• २०८१ बैशाख १५ शनिबार

घान्द्रुकमा पर्यटन महोत्सव

kharibot

फाइल तस्बीर

अन्नपूर्ण । ढङ्गेनी गाउँका रुपमा परिचित कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव–२०८०’ आयोजना  हुने भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा यही चैत २७ देखि ३० गतेसम्म महोत्सव हुने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित बढिभन्दा बढि पर्यटक भित्राउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उनले जानकारी दिए । 

पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पुर्याउन सघाउने महोत्सव संयोजक अमृत लामा गुरुङले बताए । महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, खुल्ला बास्केटबल, घोडा दौड, चक्रिय पदमार्ग दौड, ठेलो (छेलो) र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिने उनले जानकारी दिए । 

महोत्सवको हरेक दिन बेलुकी विभिन्न जातजातिको प्रचलित नृत्य तथा साङ्गीतिक कार्यक्रम प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार महोत्सवमा आदिम कला केन्द्रले मौलिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । 

समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई खानेबस्ने प्याकेजमा तीस प्रतिशत छुट दिने भएको छ । “महोत्सवमा हामीले पर्यटकलाई सहज आवास भनेर खाने बस्ने प्याकेजमा पहिलेकोभन्दा ३० प्रतिशत कम लिनेछौँ”, उनले भने, “मेलामा खेल प्रमुख आकर्षणको रुपमा रहेको छ । हरेक खेलको खेलाडीलाई रु छ सयको प्याकेज बनाएका छौँ । महोत्सवस्थलमा विशेष छुटमा खानाको स्टल पनि हुनेछ ।”

घान्द्रुकमा अहिले ७० वटा होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ । महोत्सव संयोजक अमृत लामा गुरुङका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले रु एक लाख एघार हजार एक सय ११, उपविजेताले ७० हजारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै महिलातर्फको विजेताले रु तीन हजार र उपविजेताले बीस हजार पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई रु एक लाख र उपविजेताले ६० हजार पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताउनुभयो । घोडा दौड प्रतियोगिताको विजेताले रु ५५ हजार पाँच सय ५५, उपविजेताले २७ हजार सात सय ७७ र तेस्रो हुनेले एघार हजार एक सय ११  पुरस्कार प्राप्त गर्नेछ । चक्रिय पदमार्ग दौड प्रतियोगिताको विजेतालाई रु पन्ध्र हजार, दोस्रो हुनेले दश हजार र तेस्रो हुनेले पाँच हजार पुरस्कार दिइनेछ । 

ठेलो (छेलो) प्रतियोगिताको विजेताले रु आठ हजार र उपविजेताले पाँच हजार प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रदर्शन गरिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै