हिंसाको प्रतिपक्षमा कवि भासको दृष्टिकोण 

खरीबोट
ad

काठमाडौँ । पाषाणकालमा मानवले बाँच्नको लागि आहार जुटाउने क्रममा पशुहिंसा गर्न बाध्य थियो । पशुहिंसाकै लागि मानवले अनेक तरिका र कौशल विकसित गर्यो । प्राण रक्षार्थ सिकेको यही कला पछि आएर जीवनरक्षार्थ पनि प्रयोग हुन थाल्यो । जब मानिसले समूहमा बस्दै खेती गर्न सुरु गरे तब अन्नपात र भूमिको रक्षार्थ मानवकै विपरीत प्रयोग हुन थाल्यो र प्राणहरणको लागि समेत विकसित रूपमा प्रयोग हुन थाल्यो । फलामको पहिचान र प्रयोग पश्चात् राज्य, राजनीति, धर्म, भूमि र सौर्यका लागि समेत हिंसात्मक युद्ध हुन थाले । यद्यपि युद्ध या हिंसा मानवजातीले कहिल्यै नस्विकारे पनि यो नियमित अपरिहार्यता रहँदै आएको छ । युद्धमा हताहत हुनेहरूभन्दा तिनमा आश्रित हुनेहरूको सङ्ख्या न्यूनतम तिनगुणा मान्दा समेत युद्धको बिभिषिकाको सहजै अनुमान लगाउन सकिन्छ । 

युद्ध आवश्यक छ वा छैन भन्ने बहस सदैव चल्दै आएको छ । जीवो जीवस्य भोजनम् लाई व्यवहारिक रूपमा हेर्दा केही हदसम्म ठीक पनि देखिन्छ । तर जब मानिसद्वारा मानिसकै हिंसाको कुरा जब आउँछ, तब त्यसको औचित्य र अनिवार्यताको बारेमा पनि सोच्न जरुरी देखिन्छ । वैदिक कालमा पशुवली दिइन्थ्यो । यज्ञको लागि गरिएको हिंसालाई हिंसा नमान्ने मतको स्थापना वैदिक कालमा नै भएको थियो । तर धर्मको नाममा गरिने हिंसाको पनि औचित्य प्रयोजन केलाउँदै बुद्ध र महावीरले पशुहिंसाको विरोध गरे । औचित्य र अनिवार्यताको आधारमा यदि पशुहिंसा नै विचारणीय विषय हो भने युद्धमा मानवहिंसा त अझ संवेदनशील विषय हुन पुग्दछ । “आततेन विस्तीर्णेन शस्त्रादिना अयितुम् शीलम् अस्य” (बध गर्नको लागि खुल्ला हतियारधार लिएर आउने आततायी हो) भन्दै प्राचीन धर्मशास्त्रले त्यस्ता आततायीको बधलाई स्वीकृति दिएको छ । आफ्नो प्राणको रक्षार्थ आक्रमणकारीको प्रतिवाद गर्नु या हत्या गर्नु पनि जायजै मानिन्छ । पृथ्वीनारायण शाहको “जाई कटक नगर्नु झिकि कटक गर्नु” सिद्धान्त पनि यसैमा आधारित छ । “शस्त्र लिएर बध गर्ने उदेश्यले यदि गुरु, बालक, वृद्ध या बहुश्रुत ब्राह्मण नै आए पनि ती आततायी हुन र बिना कुनै सोच बिचार तिनलाई मारिदिनु पर्छ” भनेर मनुस्मृतिले एकातिर हिंसा अधर्म भए पनि हिंसाको अनुमोदन गरिदिएको छ भने शुक्राचार्यले यसै आधारमा “आगोमा जलाइदिने, विष खुवाउने, शस्त्र उठाएर आउने, धनको हरण गर्ने, खेत हरण गर्ने र पत्नीको हरण गर्ने” लाई छ प्रकारका आततायी घोषित गरिदिए । यस आधारमा आततायीको हत्या अनुमोदित पनि हो र यसको अनिवार्यता पनि ठीक लाग्दछ । तर यी मध्ये कुनै खोट नलागेका राज्यका सैनिक, जसलाई राज्यको सीमा बढाउन या राजनीतिक कारणले शाससको स्वार्थपूर्तिको लागि बलि चढाइन्छ त्यसलाई कसरी आवश्यक या अनिवार्य मान्न सकिन्छ ? 

काव्यको लक्षित समूह समाजका मानव नै हुन् । काव्यको ध्येय मनोरञ्जन मात्र नभएर काव्यमा अन्तरनिहित सन्देशको माध्यमबाट मानिसलाई परिष्कृत गर्दै लैजानु पनि हो । समाजमा व्याप्त अनेकन असामाजिक, अधार्मिक, न्यायविसंगत कुराहरूको बारेमा जानकारी दिँदै समाजलाई त्यसको विपरीत दिशामा मानवलाई जान अभिप्रेरित गर्ने कार्य काव्यले गर्ने भएकोले “तमसो मा ज्योतिर्गमय” काव्यको पहिलो ध्येय हो भने “असतो मा सतगमय” दोश्रो । हिंसाको पीडा बुझेर “मा निषाद” भनेर काव्यको दुख व्यक्त गर्ने काव्यकारले हिंसालाई अन्धकारकै प्रतीकको रूपमा लिएको देखिन्छ । यही अन्धकारबाट प्रकाशतिर धकेल्न अभिप्रेरित गर्ने काव्यकारले नै हिंसालाई जोर दिएर समर्थन गर्दै काव्यमा हिंसालाई अनुमोदित गरिदिनु कतिको जायज मान्न सकिन्छ ? 

महाभारत अनुसार एक अक्षौहिणी सेनामा २१८७० रथ, रथको सारथी र योद्धा, यति नै सङ्ख्यामा हात्ती र हात्तीको माहुते, सहायक र योद्धा र १०९३५० पैदल सैनिकको प्रावधान छ । महाभारत युद्धमा १८ अक्षौहिणी सेनाका साथै जनावरको पनि हिंसा भएको मानिन्छ । युद्धमा घोडा, हात्ती, सेनाको त्यत्रो विशाल हिंसा मात्र होइन, सेनासँग आश्रित न्यूनतम तीनगुणा परिवारको विखण्डन पनि हिंसा नै मान्नु पर्दछ ।  महाभारत काव्यलाई नै आधार मानेर उक्त हिंसाको औचित्य र अनिवार्यताको केलाउने हो भने हिंसा अनिवार्य थियो भनेर अनुमोदित गर्न भने गाह्रो पर्छ । शान्ति स्थापनार्थ गरिएको धर्मयुद्धमा हिंसा अपरिहार्य थियो या औचित्यहीन थियो ? के हिंसा रोक्ने कुनै विकल्प थिएन ? के युद्ध मात्रै एक विकल्प थियो त ?

महाभारत काव्यलाई नै आधार मानेर उक्त हिंसाको औचित्य र अनिवार्यताको केलाउने हो भने हिंसा अनिवार्य थियो भनेर अनुमोदित गर्न भने गाह्रो पर्छ । शान्ति स्थापनार्थ गरिएको धर्मयुद्धमा हिंसा अपरिहार्य थियो या औचित्यहीन थियो ? के हिंसा रोक्ने कुनै विकल्प थिएन ? के युद्ध मात्रै एक विकल्प थियो त ?

जय, भारत र महाभारत तीन चरणमा पूर्ण भएको महाभारतमा कति कथा व्यासले लेखेका हुन र कति कथा प्रक्षिप्त हुन्, अहिले छुट्ट्याउन मुस्किल छ । कथाको विशेषता त के भने ती पूर्व या प्रक्षिप्त, जुनसुकै कथा किन नहुन, मूल कथासँग यसरी जोडिएका छन् कि ती मूलकथाको परिपुरककै रूपमा देखिन्छन् र विश्वसनीय छन् । यस अवस्थामा पूर्वमूल कथा होस् वा प्रक्षिप्त ! यी सबै कथाहरू मिलेर महाभारत मूलकथा हुन पुगेको छ र यसका रचयिता व्यास नै मानिन्छन् र व्यासले महाभारतका थुप्रै घटनामा धर्मलाई आधार देखाएर हिंसालाई अनिवार्य मानेका छन् । व्यासको मतमा पापाचारलाई रोक्नु समर्थ व्यक्तिको कर्म हो र यसका लागि हिंसा जायज छ । पापाचारलाई रोक्न गरिएको हिंसा हिंसा नभएर धर्माचार हो । नरमेध यज्ञ गर्ने अभिलाषा बोकेका जरासन्धका कैदबाट ८४ राजाहरूको मुक्तिका लागि जरासन्धलाई आततायी घोषित गर्नु र नरमेध यज्ञ गरे त्यो पापको भागी पाण्डवहरू पनि बन्ने कर्मबन्धनमा बाँधेर भीमद्वारा उनको हत्या गराउँदै व्यासले हिंसालाई धर्मसापेक्ष देखाएका छन् । महाभारतमा यहाँसम्म हिंसा धर्मसापेक्ष छ, लोककल्याण र मानवियताको आधारमा पनि जरासन्ध आततायी नै हुन् तर दुर्योधनलाई आततायी मानेर उनको हिंसा अनिवार्य मानेर श्रीकृष्णको मुखबाट, “अर्जुन तिमीले नमारे यिनलाई मार्न म नै बाध्य हुनेछु” भन्ने वाक्य निस्कनुले एकातिर दुर्योधन आततायी हुन या हैनन् भनेर केलाउनु जरुरी छ भने अर्कोतिर व्यास हिंसाप्रति दृढ पनि देखिन्छन् ।

महाभारतमा केही सहयोगीहरू (शकुनी, दुशासन) सहित दुर्योधनलाई खलपात्र र आततायी प्रमाणित गर्ने प्रयास गरिएका जति पनि कथाहरू छन्, तर ती कथाहरूबाट दुर्योधन आततायी प्रमाणित भएका छन् या छैनन्, त्यसको पुष्टिपछि मात्र महाभारत युद्धमा हिंसाको अनिवार्यता पुष्टि हुन्छ । दुर्योधनले पाण्डु विरुद्ध के कति खलकार्य गरे त्यसको आधारमा मात्र दुर्योधनसहितका १८ अक्षौहिणी सेनाको हिंसालाई अनिवार्य मान्न सकिन्छ । भीमसेनलाई विष खुवाउनु, लाक्षागृहमा आगो लगाएर पाण्डुहरुको हत्याको प्रयास गर्नु, जुवामा छलले पाण्डुहरुको राज्य जित्नु र द्रौपदीको चीरहरण गर्नु र बनवासबाट फर्केका पाण्डुपुत्रहरूलाई उनीहरूको राज्य फिर्ता नदिनु जस्ता दुश्कर्म गराएर काव्यकारले महाभारत काव्यमा दुर्योधनलाई आततायी प्रमाणित गर्ने प्रयास गरे पनि शुक्राचार्यले प्रतिपादन गरेको सिद्धान्त अनुसार भने भीमलाई विष खुवाउने षडयन्त्र र लाक्षागृह काण्ड बाहेक अन्य कुनै कार्यले दुर्योधनलाई आततायी प्रमाणित गर्न भने सकिन्न । 

हरेक पुरुष आफ्ना अपूर्ण इच्छाहरू आफ्नो पुत्रको माध्यमबाट साकार भएको हेर्न चाहन्छ । आफू अविजित रहेको स्थानमा पुत्र विजित होस् भन्ने चाहना राख्दछ । यही मानसिकता धृतराष्ट्रमा पनि थियो । नेत्रहिनता राज्य सञ्चालनको बाधक हो भन्ने कुरा धृतराष्ट्रले कहिल्यै स्विकारेनन् । आफू जेष्ठ पुत्र भएकोले राज्याधिकार उनैमा निहित छ भन्ने भ्रमले एउटा अन्धकार श्रृजना र्गयो, यसैलाई उनले सत्य माने । तर पाण्डुलाई राजा घोषित गरिदा उनको अहंमा ठेस लाग्न पुग्यो । उनले यसलाई पराजयको रूपमा लिए । पराजय स्विकार्नु क्षत्रियधर्मको विपरीत थियो तर नेत्रहिन भएकाले उनी विवश भए । संयोगवस धृतराष्ट्र जब प्रतिनिधि राजा भए तब उनले यसलाई आफ्नो विजय सम्झे । महाभारत काव्यमा धृतराष्ट्र र गान्धारी सँगै भए पनि पृथक् चरित्रका रूपमा हेर्न सकिन्छ । धृतराष्ट्र बिचारवत् अन्धकार भए, गान्धारी अन्धकारलाई आफ्नो प्रारब्ध मानेर अंगिकार गर्ने मानसिकता । धृतराष्ट्रको भन्दा गान्धारी पृथक् मत त राख्थिन् तर अन्धकारलाई नै प्रारब्ध स्विकारिसकेकीले यसको विपरीत भने जान सकिनन् । धृतराष्ट्र आफैमा अन्धकार व्याप्त थियो भने गान्धारीले त्यही अन्धकारलाई विपरीत बिचार बोके पनि अंगिकार गरेकी थिइन् र दुर्योधन त्यही अन्धकारमा जन्मेका बालक थिए । दुर्योधन यी दुवै अन्धकारको दृश्य प्रतीक थिए । अवलाङ्ग भएता पनि धृतराष्ट्रको मनमा लुकेको राजा हुने उत्कट चाहना उनी दुर्योधनको माध्यमबाट पुरा गर्न चाहन्थे ।

“अमन्त्रम् अक्षरं नास्ति, नास्ति मूलम् अनौषधम् ।
अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।”

चाहे त्यो घना बादल लागेकै दिन किन नहोस्, त्यस्तो दिनमा पनि दियो बाल्नुको कुनै औचित्य हुँदैन । एकातिर दुर्योधन दुई अन्धकारको मिलापका उत्पत्ति थिए भने अर्कोतिर दुर्योधन जन्मँदाका अपशकुनहरूलाई लिएर उनलाई सदैव अन्धकारका बालक मात्र मानियो । तर यी दुवै कारणले पनि उनलाई प्रकाशको अत्यधिक आवश्यकता थियो । महाभारत काव्यमा दुर्योधन नामको अन्धकार हटाउने प्रयास भने कुनै पात्रबाट भएको देखिँदैन । त्यसैले यी दुई पात्रबाट काव्यकारले दुर्योधनमा प्रकाशवृष्टि गराउन नसक्नु स्वाभाविक हो, तर गुरु द्रोणाचार्य !

दुर्योधन व्यक्ति नभएर प्रवृत्ति थिए । दुयोधनको चरित्रलाई मिहिन रूपमा अध्ययन गर्ने हो भने उनी दुराराध्य चरित्रका त देखिन्छन् तर असाध्य चरित्रका भने देखिँदैनन् ।

दुर्योधन व्यक्ति नभएर प्रवृत्ति थिए । दुयोधनको चरित्रलाई मिहिन रूपमा अध्ययन गर्ने हो भने उनी दुराराध्य चरित्रका त देखिन्छन् तर असाध्य चरित्रका भने देखिँदैनन् । दरबारमै जन्मिएर युवराजको पद धारण गर्दै हुर्किएका दुर्योधनको पाण्डुपुत्रहरूसँगको वैरको बैधताको बारेमा हेर्दा एक बालक युवराजको अहम् र युवराजले जङ्गलबाट आएका पाण्डुपुत्रहरूलाई हेयको दृष्टिले हेर्नु स्वाभाविक बालसुलभ मानसिकता देखिन्छ । आफ्नै मामा शकुनीको लहैलहैमा आएर बालक दुर्योधनले भीमलाई विष खुवाउनुमा पनि उनैलाई पूर्णरूपमा दोषी मान्न सकिन्न । बालक दुर्योधन काँचो माटो थिए । शकुनीले उनको चरित्रलाई दुषित गरिरहेको समयमा भीष्म कहाँ के गरिरहेका थिए ? सिंहासनलाई राज्य मानेर राजालाई पिता देख्ने भीष्मलाई भावी राजाको चरित्र सुधारमा निष्कृय नदेखाइदिएको भए काव्यमा हिंसात्मक युद्ध रोकिन्थ्यो । 

बाल्यकालमै शकुनीले दुर्योधनको चरित्र दुषित बनाइदिएका थिए, गुरु द्रोणाचार्यले पनि बालक दुर्योधनमा त्यो दोष नदेख्नु र नसुधार्नुले दुर्योधन दोषी नभएर द्रोणाचार्यकै कमजोरी मान्न सकिन्छ । यदि गुरुकुलमा द्रोणाचार्यद्वारा उनको चरित्रमा सुधार गरिदिएको भए काव्यमा हिंसाको आवश्यकता हुने थिएन । गुरु द्रोणाचार्यले पनि महादानी शिष्य दुर्योधनभित्रको गुणलाई केलाउन सकेनन् । यदि सकेको भए दुर्योधनद्वारा गुरुदक्षिणामा चाहेको कुरा माग्ने आदेशमा द्रोणले उनको हिंसात्मक प्रवृत्तिको अन्त्य मागेर कथालाई अहिंसक बनाउन सकिन्थ्यो । दुर्योधनको जीवनीलाई नियाल्ने हो भने शकुनी र कर्ण दुर्योधनका शुभचिन्तक देखिन्छन् तर कर्ण बाहेक अन्य कोही उनका सच्चा मित्र देखिएनन्, स्वार्थले बाँधिएका देखिए । तथापि, कर्णले पनि दुर्योधन माथि प्रकाशबृष्ठि भने गरेनन्, यावत् जीवन केवल गुनको दासत्वमा बाँधिए । शकुनी दुर्योधनको छनौटका थिएनन् र कर्णको मनोवृत्ति केवल गुन चुकाउने आदेशपालक मात्र भएकोले दुबैबाट दुर्योधनको अन्धकार हटाउने कुनै प्रयास भएन ।

वस्तुतः त्यो देव दुर्योधन भित्रको अन्धकार या अज्ञान नै हो । दुर्योधनको यो चरित्रलाई बेवास्ता गर्न सकिन्न । यस संसारमा कुनै पनि मनुष्य सर्वथा दुष्ट या असाध्य हुँदैनन् ।

महाभारतमै एक स्थानमा दुर्योधन भन्छन्, “जानामि धर्मम्, न च मे प्रवृत्तिः । जानाम्यधर्मम्, न च मे निवृत्तिः ।” धर्म के हो म जान्दछु तर त्यसमा मेरो प्रवृत्ति छैन, अधर्म के हो त्यो पनि म जान्दछु तर त्यसबाट मेरो निवृत्ति पनि छैन । मेरो हृदयमा कुनै देव छ, त्यसले जे गराउँछ म त्यही गर्दछु । वस्तुतः त्यो देव दुर्योधन भित्रको अन्धकार या अज्ञान नै हो । दुर्योधनको यो चरित्रलाई बेवास्ता गर्न सकिन्न । यस संसारमा कुनै पनि मनुष्य सर्वथा दुष्ट या असाध्य हुँदैनन् । दुर्योधनको यस्तो अवस्थामा उनका आमाबाबु, गुरु, भीष्म, बन्धुबान्धव कोही सहायक नभएको अवस्थामा यदि कृष्ण सहायक भएको भए सायद बृहत् हिंसा टर्दथ्यो । धर्मसंस्थापनार्थ अवतार लिएका कृष्ण बृहत् हिंसा गराऊन समर्थ हुन सक्छन् भने हिंसा रोक्न पनि उनी अवश्य समर्थ थिए । युद्ध अघि दुर्योधनमा अर्काको धन लिएर हडप गर्ने नमुचिवृत्ति देखाइएको छ । यसै मनोवृत्तिका कारण दुर्योधन कृष्णको शान्ति प्रस्तावमा पाँच गाउँ त के, सियोको टुप्पा रोप्न पुग्ने भूमिसम्म पनि दिन अस्वीकार गर्दछन् । युधिष्ठिरले राज्य त के आफ्नै महारानीसम्म दाउमा राखेर जुवा खेले र हारे र दोश्रो पटक पनि उनी पुनः जुवाकै कारण वनवास र अज्ञातवास जानु पर्यो । यस्ता जुवाडे युधिष्ठिरको लागि कृष्णले कुन न्यायवत् पाँच गाउँ मागे त्यो सोचनिय छ । अर्को कुरा, बृहत् हिंसा र युधिष्ठिरको लागि पाँच गाउँलाई न्यायको तराजुमा जोख्ने हो भने युधिष्ठिको लागि पाँच गाउँको माग निक्कै हलुका हो । हिंसा रोकिन्थ्यो भने युधिष्ठिरले पाँच गाउँ नपाउनु कुनै ठूलो अन्याय पनि हुन्थेन । जब राजा नै युद्धको पक्षमा जान्छन् त युद्ध हुन्छ नै । महाभारतमा काव्यकार स्वयम् हिंसाको पक्षमा गएकाले कृष्णलाई पनि अनुकूल बनाइयो । दुर्योधन व्यक्ति नभएर प्रवृत्ति थिए । काव्यकारले दुर्योधनलाई व्यक्तिको रूपमा मात्र प्रस्तुत गरे र प्रवृत्तिको सट्टा दुर्जन व्यक्तिको हिंसालाई अनिवार्य ठाने ।

जहाँ अन्धकार हुन्छ त्यहीँ प्रकाशको अत्यधिक आवश्यकता पर्दछ । दुर्योधन अन्धकारका प्रतीक थिए र कृष्ण उद्धारक । उद्धारक भएका नाताले महाभारतका यदि कुनै पात्रलाई कृष्णको अत्यधिक आवश्यकता थियो त ती पात्र दुर्योधन थिए र कृष्ण यहाँ असफल भए । दुर्योधन नमुचिवृत्तिका पापाचारी र दुष्ट व्यक्ति नै भए पनि उनलाई एक सद्गुरुको आवश्यकता थियो, प्रकाशवृष्टि गर्ने सम्यक् व्यक्तिको आवश्यकता थियो । कवि क्रान्तद्रष्टा हुन्छन्, विगतलाई केलाउन र आगतको अनुमान गर्न सक्षम हुन्छन् । महाभारत काव्यमा दर्साइएको हिंसा रोक्न सकिने स्थान र अवसर थुप्रै थिए भन्ने विचार कवि भासले "दूतवाक्य" र "उरुभङ्ग" मा उठाएर महाभारत काव्यको अनुमोदित र अपरिहार्य हिंसाको विरुद्धमा कविदर्शन पोखेका छन् ।          

सम्बन्धित समाचार

हिंसाको प्रतिपक्षमा कवि भासको दृष्टिकोण 

काठमाडौँ । पाषाणकालमा मानवले बाँच्नको लागि आहार जुटाउने क्रममा पशुहिंसा गर्न बाध्य थियो । पशुहिंसाकै लागि मानवले अनेक तरिका र कौशल विकसित गर्यो । प्राण रक्षार्थ सिकेको यही कला पछि

कथा ‘सङ्ग्रह’

“अवाल, दि.के. अवाल ।” ऊ चिनजान गर्न हात मिलाउँदा यसै भन्ने गर्दथ्यो । बाजेले प्रेमपूर्वक राखिदिएको दीलकुमार नामलाई उसले छोट्याएर डि.के. बनाएको थियो र यो डि.के.लाई पनि उसको लवजले नेवारीकरण

अम्लान फूल : नेपाली गजलमा अर्को एउटा सुगन्धित पुष्प

काठमाडौँ । भारतमा मुगल शासकको आगमन सँगै फारसी संस्कृति पनि भित्रियो र जहाँजहाँ मुगलहरूले राज्य गरे, त्यस ठाउँका शौरसेनी, पाली आदी भाषा बिस्थापित भएर अदालती र राजकीय भाषा फारसी हुनपुग्यो

जिगोलो, एक पीडा [कथा]

शनिवार बहिान उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्ने बित्तिकै म आठौँ आश्चर्यमा परेँ । पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुवको मिलाप थियो । एक पटक आफैलाई चिमोटौँ चिमोटौ जस्तो


z