• २०८१ बैशाख १५ शनिबार

‘पूजार सार्की’ को छायांकन सकियो

kharibot

काठमाडौँ  । फिल्म ‘पूजार सार्की’को छायांकन सकिएको छ । ४८औँ दिनमा मंगलबार ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा भाकाको गीतको छायांकनसँगै फिल्मको छायांकन सकिएको हो ।

गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूले मगर समुदायको मौलिक पहिरनमा नृत्य गरेका छन् ।

कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँमा छायांकन भएको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीको पनि अभिनय छ । फिल्ममा आर्यन पूजारीको भूमिकामा प्रस्तुत छन् भने प्रदीपले दमाईको चरित्र निभाएका छन् । दिनेश राउतको निर्देशन रहेको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई संगीतकार सुवास भुसालले निर्माण गरेका हुन् । फिल्मको गीतमा भुसाल स्वयंको संगीत छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको शब्द रचना छ । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन र कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापनमा विदुर मानन्धर छन् । फिल्मलाई आगामी वर्षको जेठ ४ गते प्रदर्शन गर्ने तयारी भैरहेको चर्चा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै