• २०८१ बैशाख १५ शनिबार

कमल थापाको गृहमन्त्रीलाई चुनौती- पूर्व उपराष्ट्रपति, पूर्व सभामुख र पूर्वमन्त्रीका छोराहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगिको आरोप लागेको भन्दै सो आरोप बारे स्पष्ट गर्न चुनौती दिएका छन् ।

बिहीबार पार्टीले काठमाडौंमा आयोजना गरेको वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष थापाले सहकारी ठगिको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्ने गरी दुधको दुध, पानीको पानी पार्न चुनौती दिए । नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको उनले बताए ।

उनले भने- ‘पूर्व उपराष्ट्रपति, पूर्व सभामुख र पूर्वमन्त्रीका छोराहरु सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न छन् । उनीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्नुहुन्छ ?’ 

अध्यक्ष थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबिच सुन्धारामा ठेलमठेल हुँदा झडपको स्थिति समेत बनेको थियो ।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको थियो । प्रहरीले प्रदर्शनकारीहरूलाई एक लेन मिलाएर हिँड्न आग्रह गरेता पनि र्‍यालीमा सहभागीहरूले दुई लेनबाटै अगाडि बढ्न खोजेपछि झडप भएको थियो ।

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन सुरु गरेको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै