• २०८१ बैशाख १५ शनिबार

जापानको पहिलो निजी अन्तरिक्ष मिसन असफल

kharibot

टोकियो । जापानको पहिलो निजी अन्तरिक्ष मिसन असफल भएको छ । बुधबार निजी कम्पनी स्पेस वनको काइरोस रकेट उडेको ५ सेकेण्डमै विस्फोट भएको थियो । यसको स्पष्ट भिडियो फुटेज पनि बाहिर आएको छ । स्पेस वनले गत हप्ता यो मिसनको सबै परीक्षण पूरा भइसकेको र आफ्नो टोली अन्तिम चरणको लागि तयार रहेको दाबी गरेको थियो ।

काइरोस ५९ फिट अग्लो रकेट थियो । जापानको समय अनुसार बुधबार बिहान ११: ०१ बजे उडेको थियो । यसपछि विस्फोट भएको हो ।

काइरोसको प्रक्षेपणका लागि काए क्षेत्रमा लन्च प्याड निर्माण गरिएको थियो । यो पश्चिमी जापानको समुद्रको छेउमा रहेको क्षेत्र हो । स्पेस वन कम्पनीको उद्देश्य यो रकेट मार्फत अनुसन्धान कार्य बढाउनु थियो । यो प्रक्षेपण लगत्तै विस्फोट भयो र रकेटका टुक्रा नजिकैको खाडीमा खसेका थिए । विस्फोटपछि उक्त क्षेत्रमा केही घण्टासम्म धुवाँको मुस्लो देखिएको थियो ।

कम्पनीले आफ्नो रकेट प्रणाली सबैभन्दा उन्नत भएको दाबी गरेको थियो । त्यसमा जापानको सरकारी अन्तरिक्ष एजेन्सीका केही उपकरण पनि राखिएको थियो । यसको प्रयोग गुप्तचर सङ्कलनका लागि पनि हुने दाबी गरिएको थियो ।

अब कम्पनीले सबै परिक्षण सफल भइसके पनि प्रक्षेपण असफल भएको विषय अनुसन्धान गर्ने बताएको छ ।

स्पेस वनले रकेटको भग्नावशेष समुन्द्रबाट हटाउने र त्यसपछि विस्फोटको कारण पत्ता लाग्ने बताएको छ । प्रारम्भिक जानकारीका अनुसार उडान टर्मिनेशनमा प्राविधिक गडबडीका कारण रकेट विस्फोट भएको हो । सरकारी अनुसन्धान एजेन्सीले पनि भग्नावशेषको विश्लेषण गर्नेछ । यद्यपि यो असफल मिसनको बारेमा सरकारले अहिलेसम्म कुनै जानकारी दिएको छैन।

यो काइरोस रकेट मिसन पूर्णतया स्वचालित थियो । यसमा विशेष रूपमा उडान टर्मिनेशन प्रणाली जडान गरिएको थियो । यो प्रणाली मार्फत अन्तिम समयमा रकेटमा कुनै गल्ती भएमा त्यसलाई रोक्न सकिन्छ । १२ इन्जिनियरहरूले यो मिसनलाई नियन्त्रण गरिरहेका थिए । दुर्घटनामा कोहि घाइते भने नभएको बताइएको छ ।

स्पेस वन कम्पनी २०१८ मा बनेको थियो । जापानका धेरै निजी क्षेत्रका अन्तरिक्ष कम्पनीहरू यसमा संलग्न थिए । यसको आर्थिक सहयोग जापानको विकास बैंकले गरेको हो ।

स्पेस वनले आफ्नो बजेट के हो र विशेष गरी काइरोसको प्रक्षेपणमा कति खर्च भयो भन्ने खुलासा गरेको छैन । यो अमेरिकी कम्पनी रकेट ल्याबसँग प्रतिस्पर्धा गर्ने मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै