठाउनै पथ्र्यो । यस्तो जोखिम उठाउने अभिप्रेरणा भने उनलाई आफ्नै सोखले अझ भनौँ मनभित्रको उत्कट इच्छाले पूरा गरिदियो । त्यसकारण गत ५ गतेको शनिबार उनको जिन्दगीकै विशिष्ट र अविस्मरणीय दिन भइराख्नेछ । किनकि उनले पाइला पाइला नाप्दै आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको उचाइ पार गरेको दिन हो त्यो ।

गोरखाको आरुघाट गाउँपालिका आरुटारमा २०४७ सालमा जन्मिएकी पूर्णिमा श्रेष्ठ सामान्य किसान परिवारकी छोरी हुन् । विगत पाँच वर्षदेखि उनी फोटो पत्रकारिता गर्दै आएकी छिन् । भीमोदय मावि आरुघाटबाट एसएलसी गरेकी उनले सिटिजन इन्टरगेट कलेजबाट पत्रकारितामा स्नातक गरेकी छिन् ।

श्रेष्ठलाई फोटोग्राफीले तानेकै कारण फोटो पत्रकारिता कर्ममै आबद्ध भइन् उनी । फोटो खिच्न लालायित हुनेहरु र प्रकृतिबीचको सम्बन्ध कस्तो हुन्छ, भनिरहनै पर्दैन । पूर्णिमा पनि यही नातोमा फस्न पुगिन् किनकि उनमा फोटोको लोभ र भोक दुवै थियो । यिनै दुई कुरालाई पछ्याउने क्रममा उनलाई संसारकै अग्लो शिखरको शिर नाप्ने लालसा जाग्यो । तर चाहना मात्रै सबथोक होइन, साहस पनि हुनुपर्छ तबमात्र देखेको सपना साकार हुन्छ भन्ने उनलाई राम्ररी थाहा थियो । श्रेष्ठ भन्छिन्, ‘सुरुमा सगरमाथाको शिखरमा पुगेर फोटो खिच्न पाइन्छ भन्ने कुराले तान्यो शिखरतर्फ ।’

पेसाले फोटो पत्रकार भइसकेकी श्रेष्ठले पत्रकारिताकै सिलसिलामा जोखिमलाई भन्दा आफ्नो लक्ष्यलाई जोड दिन्थिन् । भूकम्पको बेलामा उनले खिचेका तस्बिर र आन्दोलनताका जोखिम मोलेर लिएका तस्बिरहरुले यसको पुष्टि गर्छ । उनलाई डरको पर्वाहभन्दा फोटो खिच्नुको मजा ज्यादा भएकैले विपत्तिहरुसँग नडराउने स्वभावले उनलाई जित्दै गयो । सोही कारण अफिसले कतै जोखिम ठाउँको फोटो खिच्न पठाए पनि हुने नि भन्दै उनी मनमनै कामना गरिरहेकी हुन्थिन् । 

वास्तवमा उनले एक दिन सगरमाथाको शिर हिँडेरै नाप्न सक्छु भन्ने साहस जन्मदेखि नै ल्याएकी थिइन् । श्रेष्ठले एक वर्षअगाडि पहिलोचोटि एभरेष्ट म्याराथुन प्रतियोगितामा जाने अवसर पाएकी थिइन् । त्यतिबेलै उनले मनबाटै सगरमाथाको तलदेखि माथिसम्मको उचाइ मापन गरिसकेकी थिइन् । यद्यपि उनी म्याराथनको फोटो खिच्न त्यहाँ गएकी थिइन् ।

त्यसक्रममा उनलाई नेपाली हिमालले विदेशीलाई गरेको आकर्षण देखेर अचम्म लाग्यो । खुम्बुबासीको हिमालप्रतिको माया, सात समुद्र पार गरी आउने विदेशीहरु र त्यहाँका मानिसहरुको चहलपहलले उनको मन इष्र्यालु बनिसकेको थियो । 

यसरी हिमालको छायाबाट फर्किए पनि सगरमाथाले उनको मन छोड्न मानेन । अब उनलाई हिमाली क्षेत्रका पदयात्राले लोभ्याउन थाले । उनी मनास्लुको पदमार्ग पुगिन्, यो उनको ठूलो काम गर्नुअघिको सानो तर महत्वपूर्ण खुड्किलो थियो । यसपछि साहस बढ्न थाल्यो । सगरमाथा चढ्ने सपना देख्न थालिन् । तर उनका साथीहरु भने ट्रेकिङ गरेको भरमा सगरमाथा चढ्न नसक्ने कुरा गर्थे ।

सगरमाथाको उचाइ ८८४८ मिटर थियो तर उनी जन्मिएको ठाउँ भने ६०० मिटर उचाइमा थियो । यो ठूलो सफलता हात पार्न चुनौती पनि ठूलै थियो । त्यसैले उनी सगरमाथाको यात्राअघि आफ्नै जिल्लाको मनास्लुतिर हानिइन् ।

यसै पनि सगरमाथा चढ्नको लागि ६ हजार उचाइको अन्य हिमाल चढेको हुनुपर्छ, त्यसकारण पूर्णिमाका लागि मनास्लु उत्कृष्ट गन्तव्य बन्यो । २०१७ को सेप्टेम्बर २६ मा उनले पहिलोपटक छ हजार उचाइको सट्टा उनले आठ हजारभन्दा माथिको मनास्लु हिमाल चढिन् । यसका लागि पनि उनलाई आर्थिक तथा अन्य विभिन्न चुनौतीहरु थिए नै, तर त्योभन्दा ठूलो उनका लागि हिमाल चढ्नु नै थियो, अन्य गौण कुराहरु त्यतिकै समाधान भए ।

सगरमाथाको उकालो यात्रा

एभरेष्ट बेस क्याम्प गएँ भन्दैमा कोही पनि हिमाल चढ्न सक्छ भन्ने हुँदैन । झन् सगरमाथा चढ्ने कुरा गर्दा आउने पैसाको समस्या, त्योभन्दा ठूलो परिवारको नजाऊ भन्ने सल्लाह सगरमाथा चढेजत्तिकै ठूलो चुनौती थियो । तर यसलाई उनले विस्तारै समाधान गर्दै गइन् । मनास्लु चढ्छु भनेदेखि नै उनलाई अर्थ संकलनमा धेरै समस्याहरु आए । साथीहरुसँग चार लाखजति ऋण गरेर उनी मनास्लु पुगेकी थिइन् ।

१२ लाखमा मनास्लु, २५ लाखमा सगरमाथा

हिमाल चढ्न मन भएरमात्र पुग्दैन, आँट चाहिन्छ र आँटमात्रैले पनि चढिँदैन त्यसलाई जगाउन पैसा पनि चाहिन्छ । उनलाई सगरमाथा चढ्न २५ लाख लाग्यो । मनास्लु पुग्न उनले १२ लाख खर्चिएकी थिइन् । पूर्णिमाको लागि सगरमाथा झनै ठूलो चुनौती थियो । उनलाई सहयोग गर्ने सहयोगी हातहरु धेरै भएको र त्यही सहयोगी मनहरुको आशीर्वादबाट नै हिमाल आरोहण सफल भएको उनी बताउँछिन् । गोर्खाली, विभिन्न संघ÷संस्थादेखि लिएर धेरैले उनलाई सहयोग गरेका थिए । उनले हिमाल आरोहणसँगै सगरमाथामा फोटो प्रदर्शनी पनि गरिन् । बेस क्याम्पदेखि सगरमाथाको चुचुरोसम्म नै उनले फोटो प्रदर्शनी गरेकी थिइन् र हिमालदेखि तराईसम्मको मुस्कुराइरहेका महिलाहरुको फोटोहरु उनले प्रदर्शनी गरेकी थिइन् । मुस्कुराइरहेका देखिने २५ फोटो उनले सबै क्याम्प आधारशिला र सगरमाथाको शिखरमा प्रदर्शनी गरेकी थिइन् ।

उनले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको विषयलाई पनि लिएर गएकी थिइन् । यो समस्याबाट कसरी बाँच्न सकिन्छ भनेर अग्लो स्थानमा गएर चेतना फैलाउन पनि सफल भए उनी भन्छिन् । सगरमाथा जाने तयारी गर्न उनको लागि सगरमाथा चढ्न जस्तै गाह्रो भयो । मान्छेको मन जितेर पैसा निकाल्न सक्नु एकदमै गाह्रो काम थियो ।

अनुभव

मनास्लुभन्दा गाह्रो थियो । क्याम्पहरु टाढा टाढा थिए । मौसममा भर पर्नुपर्ने लामो समय मौसम सहज थिएन । साहसी छु, गर्न सक्छु, गर्छु भनिरहँदा पनि महिला भएकै आधारमा पनि प्राकृतिक रुपमा नै हुने समस्या त छँदै थिए । ‘मनमा कुरा खेल्ने मनैदेखि हरेक कुरामा सतर्क भएर रहनुपर्दछ । जीवनमै यसरी सतर्क भएर हिँडेको फिल गरेँ’, उनी अनुभव सुनाउँछिन्, ‘क्याम्पहरुमा गएर फर्केर मात्र चढ्नुपर्थ्यो, महिला कमै मात्र हुने, हुन त पुरुष पनि कम नै हुने तर सबै शेर्पाहरु मात्रै ।’ गाह्रो त सबैलाई भइहाल्छ नि भन्ने उनलाई लाग्थ्यो । शरीरको पीडा केटा र केटी दुवैलाई एकै हो भनेर चित्त बुझाउँदै उनी लक्ष्य पछ्याइरहिन् ।

पैसाको खोजी

करुना फाउण्डेसन, हेलो क्याफे, हवाई, अर्घाखाँची सिमेन्ट, कारोबार पिजे क्लव, धेरै संघ-संस्था र व्यक्तिहरुले उनको आँटमा साथ दिए । त्यसो त उनले १५ संघसंस्थाको झण्डा नै लिएर गएकी थिइन्, शिखरमा त्यो झण्डा गाड्ने जिम्मेवारी पूरा गर्न पनि गाह्रै थियो । 

उनलाई २० हजार, २५ हजार, ५० हजारदेखि एक लाखसम्म सहयोग गरे । जसले गर्दा होस्टेमा हैँसे हुँदै गयो । उनलाई सगरमाथा चढ्न गाउँपालिकाले १ लाख दियो । गाउँमा आफन्तहरुसँग म हिमालसँग बिहे गर्न जाँदै छु बिहेमा खर्च गर्नुपर्दैन ।  अहिले नै सहयोग गर्नु भनेर पनि उनले पैसा मागिन् । आफू पढेको स्कुल, कलेजसम्म पुगिन् । विदेशमा बस्नेहरुदेखि विद्यालयमा पढ्नेसम्मले उनलाई सक्दो सहयोग गरे ।

एकै वर्षमा दुई चुचुरा

उनले हरतरहले पैसा जुटाएर १ वर्षमा २ वटा ८ हजारभन्दा ठूला हिमाल चढिन् । सामान्य परिवार, कहिल्यै हिमाल नचढेकी पूर्णिमाले यसरी आफ्नो सपना साकार पारिन्, उनको चाहनालाई पूरा गर्न धेरैले सदाशयता राखे । धेरै पैसा लाग्ने भएकाले उनलाई परिवारले आँट गर्ने कुरै भएन तर उनको लगनशीलताले यो सबै सम्भव भयो । उनी भन्छिन्, ‘मान्छेको सगरमाथा ठूलो सपना हुनै सक्दैन ।’ डेलिकेट भएर गर्यो भने सकिदो रहेछ भन्ने कुरा पनि उनले देखाइन् ।

यसरी मिल्दो रहेछ सफलता

‘किसान, गरिब कोही नचिनेको, बाबुआमा राजनीति पनि जानेको मान्छे पनि होइन । बिजनेस गर्ने मान्छे पनि होइन म बहुप्रतिभा भएको मान्छे पनि होइन । ता कि मान्छेले मेरो प्रतिभा देखेर सहयोग गरुन्’, उनी भन्छिन्, ‘म को हु कहाँबाट आएको मान्छे हुँ सफलताको लागि के के कस्तो कस्तो गर्नु पर्दो रहेछ  भन्ने कुरा पुर्ण रुपमा म हो भन्ने मलाई लाग्छ ।’ यतिसम्म गरिसकेपछि आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।  उनी पैसाले भन्दा पनि मनले सगरमाथा चढ्न गएको बताउँछिन् । आफूले सगरमाथा चढ्नु भनेका आफूसँग जोडिएका सबै जना सफल हुनु जस्तो लागेको उनी सम्झिन्छिन् ।

काठमाडौंदेखि सगरमाथासम्म

टेन्सन टर्चर थियो फिजिकल एक्सरसाइजदेखि लिएर पैसाको व्यवस्था मिलाउनेसम्मको काम आफैँले गर्नुपरेको उनको भनाइ छ । सरगरमाथा चढ्ने इच्छाले उनको जीवनशैली नै परिवर्तन गरिदियो । कतिपटक ओछ्यानको सट्टा जिम धाएको उनको अनुभव छ । झन् पैसा जुटाउने चिन्ताले त सताइ नै रहन्थ्यो । उनको दैनिकी नै बदलिदियो सगरमाथा चढ्ने लोभले । दौडधूप बढ्दै गयो ।

काठमाडौंबाट लुक्लासम्म प्लेनमा र त्यहाँबाट हिँडेर उनको टोली बेस क्याम्प पुग्यो । बेस क्याम्पबाट हाई अल्टिच्युडको एकुमटाइजका लागि पहिला क्याम्पहरुमा पुग्यो त्यसपछि क्याम्प ३ मा ७ हजार मिटरसम्म उचाइमा पुगेर उनको टोली फर्किन्थ्यो । त्यसपछि मात्र सगरमाथाको हिमाल चढ्नुपर्ने उनले अनुभव सुनाइन् ।

क्याम्प १ मा एक दिन, क्याम्प २ मा २ दिन, क्यानम्प ३ मा गएर फर्कने एक दिनमा, क्याम्प ३ बाट अक्सिजन लिएर जानुपर्ने उनको अनुभव छ ।

तर सगरमाथा चढ्नुअघि श्रेष्ठको भने अर्कै कहानी छ । उनी भन्छिन्, ‘क्याम्प ४ बाट सगरमाथा जाँदाँ लाइट बालेर राति जानुपर्छ । दिनमा धेरै हावा चल्छ । सबमिटमा जादा राति हिँडेपछि  सगरमाथाको टुप्पोमा चाहिँ बिहान सुरुकै समयमा नै पुग्नुपर्ने हुँदा राति हिँडेर त्यहाँ पुगेर फेरि फर्केर आउने हो ।’ धेरै हावा चल्ने हुँदा बिहानीको सुरुवातमा नै पुगेर फर्किने गरी जानुपर्ने उनी बताउँछिन् ।

उद्देश्य

सगरमाथाको विदेशीले खिचेको तस्बिर हेरेर वाक्क भएकी पूर्णिमालाई आफ्नै क्यामेरामा सगरमाथा कैद गर्नु थियो । फोटो पत्रकारको नाताले पनि उनी त्यसो गर्न चाहन्थिन् नै फोटोग्राफीप्रतिको अभिरुचि त छँदै थियो । हिमालको देश सगरमाथाको देशको मान्छेले ५ हजार मिटर उचाइको भने पनि हिमाल चढ्नुपर्ने उनको सुझाव छ । यसले आफ्नो काममा मोटिभेट हुने उनको आफ्नै धारणा छ । यसबाहेक उनी नेपाली प्राकृतिक सौन्दर्यको प्रवद्र्धन गर्नकै लागि भए पनि बेस क्याम्पमा गएर एभरेष्ट हेर्न जानुपर्ने सुझाव दिन्छिन् । कम्तीमा ससाना हिमाल चढ्नैपर्ने उनको भनाइ छ । कुनै विदेशीले सगरमाथा चढेको छ भन्दा छ भन्नका लागि भए पनि हिमाल आरोहण गर्नुपर्ने उनको बुझाइ छ ।  हिमाल आरोहण, पदयात्रा जस्ता कुराहरुलाई सबैले प्रोमोसन गर्नुपर्ने उनी बताउँछिन् । यही उद्देश्यका लागि पनि आफू सगरमाथाको शिखरमा पुगेको उनको भनाइ छ ।

तेन्जिंग र हिलारीलाई सम्झिएँ

पूर्णिमाले सगरमाथा चढ्दै गर्दा एडमन हिलारी र तेन्जिङ नोर्गे शेर्पालाइ सम्झिएको बताउँछिन् । उनीहरु कसरी सगरमाथा नै पत्ता लगाएर चढ्न सके होलान् जस्तो उनलाई लाग्थ्यो । पहिलेभन्दा अहिले सगरमाथा चढ्न निकै सजिलो भएको उनको भनाइ छ । चढ्ने ठाउँमा अहिलेजस्तो पहिला डोरी राखिएको हुँदैनथ्यो । बाटो पहिल्याउँदै अगाडि बढ्नुपथ्र्यो । सोही कारण आफूमा आँट, साहस भए अहिले सगरमाथा चढ्न सकिने उनको निष्कर्ष छ ।  

सबै तस्बीर : पुर्णिमा श्रेष्ठ

सम्बन्धित समाचार

'अश्लिल' होइन सपना देख्नेहरुको संघर्षको कथा हो 'कथा काठमाडौँ' : संगीता श्रेष्ठ, निर्देशक

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘कथा काठमाडौं’की निर्देशक संगीता श्रेष्ठ मिडियाकर्मी पनि हुन् । विगत १५ वर्षदेखि निर्देशनको क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले ७० वटाभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकी

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा