• २०८१ बैशाख १६ आइतबार

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उनले बताए ।

संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढङ्गले भत्काइएको  निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको ठम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढङ्गले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकले स्वदेश र विदेशमा रहेका कांग्रसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनमा समर्पित हुन अपिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै