• २०८१ बैशाख १५ शनिबार

मीठास पुरानै होली गीतमा

kharibot

काठमाडौँ । होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो । होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीत विना हाम्रा पर्व अधुरा छन् । 

‘होलीले रङ्ग्यायो मेरो चोली...’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ । होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युवमा यो गीत बज्न सुरु भइहाल्छ ।

राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ । 

“इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौ होली... सरसरसर होली हो...’ शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिएका छन् । गीतले होलीको महत्व अझ बढाएको छ ।

चलचित्र ‘वसन्ती’मा समावेश ‘रातो रातो पहेँलो...’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन् । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिएका छन् । 

उनले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी भएको उनको बुझाइ छ । “पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ । त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले तुलनात्मकरुपमा बढी प्रचार पाउछन, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङगीतकार पोखरेलले भने । 

सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउछन् । नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन । “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ । पुराना केही गीत जनजिब्रोमै छन्”, गायक गिरीले भने । यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् ।  

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ । 

यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेकाछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै