• २०८३ श्रावण १२ मंगलबार

अमेरिकाको हुथी विद्रोहीमाथि कारवाहीको विवरण ग्रुप च्याटमा सार्बजनिक, सुरक्षा सल्लाहकारमाथि आशंका

अमेरिकाको हुथी विद्रोहीमाथि कारवाहीको विवरण ग्रुप च्याटमा सार्बजनिक, सुरक्षा सल्लाहकारमाथि आशंका

राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज

काठमाडौँ । अमेरिकाको यमनका हुथी विद्रोहीहरूमाथि आक्रमण गर्ने गोप्य योजना लिक भएको विषय बाहिर आएको छ ।

यो गोप्य योजना एक सुरक्षित एपको समूह च्याटमा साझा गरिएको थियो । यस ग्रुपमा अमेरिकी सरकारका उच्च अधिकारीहरू साथै एक अमेरिकी पत्रिकाका सम्पादक पनि जोडिएको पाइएको छ । सो ग्रुपमा यो योजना साझा हुने बित्तिकै, सम्पादकले आफ्नो पत्रिकामा यसको बारेमा समाचार प्रकाशित गरेको बताइएको छ । 

ग्रुप च्याटमा साझा गरिएको गुप्तचर जानकारीमा यमनमा हुथीहरूमाथि गरिएको आक्रमणको सञ्चालन विवरण, प्रहार गरिने लक्ष्यहरूको विवरण, प्रयोग गरिने हतियारहरू र आक्रमणहरू गर्ने तरिका उल्लेख गरिएको थियो । मार्च १५ मा, सुरक्षित एपमा समूह च्याटमा यो जानकारी साझा गरिएको दुई घण्टा पछि, अमेरिकाले यमनमा हुथी विद्रोहीहरूको अड्डाहरूमा आक्रमण गर्न थालेको थियो । यसबारे राष्ट्रपति ट्रम्पलाई सोध्दा उनले यसबारे कुनै जानकारी नभएको बताएका छन् ।

अमेरिकी सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै शीर्ष नेतृत्वको ग्रुप च्याटमा पत्रकारलाई कसरी र कसले जोड्यो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएको छ । यस समूह च्याटमा अमेरिकी रक्षामन्त्री बाहेक उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, गुप्तचर विभागका निर्देशक तुलसी गब्बार्ड समावेश छन् । ती पत्रकारलाई राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सिग्नल एपमा हुने ग्रुप च्याटमा सामेल हुन आमन्त्रित गरेको दाबी गरिएको छ । माइक वाल्ट्ज आफैं यो समूह च्याटमा जोडिएका छन् । यसका लागि ट्रम्प प्रशासनको आलोचना भइरहेको छ र यस्तो गोप्य र महत्त्वपूर्ण जानकारी ग्रुप च्याटमा किन साझा गरियो भन्दै आलोचना भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै