• २०८१ बैशाख १५ शनिबार

चुनावअघि भारतीय राष्ट्रिय काँग्रेसको बैंक खाता रोक्का, प्रचारको पैसा नभएको गुनासो

kharibot

नयाँदिल्ली । सरकारले आफ्नो दलको बैङ्क खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको यसका नेताहरूले बताएका छन् । 

कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा सरकारले पार्टीका धेरै बैंक खाता रोक्का गरेको थियो ।

'हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,' स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा काङ्ग्रेस नेता राहुल गान्धीले पत्रकार सम्मेलनमा भनेका छन् ।  गान्धीले भने, 'हामीसँग प्रचारका लागि पैसा छैन, हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न नसक्ने भएका छौँ । सरकारको नितीका कारण चुनाव लड्ने हाम्रो क्षमतामा क्षति पुगेको छ ।'

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिन कर विभागको प्रतिबन्धले समस्या पारेको र प्रतिबन्ध राजनीतिबाट प्रेरित भएको काङ्ग्रेसको जिकिर छ । 'गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,' गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भने ।  'हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन,' उनले भने । 

यसैबीच, काङ्ग्रेसकी पूर्व अध्यक्ष तथा राहुलकी आमा ७७ वर्षीया सोनिया गान्धीले पार्टीलाई पङ्गु बनाउने प्रणालीगत प्रयासको हिस्साका रूपमा कर जरिवाना गरिएको बताएकी छन् । 

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास अप्रिल १९ देखि सुरु हुने डेढ महिना लामो चुनावमा करिब एक अर्ब भारतीयले नयाँ सरकार चयनका लागि मतदान गर्नेछन् । सरकारले न्याय प्रणालीलाई राजनीतिकरण गरेको आरोप लगाउँदै भारतको लोकतान्त्रिक साखमाथि प्रश्न चिन्ह खडा गरेको आलोचकहरूले बताएका छन् ।

भारतको मुख्य वित्तीय अनुसन्धान निकाय ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट’ले कम्तीमा पाँच राज्यका मुख्यमन्त्री वा उनीहरूका परिवारका बारेमा अनुसन्धान सुरु गरेको छ । राहुलले ‘लोकतन्त्रको ढाँचाको रक्षा गर्ने संस्थाहरू’ नबोलेको र हस्तक्षेप नगरेको भन्दै निर्वाचन आयोगलगायत संस्थाको आलोचना गरेका छन् ।

काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले आर्थिक अभावका कारण चुनावअघि काङ्ग्रेस ‘असहाय’ भएको बताए । 

निर्वाचन आयोगलाई दिइएको पछिल्लो आधिकारिक वित्तीय विवरणअनुसार भाजपाको कोष काङ्ग्रेसको भन्दा करिब १० गुणा बढी छ । सन् २०१७ मा मोदी सरकारले ‘इलेक्टोरल बन्ड’ लागू गरेपछि यो खाडल नाटकीय रूपमा फराकिलो भएको थियो ।

गत महिना सर्वोच्च अदालतले यो योजनालाई असंवैधानिक ठहर गर्दै दाता र प्राप्तकर्ताको विवरण सार्वजनिक गर्न भनेको थियो । सार्वजनिक विवरणअनुसार भाजपा अहिलेसम्मको सबैभन्दा ठूलो लाभग्राही हो, जसले कुल चन्दाको आधाभन्दा कम अर्थात् करिब ७३ करोड अमेरिकी डलर प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै