• २०८१ बैशाख १६ आइतबार

टाइटानिक-२ जहाज बन्दै

kharibot

काठमाडौँ । अस्ट्रेलियाका अर्बपति तथा पूर्व सांसद क्लाइभ पाल्मर सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा क्रुज जहाज निर्माण गर्ने तयारीमा छन् । यो जहाजलाई टाइटानिक-२ नाम दिइएको छ । यसका लागि टेन्डर दिने काम सुरु भएको छ ।

सीएनएनको रिपोर्टका अनुसार जहाज निर्माणकर्तालाई यो वर्षको अन्त्यसम्ममा ठेक्का दिइनेछ । जहाज निर्माणको काम आगामी वर्ष सुरु हुनेछ । यो जहाज ८३३ फिट लामो र १०५ फिट चौडा हुनेछ । जहाजमा ९ वटा डेक हुनेछन् । यसका ८ सय ३५ वटा क्याबिनमा २३४५ यात्रु अट्नेछन् । तीमध्ये झण्डै आधा यात्रुले पहिलो श्रेणीमा यात्रा गर्नेछन् ।

सीएनएनका अनुसार बुधबार जहाज निर्माणको घोषणा गरेपछि क्लाइभको टोलीले ८ मिनेटको भिडियो पनि सेयर गरेको छ । यसले जहाजको लेआउट र यसको कोठाको संरचना देखाउँछ । यसका लागि क्लाइभले सन् २०१२ मा ब्लु स्टार लाइन नामको कम्पनी पनि खोलेका थिए ।

वास्तवमा, टाइटानिक जहाज बनाउने कम्पनीको नाम व्हाइट स्टार लाइन थियो । सोही आधारमा क्लाइभले आफ्नो कम्पनीको नाम तय गरेका थिए । कम्पनीका प्रवक्ताले भने– क्रुजमा आउने यात्रुहरूलाई १९०० शताब्दीको थिममा लुगा लगाउन भनिनेछ । यद्यपि, यो अनिवार्य भने हुनेछैन ।

मिडिया रिपोर्टका अनुसार क्लाइभले पहिलो पटक सन् २०१२ मा टाइटानिक जस्तै दोस्रो जहाज निर्माण गर्ने घोषणा गरेका थिए । यस पछि यसलाई २०१८ मा पुन: लन्च गरिएको थियो । तर, ठीक एक वर्षपछि कोभिड–१९ महामारीका कारण क्रुजप्रति मानिसको चासो घट्यो । अब ६ वर्षपछि अष्ट्रेलियाका अर्बपतिले फेरि जहाज बनाउने योजना सार्वजनिक गरेका छन् ।

जहाज निर्माणको घोषणा गर्दै क्लाइभले भने- म टाइटानिक बनाउन चाहन्छु जसको साथमा कुनै त्रासदी नहोस् । यो सम्भव छ कि टाइटानिक-२ जहाजले विश्वमा शान्ति ल्याउने छ । यसले सबै देशहरू बीच शान्तिको जहाजको रूपमा काम गर्नेछ । विश्वमा लाखौं मानिसहरु छन् जो टाइटानिक जस्तो जहाजमा चढेर यसको अनुभव लिन चाहन्छन् ।

अप्रिल १०, १९१२ मा, आफ्नो समयको सबैभन्दा ठूलो जहाज टाइटानिक आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको थियो । यसको निर्माण कार्य १९०९ मा सुरु भयो र यो १९१२ मा सम्पन्न भएको थियो । आफ्नो यात्रा सुरु गरेको चौथो दिन अप्रिल १४-१५ को रातमा टाइटानिक एट्लान्टिक महासागरमा रहेको हिउँको पहाडसँग ठोक्कियो । त्यसपछि यो दुई टुक्रा भई समुन्द्रमा डुब्यो । टाइटानिक डुबेर १५०० भन्दा बढी मानिसको मृत्यु भयो । तर, जहाजमा रहेका ७०० जनालाई भने बचाइयो । सन् १९९७ मा यो जहाज डुबेपछि निर्देशक जेम्स क्यामरुनले टाइटानिक नामको फिल्म बनाए जसले यो जहाजलाई विश्वभर चर्चित बनायो । फिल्म टाइटानिकले कीर्तिमानी ११ ओस्कर अवार्ड जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै