• २०८१ बैशाख १५ शनिबार

जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

kharibot

लन्डन । जलवायु परिवर्तनका कारण मध्य युरोपमा रहेको हिम शृङ्खला आल्प्समा हिउँको सतह घट्नु र वनस्पतिको ढाँचामा आएको परिवर्तनले उच्च पर्वतीय क्षेत्रको जैविक विविधता र पर्यावरणीय अवस्थामा चिन्ताजनक प्रभाव पारिरहेको एक नयाँ अध्ययनले देखाएको छ ।

पृथ्वीको विस्तृत भागलाई ढाक्ने पर्वत शृङ्खलाहरू छेउछाउका तराई क्षेत्रहरूको तुलनामा छिटो तातो हुँदै गएका छन् । फलस्वरूप हिउँको आवरणमा भारी कमी आएको छ र क्रमिकरूपमा पृथ्वीको तल्लो सतहमा पाइने सदाबहार होचा वनस्पतिहरू माथिल्लो सतहमा भेटिन थालेका छन् । 

म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकले वनस्पतिमा देखिएको परिवर्तनबाट के निष्कर्ष निकालेका छन् भने बोटबिरुवा र माटोका सूक्ष्मजीवहरूबाट प्रदर्शन गरिएको महत्त्वपूर्ण अल्पाइन पारिस्थितिकीय कार्यहरूले अल्पाइन पर्यावरणीय प्रणालीलाई प्रभावित गरिरहेको छ ।   

‘ग्लोबल चेन्ज बायोलोजी’ नामक जर्नलमा शुक्रबार प्रकाशित अनुसन्धानले उच्च पर्वतीय पारिस्थितिक प्रणालीले बोटबिरुवाको वृद्धिलाई कायम राख्न र जैविक विविधता कायम राख्न आवश्यक महत्वपूर्ण पोषक तत्वहरू संरक्षण गर्न कम सक्षम हुन सक्ने देखाएको छ । 

अनुसन्धानका प्रतिवेदनका प्रमुख लेखक आर्थर ब्रोडबेन्टले भन्नुभयो, “हाम्रो शोधपत्रले मौसमी पारिस्थितिक प्रणालीमा बोटबिरुवाको समय र माटोको विधि कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ ।”  

मानिसहरू बोटबिरुवाको फूल फुल्ने र माटोको प्रक्रियाबीचको बेमेलसँग परिचित हुन सक्छन् जसले आकर्षक मौसमी गतिशीलता देखाउँदछ र यी प्रक्रियाहरूको समयमा पनि जलवायु परिवर्तनले बाधा पु¥याउन सक्छ । अग्ला पहाडहरू कोइलाखानीको ‘क्यानरी’ जस्तै छन् किनभने तिनीहरू विश्वव्यापीरूपमा औसतभन्दा धेरै छिटो तातो भइरहेका छन् । यसले हाम्रो निष्कर्षलाई थप चिन्ताजनक बनाउँछ ।

प्रत्येक वर्ष, पर्वतीय पारिस्थितिक प्रणालीमा आएको मौसमी परिवर्तनले अल्पाइन माटोमा बोटबिरुवा र सुक्ष्मजीवका समुदायहरूबीच पोषक तत्वहरूको ठूलो परिवर्तनलाई सङ्केत गर्छ । 

वसन्त ऋतुमा हिउँ पग्लेपछि, बोटबिरुवाहरू बढ्न थाल्छन् र पोषक तत्वहरूको लागि माटोमा पाइने सूक्ष्मजीवसँग सङ्घर्ष गर्न थाल्छन्, जसले गर्दा माटोबाट बोटबिरुवाहरूमा पोषक तत्वहरूको भण्डारणमा परिवर्तन हुन्छ । यो स्थानान्तरण शरद ऋतुमा उल्टो हुन्छ, यो समयमा बिरुवा फेरि मर्छन् र पोषक तत्व, मृत पातहरू र जराहरू पुनः माटोमा परिवर्तन हुन्छन् । 

जाडोको समयमा अल्पाइन क्षेत्रमा हिउँले ढकमक्क माटोलाई ढाकिदिन्छ जसले माटोका सूक्ष्म जीवाणुहरूलाई काम गर्न र उनीहरूको बायोमासमा पोषक तत्वहरू भण्डारण गर्न दिन्छ र बिरुवाहरूलाई चिसो अल्पाइन जाडोमा बाँच्न सम्भव बनाउँछ ।

जलवायु परिवर्तनले युरोपेली आल्प्सका केही भागहरूमा शताब्दीको अन्त्यसम्ममा ८०–९० प्रतिशत हिउँको आवरण घटाउने र हिउँ पग्लने समयलाई पाँचदेखि १० हप्तासम्म अगाडि बढाउने अनुमान गरिएको छ ।

युनिभर्सिटी अफ इन्सब्रुकका प्राध्यापक माइकल बानले भन्नुभयो, “हिउँदमा हिउँको सतह घट्नु आल्प्समा जलवायु परिवर्तनको सबैभन्दा स्पष्ट प्रभाव हो ।” वैज्ञानिकहरूका लागि पारिस्थितिकीय प्रणालीले जलवायु परिवर्तनको प्रभावलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा बुझ्नु एउटा ठूलो चुनौती हो ।

हिउँ आवरण परिवर्तन वा हिमाली क्षेत्रमा पाइने होचा झाडी विस्तारजस्ता कार्यबीचको अन्तरक्रियाले प्रत्यक्ष र अप्रत्यक्ष जलवायु परिवर्तन कारकहरू पारिस्थितिक तन्त्रको कार्यप्रणालीमा अचानक र अनपेक्षित परिवर्तनहरू निम्त्याउन सक्छ । म्यानचेस्टर विश्वविद्यालय,इन्सब्रुक विश्वविद्यालय, हेल्महोल्ट्ज जेन्ट्रम मुनचेन र  इकोलोजी र हाइड्रोलोजी केन्द्रको सहयोगमा गरिएको यो अध्ययनको निष्कर्षहरूले मौसमी स्थानान्तरण, बोटबिरुवा र माटोका जीवाणुहरूबीच पोषक तत्वहरूको अवधारणमा जलवायु परिवर्तनको हानिकारक प्रभावलाई उजागर गरेको छ । 

युनिभर्सिटी अफ म्यानचेस्टरको डिपार्टमेन्ट अफ अर्थ एन्ड इन्भाइरोमेन्टल साइन्सेजका प्रिन्सिपल इन्भेस्टिगेटर तथा इकोलोजीका प्राध्यापक रिचार्ड बर्डगेटले भने, “हाम्रो कामले जलवायु परिवर्तनका विभिन्न पक्षहरूको संयोजनले बोटबिरुवाको वृद्धिलाई आधार दिने जमिनमुनिको पारिस्थितिकीय प्रक्रियालाई कसरी गम्भीर रूपमा अवरोध गर्न सक्छ भन्ने देखाउँछ ।” यी प्रभावहरूलाई भिन्न राखेर जलवायु परिवर्तन कारकहरूको अध्ययन र भविष्यवाणी गर्न असम्भव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै