धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट एक जना मन्त्री थपेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन् ।
प्रदेश प्रमुख देवराज जोशीले सोमबार लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री भएका छन् । ७ प्रदेशसभा सदस्यमध्ये ५ जनामन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहले शुक्रबारमात्रै सो पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्द्रा गिरीलाई भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाएका थिए । नागरिक उन्मुक्तिका रामेश्वर चौधरी यसअघि नै भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।
योसँगै सुदूरपश्चिमको मन्त्रिमण्डलमा आन्तरिक मामिला मन्त्री शिवराज भट्टबाहेक ७ जना मन्त्री कैलालीका मात्रै भएका छन् । भट्ट बैतडीबाट कांग्रेसका प्रदेश सभा सदस्य हुन् ।
सुदूरपश्चिममा सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी नेतृत्वमा विवाद जारी रहेका बेला थप एक मन्त्री बनेका छन् । नाउपाका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा सरकारमा सहभागी भएको छ भने अध्यक्ष रन्जिता श्रेष्ठले भने पार्टीमा छलफल नभएको भन्दै मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् ।