काठमाडौँ । काठमाडौँ उपत्यकाका वितरण हुने लगभग सबै दुधमा कोलिफर्म भेटिएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको एक अध्ययनले २३ दुग्ध उद्योगले वितरण गरेको दुधमा कोलिफर्म रहेको पुष्टी गरेको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार विभिन्न २५ कम्पनीका ४२ दुधका नमुनामध्ये एउटै व्याच नदोहोरिने गरी परिक्षण गरिएका ३६ नमुनामध्ये तीन नमुनामा मात्रै कोलिफर्म नामक जीवाण उपस्थीति नभएको भेटिएको छ । अर्थात् तीन उद्योगले वितरण गरेका दुधमा कोलिफार्म भेटिएको छैन ।
कोलिफर्म भेटिएका दुधमा सरकारको आफ्नै कम्पनी डीडीसीदेखि केडिया ग्रुपको सिताराम दुध, नोभा दुध, सफल दुधलगायत रहेका छन् ।
मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त अध्ययन गरेको हो । मन्त्रालयले गत जेठ २८ गते दुधको स्वच्छता र गुणस्तरको अवस्थाको अध्ययनका लागि विभिन्न ब्राण्डका नमुना परिक्षण गरेको थियो ।
यस्तै, मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले दुधको नमुना संकलन गरी परिक्षण प्रतिवेदनअनुसार तोकिएको मापदण्ड अनुरुप नभएका दुध प्रशोधन उद्योग उपर खाद्य ऐन बमोजिम कानूनी कारबाही अघि बढाइसकेको जानकारी दिए ।
यस्तै मन्त्रालयले दुधमा कोलिफर्म जस्ता सूक्ष्म जीवाणु आउन नदिन, अनावश्यक मिसावट नगर्न र दुधको स्वच्छता दर गुणस्तर कायम गर्ने विषयलाई उचित व्यवस्था गर्न सबै उद्योगलाई निर्देशन दिएको छ ।
यस्तै दुधलाई उमाल्दा कोलिफर्म जस्ता सूक्ष्म जीवाणु नष्ट हुने भन्दै मन्त्रालयले दुध राम्रोसँग उमालेर मात्रै उपयोग गर्न सबैलाई अनुरोध गरेको छ ।
कोलिफर्म भेटिएका दुग्ध कम्पनीको नाम :
१. आधुनिक डेरी उद्योग प्रालि, बालाजु
२. गल्फु विनायक डेरी (अलिसाज), काभ्रे
३. अनमोल दुध, बलकोट, भक्तपुर
४. जय श्री कृष्ण डेरी (अर्पण दुध), काभ्रे
५. भक्तपुर डेरी, भक्तपुर
६. चौधरी डेलिसीयस मिलक एण्ड बेभरेज, काठमाडौँ
७. हिमालय डेरी, लगनखेल
८. डीडीसी काउ मिल्क/स्ट्याण्डर्ड दुध/चिया दुध
९. जगदम्बा डेरी (एभ्रि ड़े मिल्क), भक्तपुर
१०. गोधुली मिल्क एण्ड बेभरेज, काठमाडौँ
११. कालिका डेरी (कालिका दुध), भक्तपुर
१२. सैजु डेरी (कान्तिपुर फ्रेस/रेड प्याक )
१३. नभ प्रभात डेरी (नव प्रभात दुध), गोदावरी
१४. नेपाल डेरी, धापाखेल
१५. कन्ट्री फुड (नोभा दुध), भक्तपुर
१६. राजधानी डेरी (आरडीसी), काठमाडौँ
१७. सुजल डेरी (सफल दुध), थानकोट
१८. संजीवनी डेरी (संजीवनी दुध), भक्तपुर
१९. शिवम डेरी (शिवम दुध), भक्तपुर
२०. सिताराम डेरी (कृष्ण दुध), भक्तपुर
२१. हिमालय डेरी (टुडे दुध), लगनखेल
२२. तुलसा डेरी (तुलसा दुध), काठमाडौँ
२३. संयक्त डेरी ( एस दुध) पाटन
कोलिफर्म के हो?
कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा उल्लेख्य हानी पुर्याेउँदैन । यसलाई सामान्यतः तीन स्तरमा छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ।
१. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ।
२. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ।
३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा 'इकोलाई'लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ।









