• २०८१ जेठ ४ शुक्रबार

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि विशेष अभियान सञ्चालन गरिन

kharibot

काठमाडौँ।  गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन विशेष अभियान सञ्चालन गरिने भएको छ ।

रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार गर्दै, रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको हो । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘जाउँ हिँड रेसुङ्गा’ नाराका साथ प्रवद्र्धनात्मक अभियान सञ्चालन गरिने नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले गुल्मीको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले काठमाडौँमा कार्यक्रम गर्न लागिएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा यही वैशाख २० गते काठमाडौँबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषता बोकेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वषैभरि विभिन्न कार्यक्रम गरिने नगरप्रमुख पन्थिले बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससँगै रेसुङ्गाको प्रवर्द्धनका लागि पर्यटन प्याकेज बनाउन आग्रह गरे । उनले सो क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि बोर्डले साथ सहयोग गर्ने  प्रतिबद्धता जनाए ।

बोर्डका निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रवर्द्धनले छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रवर्द्धन हुने बताए ।

कार्यक्रममा डा नारायाचार्य तिमिल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रवर्द्धनका लागि रुरु क्षेत्रमा रहेको शालिग्रामको संरक्षण आवश्यक रहको बताए । 

रेसुङ्गा भौगोलिक, जैविक र वनस्पतिले भरिएको क्षेत्र हो । यहाँ वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेष छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीव पाइने हुनाले जैविक विविधताले महत्वपूर्ण  छ ।

महर्षि ऋष्यशृङ्गसितको सम्बन्ध रहेको मानिने यस तपोभूमिमा ऋषिमुनि र साधुसन्तले तपस्या गर्दै आएको र त्रेता युगमै महर्षि ऋष्यशृङ्ले तपस्या गरेको किंवदन्ती छ ।

ऋष्यशृङ् महर्षिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए । जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघन जस्ता पुत्रहरू प्राप्त भएको वाल्मीकि रामायणको बालकाण्डको ९-१५ सर्गमा वणर्न गरिएको पाइन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै