• २०८१ बैशाख १७ सोमबार

विभागीय डर्बीमा एपिएफविरुद्ध जित निकाल्दै पुलिस फाइनलमा

kharibot

बारा । बाराको सिमरा रङ्गशालामा जारी १४औं जीतपुरसिमरा गोल्डकपको अन्तिम सेमीफाइनलमा नेपाल एपिएफ क्लब विरुद्ध ३–२ को जित निकाल्दै नेपाल पुलीस क्लब फाइनलमा प्रवेश गरेको छ । 

शनिबार राती सिमरा रङ्गशालामा भएका विभागीय डर्बीमा पुलीसले शूरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनटमै एपिएफविरुद्ध अग्रता बनाएको थियो । एपिएफको टिम सम्हालिन नपाउँदै खेल शुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो । 

खेलको २० औं मिनटमा एपिएफ २–० ले पछि पर्यो । रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपिएफ विरुद्ध फराकिलो अग्रता बनाएको थियो । उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । 

महत्वपूर्ण खेलमा २–० ले पछि परेपनि एपिएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे । निकै आकर्षक खेल प्रस्तुत गरेको एपिएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितीमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए । 

खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपिएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपिएफलाई खेलमा फर्काएका थिए । 

२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपिएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपिएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे । 

खेलको अन्तिम इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो । 

खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफि प्राप्त गरे ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै