काठमाडौं । नेपाली कांग्रेसले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोकेको हो ?’ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लेखकले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै यस्तो प्रश्न गरेका हुन् ।
लेखकले भने- 'संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि, तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भने नेपाली कांग्रेसका प्रति न्याय गर्नुभो ? विश्वास गर्नुभो ?'
लेखकले संसदमा पछिल्लो १४ महिनामा प्रभावकारी काम नहुनुमा को दोषी हो भन्दै थप प्रश्न गरेका छन् । संसद्का दुई अधिवेशनबाट एउटा मात्र विधेयक पारित गरिएको भन्दै यसको जिम्मेवारी कसको हो ? भन्दै प्रश्न गरेका छन् ।