• २०८१ बैशाख १५ शनिबार

सेन्सर बोर्डले रोक्यो दयाहाङको फिल्म ‘रङ्गेली’

kharibot

काठमाडौँ । सेन्सर बोर्डले फिल्म ‘रङ्गेली’लाई रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिन अस्वीकार गरेको छ । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्मलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।

बिहीबार सेन्सरका पदाधिकारीहरुले फिल्म हेरेका थिए । त्यसपछि नाममा आपत्ति जनाउँदै बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । बोर्डले केही दृश्य र संवाद मिलाउन पनि आग्रह गरेको जानकारी प्राप्त छ ।

‘रङ्गेली’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने घोषणा गरिएको छ । ग्याङस्टरको कथामा बनेको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । रङ्गेली सहरमा राज गर्न चाहने समूहबीचको द्वन्द्वमा आधारित भएर फिल्म बनेको हो । सेन्सरले शीर्षकमै आपत्ति जनाएपछि फिल्मको रिलिज अन्योल बनेको छ ।

‘रङ्गेली’ लाई सेन्सरले दुख दिएको भन्दै फिल्मकर्मीहरुले विरोध शुरु गरेका छन् ।  ‘रङ्गेली’ सेन्सरमा रोकिएपछि अभिनेता दीपकराज गिरीले बोर्डलाई ‘सेन्सलेस’ भन्दै कटाक्ष गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कश्मीर फाइल्स’, ‘उडता पञ्जाब’, ‘दिल्ली बेली’ । खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त ! यो ‘रङ्गेली’ चाहिँ किन सेन्सरमा परेछ ?  सेन्सलेस सेन्सर बोर्ड ।’ 

त्यस्तै, निर्देशक तथा लेखक मनोज पण्डितले श्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्किएको सेन्सर बोर्ड भन्ने बाघलाई खोरमा थुन्न सबै एकजुट हुन फेसबुक स्टाटसमार्फत् आग्रह गरेका छन् । आवश्यक परे ‘सिने-अनसन’ बस्न तयार हुनुपर्ने उनले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै