• २०८१ जेठ ५ शनिबार

मरियम बनिन् पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री

kharibot

इस्लामावाद । मरियम नवाज पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । पाकिस्तानी सञ्चारमाध्यम ‘द डन’का अनुसार उनले सोमबार पञ्जाबको गभर्नर हाउसमा आफ्ना बुवा नवाज शरीफ र काका शाहबाज सरिफको उपस्थितिमा मुख्यमन्त्रीको सपथ लिएका हुन् । 

यसअघि सोमबार पञ्जाब विधानसभाको अधिवेशन २ घण्टा ढिलो सुरु भएको थियो । पीटीआई समर्थक विधायक, जो अहिले सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) पार्टीको हिस्सा छन्, उनीहरूका सदस्यहरूलाई सदनमा प्रवेश गर्न नदिइएको आरोप लगाए । यसपछि एसआईसीका १०३ विधायक वाकआउट भए । तर, त्यसपछि पनि सभामुखले अधिवेशन निरन्तरता दिन निर्देशन दिए ।

यसपछि पञ्जाब विधानसभामा मतदान भयो, जसमा मरियम नवाज विजयी भएकी छन् । मरियमले २२० विधायकहरूको समर्थन प्राप्त गरेकी थिइन् ।

सपथ समारोहपछि करिब डेढ घण्टाको सम्बोधनका क्रममा मरियमले भनिन्, ‘म प्रतिपक्ष पनि यो लोकतान्त्रिक प्रक्रियाको हिस्सा बनोस् भन्ने चाहन्छु । यसपछि मेरो भाषणमा उनले पनि प्रदर्शन गरेको भए म खुसी हुने थिएँ । विपक्षी दलका लागि मेरो कार्यालय र हृदयको ढोका सधैं खुला रहनेछ ।'

पञ्जाब विधानसभाको ३७१ विधायक रहेको पाकिस्तानको सबैभन्दा ठूलो निर्वाचित सदन भएको राज्य हो । यसमा महिलाका लागि ६६ र अल्पसंख्यकका लागि ८ वटा गरी २९७ सामान्य सिट र ७४ आरक्षित सिट छन् । एक सिटमा उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएपछि गत फेब्रुअरी ८ मा २९६ सामान्य सिटका लागि निर्वाचन भएको थियो ।

हालै सम्पन्न निर्वाचनमा पञ्जाब विधानसभामा मरियमको पीएमएल- एनले १९७ सिटमा जित हासिल गरेको थियो भने पिपिपिले १५, पिपिएल क्यूले १० सिट जितेका छन् । त्यस्तै इमरान खानको पार्टीमा स्वतन्त्र उम्मेदवार सामेल भएपछि एसआइसीको ११३ सिट रहेको छ ।

मरियम नवाज सन् २०११ मा सक्रिय राजनीतिमा आएकी थिइन् । २०१७ साल मरियमका लागि उत्कृष्ट रह्यो तर सोही वर्ष उनका पिता नवाज शरीफलाई पानामा पेपर्समा नाम आएपछि पाकिस्तानी सर्वोच्च अदालतले चुनावका लागि अयोग्य घोषित गरेको थियो ।

यहीँबाट मरियमले आफ्नो पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) को कमाण्ड सम्हालिन् । सोही वर्ष बीबीसीले उनलाई १०० प्रभावशाली महिलाको सूचीमा समावेश गरेको थियो । यसपछि उनी न्यूयोर्क टाइम्सको विश्वका ११ शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै