• २०८१ बैशाख १५ शनिबार

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

kharibot

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । 

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र आठ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ । 

आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ । त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ । दमौली बजारमा ७५ घरटहरा हटाइनेछ । अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन । अहिले घरधनी स्वयम्ले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा पनि कामले गति लिने पाण्डेको भनाइ छ ।

पूर्वी खण्डका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । कूल ४१ दशमलव ४५ किमि लम्बाइको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । सो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । 

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्र भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म एकतर्फी छ किलोमिटर सडक कालोपत्र भएको छ । 

पश्चिम खण्डका इञ्जिनियर एवं आयोजनाका सूचना अधिकारी नारायण पौडेलले यस खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको बताए । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

यस खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म  छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै