• २०८१ बैशाख १५ शनिबार

आमाबुवा बन्दै दीपिका र रणवीर

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले बिहीबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । दीपिकाले एक सांकेतिक पोस्ट सेयर गर्दै- 'सेप्टेम्बर २०२४' लेखेकी छन् । यसको अर्थ दीपिका र रणवीर सिंह सेप्टेम्बरसम्म आमाबुवा बन्नेछन् । 

हालै दीपिका ब्रिटिस फिल्म अवार्ड बाफ्टामा प्रस्तुतकर्ताको रुपमा पुगेकी थिइन् । त्यहाँ उनले पेट छोपेको विषय सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो ।

२ महिनाअघि मात्रै दीपिका पादुकोणले सिंगापुर भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनलाई आमा बन्ने कुनै योजना छ कि भनेर सोधिएको थियो । यसबारे दीपिकाले भनिन्, ‘पक्कै पनि रणवीर र म बच्चाहरूलाई माया गर्छौं। हामी दुबै आफ्नो परिवार सुरु गर्ने दिनको लागि पर्खिरहेका छौं ।'

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरेक थिए । दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।

हालै दीपिका पादुकोणको फिल्म ‘फाइटर’ रिलिज भएको छ, जसमा उनी ऋतिक रोशनसँग देखिएकी छिन् । आगामी दिनमा दीपिकाका तीन ठूला फिल्म ‘सिंघम अगेन’, ‘ब्रह्मास्त्र–२’ र ‘कल्की २८९८’ छन् । दीपिकामा बलिउडको १२ सय करोड रुपैयाँ दाउमा छ ।

सन् २०२३ दीपिकाका लागि निकै विशेष रह्यो । २०२३ मा उनका दुई फिल्म ‘जवान’ र ‘पठान’ रिलिज भएका थिए र दुवै फिल्मले कीर्तिमानी कमाई गरेर धेरै ठूला कीर्तिमान बनाएका थिए । दीपिकाले सन् २००७ मा शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ बाट डेब्यू गरेकी थिइन् । दुवैले अहिलेसम्म ५ वटा फिल्ममा अभिनय गरिसकेका छन् र सबै पाँच फिल्म सुपरहिट भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै