• २०८१ बैशाख २१ शुक्रबार

गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

kharibot

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोकेका हुन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेका छन् । 

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

सरकार दाबि गर्नेक्रममा सभामुखलाई समावेश गरेको भन्दै दायर भएको अधिकारीको नियुक्ति विवादमा रहेको छ ।  यस विषयमा परेको रिटमा सर्वोच्चले १० गते पूर्ण सुनुवाई गर्ने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै