रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते,सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त एआयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गरिरहेको छ ।
आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । सिएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहात वितरण,जीविकोपार्जन तथा आयआर्जनबृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कोरियन कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको मुख्य निर्माण २०७८ पौषबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत रहेको छ । आयोजनाको ९.५ किलोमिटर लामो सुरुङमध्ये ४०० मिटर मात्र खन्न बाँकी रहेको छ । आयोजनामा हाल कार्यरत करिब एक हजार जनशक्तिमध्ये ४० प्रतिशत आयोजना प्रभावित रसुवा जिल्लाका रहेका छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ ।









