काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीमा एक अवैध सुन खानी भत्किँदा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेको बिबिसीले उल्लेख गरेको छ ।
यो घटना मालीको पश्चिमी क्षेत्र कायेसमा भएको हो । सुन खानी मजदुर युनियनका एक नेताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार केही मानिसहरू सुनका टुक्राहरूको खोजीमा पहिले नै निर्माण गरिएको खानीको माथिल्लो भागमा चढेका थिए, जसका कारण खानी भत्किएको थियो । यद्यपि, मृत्यु हुनेको संख्याको बारेमा अझै स्पष्ट भएको छैन ।
मिडिया रिपोर्टमा खानी भत्किँदा ४८ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
मालीमा तीन हप्तामा भएको यो दोस्रो घातक खानी दुर्घटना हो । जनवरीको अन्त्यतिर, अचानक खानीमा पानी पस्दा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।
माली विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देशहरू मध्ये एक हो । यहाँका सुनखानीहरूमा दुर्घटनाहरू सामान्य छन् किनभने धेरैजसो यस्ता गतिविधिहरूमा नियमहरूको अभाव छ र सुन खानीका लागि असुरक्षित तरिकाहरू पनि अपनाइन्छ ।









