• २०८१ बैशाख १६ आइतबार

धर्मदेखि पूर्वीय दर्शनसम्म

kharibot

दर्शनको बारेमा केही भन्नु अगाडि धर्मको बारेमा सामान्य जानकारी राख्नु आवश्यक हुन्छ, किनभने धर्मको एक लामो अभ्यासपछि नै दर्शनको सुरुवात भएको देखिन्छ । मानव जातिको विकासको इतिहास धेरै लामो छ, तर टर्निंग पोइन्ट भने मानिसको मस्तिष्कमा कल्पना शक्तिको विकास भएको समयलाई नै मान्नु पर्दछ ।

मानवमा देखे सुनेका कुराहरूलाई सिलसिलेवार रूपमा सम्झन सक्ने शक्तिको विकास पश्चात् मानवमा कल्पना गर्ने र अड्कल काट्ने शक्तिको पनि विकास हुँदै गयो । मानव जिज्ञासु थियो, र उसको मस्तिष्कको सीमित शक्तिले संसारका अनेकन् कुरा कसरी भयो र कसले ग¥यो भनेर पनि सोच्न थाल्यो । प्रकृतिका रहस्यमय कुराहरूलाई हर–सम्भव बुझ्ने प्रयास गर्न थाल्यो र बुझ्न नसकेको आँधी, बाढी, चट्याङ, ज्वालामुखी, पहिरो, डढेलो जस्ता प्राकृतिक प्रकोप या प्राकृतिक शक्तिहरू देखेर मानव मस्तिष्क डरायो, नतमस्तक भएर यिनलाई अदृश्य शक्तिको रूपमा लिन थाल्यो । यिनै अदृश्य अमानव शक्तिहरूलाई मानवले पछि गएर प्रेत, आत्मा या ईश्वरको रूपमा कल्पना गर्न थाल्यो । यसरी संसारको हरेक सभ्यतामा धर्म जन्मिएको नभएर विकसित हुँदै आएको देखिन्छ । यसको प्रारूप मेसोपोटामिया या सुमेर सभ्यताको अध्ययनबाट स्पष्ट बुझ्न सकिन्छ । सुमेर या मेसोपोटामियन सभ्यता सँगसँगै कृषि र व्यापारका लागि या युद्धबाट पलाएन भएर मानिस एक स्थानबाट अर्को स्थानमा बसाइ सरेर जान लागे, यसले भाषा, संस्कृति, संस्कार धर्म, इतिहास, लोकोक्ति र लोककथाहरू पनि एक स्थानबाट अर्को स्थानमा स्थानान्तरसित हुँदै जान थाल्यो । आर्यहरू समूहमा आएका हैनन्, न त आर्यहरू बाहिर नै गएका हुन् । आर्यहरूको कुनै आफ्नै  धरा, भाषा, सभ्यता भने थिएन, यो मिश्रित कल्चर थियो । यही कल्चरल माइग्रेसनले आर्य माइग्रेसन या इन्भेन्सनका धारणाहरूलाई मिथ्या साबित गरिदिएको छ ।

हिन्दु धर्मको सुरुवात पनि पृथक् भने छैन । स्टेपि मैदानका विरोस भाषा बोल्ने देव जातिहरू पनि समूहमा बस्दथे, सिकार गर्दथे र अग्निको वरिपरि बसेर प्राप्त सिकारको एक टुक्रा अग्निलाई समर्पित गरेर बाँकी सिकार र अन्य खाद्यहरू वरिपरि बसेर खाने कार्य गर्दथे, जसलाई यज्ञ भनिन्थ्यो । कालक्रमेण यही यज्ञ देव जातिको संस्कार हुँदै गयो भने पछि गएर यज्ञ विधान गर्ने मन्त्रहरू पनि बने । वैदिक धर्ममा यज्ञ कर्मकाण्ड थियो भने यज्ञको विधान गर्ने मन्त्रहरू बनाइनु, ऋचाहरू लेख्नु ज्ञान काण्डको सुरुवात थियो । कर्मकाण्डमा पशु बली दिइन थालियो, मनोकामना पूर्ण गर्नको लागि इन्द्रादी देवतालाई मासु बोसो आदि अग्निमा जलाएर त्यसको गन्धले प्रसन्न पार्न थालियो र सयौँ वर्षसम्म यज्ञ नै वैदिक जनहरूको सर्वोपरि धर्म हुन गयो । घोडा बेच्ने र सधाउने कामको सिलसिलामा यी विरोस भाषीहरू सुमेर, मेसोपोटामियन, हित्ती, अमरोइट आदि अनेक सभ्यताको सभ्यताको सम्पर्कमा आए । मेसोपोटामियन सभ्यतामा देव देवी, आदिको उपासना मूर्तिको माध्यमबाट हुने गर्दथ्यो मूर्ति र मन्दिर सुमेर र मेसोपोटामियन सभ्यताका देन हुन्, तथापि वेदमा मन्दिर र मूर्ति पूजाको उल्लेख भने छैन, यसको कारण भनेको आर्यहरू कुनै काल्पनिक देव (सम्भवतः प्रेत) या अदृश्य शक्तिको उपासक थिए, जुन वेदको अध्ययन गर्दा अदृश्य अगोचर ब्रह्मको धमिलो वर्णनले स्पष्ट पार्दछ । अथर्ववेदमा भएको होम, यज्ञ, वशीकरण, भूत विद्या आदि धेरै कुराहरू असीरिया पनि प्रचलित थियो । यी प्रचलनहरू विस्थापित पुरोहितहरूले सप्तसिन्धुमा लिएर आएका थिए । शाक्त सम्प्रदायका तान्त्रिकहरूले जब यज्ञ विधानलाई अपनाए तब मारण, मोहन, उच्चाटन, वशीकरण आदि शक्ति प्राप्तिको भैरव–भैरवी, चण्डी काली, कराली आदिको सिद्धि पनि यज्ञको माध्यमबाट नै सिद्ध गरिन लागियो । बौद्ध धर्मको उदय पश्चात् हिन्दुहरूको यज्ञ गर्ने धर्म शिथिल भयो र सुषुप्त अवस्थामा पुग्यो । सुमेरियन र मेसोपोटामियन सभ्यताको सिको गर्दै बौद्ध धर्मले बुद्धको मूर्ति बनाएर मूर्तिलाई ध्यानको साधन बनाउन थाल्यो, बौद्ध धर्मको चरम अवस्थासम्म यो निक्कै फैलियो, बुद्धका अनेक मूर्तिहरू बने । बुद्ध धर्मको उदयको साथसाथै हिन्दुहरूको यज्ञ धर्म दब्न गयो । हिन्दु देवताका मूर्तिहरू भने छैठौं शताब्दीभन्दा यताका छैनन् ।

दर्शन

दर्शनको उत्पत्ति धर्मको आधारमा भएको छ । मानिसले श्रद्धाले स्वीकार गरिएको धर्मलाई तर्कले (चार प्रमाण मध्येको एक अनुमान प्रमाण) सिद्ध गर्ने प्रबल कोसिस नै दर्शन हो । दर्शनको सुरुवात पूर्वीय दर्शन या वैदिक दर्शनबाटै भएको हो, यसमा दुई मत छैन, वैदिक दर्शन सुरुवातको एक शतकपछि मात्र पश्चिममा दर्शनको प्रारम्भ भयो । पूर्वीय दर्शन उपनिषद् र बुद्ध, जो एकाध दशक अघि पछिका थिए, बाट भएको मानिन्छ भने पश्चिममा थेलस र अरस्तुबाट । संसारमा जति पनि दर्शनहरू प्रतिपादन भए ती सबै यी दुई दर्शन धाराबाट नै निस्किएका हुनाले यी दुई दर्शनलाई विश्वमा अन्य दर्शनहरूका प्रतिनिधि दर्शनहरू मानिन्छ । यी दुवै दर्शनहरू ई.पू. ६००–५०० देखि सुरु भए, पूर्वीय या भारतीय दर्शन दुई शतकपछि इ पू ४०० तिर थला पर्याे भने पश्चिममा एक शतक बढी लम्बिएर इ पू ३०० सम्म अगाडि बढ्यो । ई पू ४०० तिर थन्किएको पूर्वीय दर्शन इसाको पहिलो शताव्दिमा फेरि उठ्यो र यसले पाँच शताब्दीको अर्को लामो यात्रा गर्यो । यस अवधिमा पूर्वीय दर्शनको मूलधार भित्रै रहेर अन्य थुप्रै दर्शनहरू प्रतिपादित भए । त्यसपछि भने हिन्दु दर्शनको मृत्यु भयो, इसाको छैठौँं शताव्दिपछि कुनै नयाँ दर्शन आएको छैन, त्यहाँदेखि अहिलेसम्म हिन्दु धर्मका गुरु, स्वामी, महाराज, र कर्मकाण्डी ब्राह्मणहरू हिन्दु दर्शनको लास बोकेर आइरहेका छन् । पछिल्लो काल रजनिशले बुद्धलेझैँ मध्यमार्गवादी सबै दर्शनको छ्यासमिस कुरा उठाए, तर त्यो कुनै नयाँ दर्शन भने हैन ।

पूर्वीय या वैदिक दर्शनको आधार धर्म हो तर वेद भने होइन्, वेदबाट नै वैदिक दर्शन निस्किएको भने होइन । वेदमा कताकति दर्शनका झिल्काहरू देख्न सकिन्छ तर ती झिल्काहरू केवल झिल्का मात्रै हुन् । केही विद्वान वेदलाई अपौरुषेय या ईश्वरकृत यज्ञपरक ज्ञानको भण्डार मान्दछन् । कोही भने अपौरुषेय उपयोगी र प्रभावशाली फलदायक मन्त्रले भरिएको मान्दछन्, भने कोही ऋषिहरूले बनाएका मन्त्रहरूको ऐतिहासिक आलेख मान्दछन् । वास्तवमा वेद पौरुषेय यज्ञपरक मन्त्रयुक्त काव्य हो, सायण र महीधर जस्ता भाष्यकार र निरुक्तकारहरू लगायत बहुल विद्वानहरूको यही मत छ । अर्थात्, प्रकृतिको विभिन्न मनोहारी स्वरूपहरू देखेर स्फूर्त रूपमा आलोकित तरङ्गको रूपमा मनमा उठेका भावहरूलाई वैदिक ऋषिहरूले प्रशस्तिहरू, स्तुतिहरू, दिव्य गानहरू छन्दमा शब्दबद्ध गरे जसलाई ऋचा या मन्त्र भनिन्छ । पृथ्वीको यस्तो अद्भुत आनन्ददायक सम्पन्नताले सन्तुष्ट भएका ऋषिहरूले आफ्ना ऋचाहरू मार्फत यस आनन्दको निरन्तरताको कामना गरे, सय वर्षसम्म बाँचेर भोग्न पाउने अभिलाषा पोखे, यतिले नपुगेर आफ्ना सन्ततिहरूको लागि पनि यो भोगको कामना गरे । मृत्यु पश्चात् पनि उनीहरूले स्वर्गमा गएर यिनै आनन्दको निरन्तरता बनिरहोस् भन्ने उद्देश्य लिएर विभिन्न अनुष्ठान हरू पनि गरे, देवताहरूलाई प्रसन्न गर्ने उद्देश्यले विभिन्न आयोजन अनुष्ठानहरू गरे, वरदान मागे । प्रकृतिको विपदाहरूको लागि पनि यसका काल्पनिक नियन्त्रक देवता, मरुत, अग्नि, रुद्र आदिलाई सन्तुष्ट र प्रसन्न गर्नको लागि अनुष्ठान, प्रार्थना गरेर रक्षाको अनुरोध गरे । वैदिक ऋचाहरू यिनैले भरिएका छन्, युद्धका कथाहरू लेखिएका छन् । यसैले वेद पूर्वीय दर्शनको श्रोत या आधार होइन, यो केवल ज्ञानकाण्डको सुरुवात थियो ।

धर्म, वेद, यज्ञ र दानमा विश्वास गर्ने वैदिक ऋषिहरू काव्यका ज्ञाता त थिए तर दार्शनिक भने थिएनन्, वेदमा दर्शनको घुइरो घुइरो आभास केवल ऋग्वेदको नासदिय सूक्त, जुन विवादित पनि छ, र यजुर्वेदको अन्तिम अध्यायमा पाइन्छ । वास्तवमा वैदिक संस्कृतिका मानव जीवन प्रफुल्लित, आह्लादमय, सुखाकांक्षी, आशावादी र जिजीविषापूर्ण थियो । वैदिक मानवमा विषाद, पाप या कष्टमय जीवनको विचारको छाया थिएन, नरक र त्यसमा पाइने यातनाहरूको कल्पना समेत थिएन । कर्म नै यज्ञ र यज्ञ नै कर्मको धारणा थियो, यज्ञ नै सबै सुखदाता र संकटहर्ता हो भन्ने अवधारण थियो । वैदिक धर्ममा स्मृति र श्रुति दुई परम्पराहरू छन् । स्मृति व्यक्तिको स्मरणमा आधारित छ भने श्रुति परम्परामा । वेद पनि श्रुति परम्पराबाट नै आएकोले श्रुति र स्मृति मध्ये श्रुतिलाई प्रधान मानिन्छ । वेद सँग दुई काण्डहरू जोडिएर आएका छन्, ज्ञान काण्ड र कर्मकाण्ड । ज्ञान काण्डमा रस, छन्द, उपमा, अलङ्कार आदि काव्यिक गुणहरू आए भने कर्मकाण्डमा यज्ञवादी कार्यहरू । वैदिक जनहरूले श्रुति परम्पराद्वारा ज्ञानको पुस्तान्तरण गर्दै गए, वेदका ऋचाहरू थपिँदै गए, कर्मकाण्डहरू हुँदै गयो र कर्मकाण्डको लागि सहायक मन्त्रहरू पनि बन्दै गए ।

लामो समयको याज्ञिक कार्यको अनुभवबाट वैदिक जनमध्येका चिन्तकहरूले याज्ञिक कार्यबाट कुनै कामना पूर्ण नभएको र याज्ञिक कार्य उपलब्धि शून्य महसुस गरे । यसले दुई कुराको जन्म गरायो, याज्ञिक कार्यको विरोध र अवस्थाप्रति चिन्तन । यसैले यज्ञको विकल्पमा दुई प्रकारको चिन्तन देखिन गयो, पहिलो प्रकृतिपरक चार्वाक या लोकायत मत, जो वेद, यज्ञ, हिंसा, (पछि गएर वैदिक दर्शनको परलोक पुनर्जन्म, स्वर्ग) आदिलाई नमान्ने मतका थिए । अर्को मतको प्रकृति भने अलि भिन्न प्रकारको थियो, यो मतका अनुयायीले, जो वैदिक मूलका चिन्तक थिए, यज्ञादी क्रियालाई धर्मको काम मान्न अस्वीकार गरे । उनीहरू त्यागी तपस्वी, एकान्तवादी मुनि थिए, पराविज्ञानवादी, जो केवल चिन्तन मनन गर्ने र ज्ञान प्राप्त गरेर ज्ञानी हुनुलाई नै धर्म मान्दथे, यिनैको चिन्तनले उपनिषद जन्मियो । यता वेदलाई मान्ने वैदिक ऋषिहरू पनि दुई धारमा विभाजित भए, यज्ञवादी क्रियाका समर्थक र उपनिषदका अनुयायीहरू, र यिनको बिचमा पनि खुब सङ्घर्ष भयो । यज्ञवादी कार्यमा विभिन्न मेध यज्ञहरू थपिएका थिए, यज्ञवादी कार्यमा पशु वध र अश्वमेध यज्ञका नाममा युद्धहरू पनि भए । यज्ञवादी क्रियाका समर्थकहरू नै पछि गएर हिन्दु धर्मका कर्मकाण्डी ब्राह्मण पुरोहितहरू भए ।

उपनिषदको उदय

उपनिषदको बारेमा चर्चा गर्नु अगाडि केही ऐतिहासिक तथ्यलाई आत्मसात गर्नु अत्यन्त जरुरी छ । जसरी हिन्दु अतिवादीहरू र ब्राह्मण वर्ग वैदिक काल या सभ्यता भनेर अतिरञ्जित तरिकाले व्याख्या गर्दछन्, वास्तवमा ऐतिहासिक रूपमा त्यो सत्य होइन र सुमेर, मेसोपोटामिया जस्ता पुरातात्त्विक साक्षयुक्त स्थापित सभ्यता या काल हुँदै होइन । वेद श्रुति परम्पराबाट हुर्किँदै आएको काव्यधारा हो, यो कहाँ र कहिले लेखियो भन्ने कुनै पुरातात्त्विक प्रमाण छैन, वेदको कुनै ट्याब्लेट, शिलालेख, ताम्र पत्र या हस्तलिखित प्रमाणहरू पनि छैनन्, जसको कार्बन डेटिङका आधारमा काल निर्धारण गर्न सकियोस् । वेदमा अफगानिस्तान र सप्तसिन्धुका क्षेत्रहरूको उल्लेख छ, तर त्यहाँ वैदिक काल या सभ्यता सम्बन्धी कुनै पुरातात्त्विक प्रमाणहरू आजसम्म फेला परेका छैनन्, पुराणमा उल्लेख भएका राजाहरूको पनि कुनै ऐतिहासिक तथ्य या प्रमाणहरू पनि उपलब्ध छैनन् । माथि नै भनियो, आर्य केवल कल्चरल माइग्रेसन मात्र हो, आर्य कुनै विशेष जाती होइनन् । स्टेपि मैदानका विरोस भाषी (प्रारम्भिक संस्कृत) मूलका मानिसहरू, जोसँग सुमेर, मेसोपोटामिया, हित्ति, कस्साइट, मितन्नी, अश्शुर, इरानी आदि विभिन्न सभ्यताका मानिसहरू मिसिएर आएका छन्दका ज्ञाता तथा याज्ञिक संस्कृति मात्र हो, जो इराक इरान हुँदै अफगानिस्तानमा आए र त्यहाँबाट क्रमशः दक्षिण एसियामा यिनको संस्कृति फैलियो ।    

सप्तसिन्धुमा याज्ञिक जनहरू आउनु पूर्व नै यहाँ केही प्रचलित र स्थापित धर्म तथा सभ्यताहरू थिए । प्रकृति पूजक हरप्पा सभ्यता त्यति बेला नष्ट भइसकेको थियो तथापि, किराँत (प्रकृति पूजक), खस (मज्द, मस्ट पूजक अश्शुर) आदि सभ्यताहरू अस्तित्वमा थिए, जसको प्रभाव पछि वैदिक धर्ममा पनि पर्न गयो, वैदिक धर्मले यिनका देव तथा थुप्रै धार्मिक संस्कारहरू अनुकरण र आत्मसात पनि गरे । उपनिषदको पूर्वार्धसम्म वेद र याज्ञिक संस्कृति कायम थियो । प्रत्येक सुख या दुःखको मूल कारण या नियन्त्रक काल्पनिक देवहरू नै थिए । वेदमा सुरुवातमा सुमेरियन सभ्यताका वरुण र मित्र प्रमुख थिए भने पछि इन्द्र, अग्नि, सविता सोम, मरुत, पूषन, अश्विनीकुमार पितर यम आदि देवताहरू वेदमा भित्रिए र याज्ञिकजन बहुदेववादी बने ।

ई.पू. छैटौँ शताब्दीसम्म यज्ञादि कार्य नै धर्म थियो । माथि नै भनियो, लामो समयको याज्ञिक कार्यको अनुभवबाट वैदिक जनमध्येका चिन्तकहरूले याज्ञिक कार्यबाट कुनै कामना पूर्ण नभएको र याज्ञिक कार्य उपलब्धि शून्य महसुस गरे । वेदले विश्व उत्पत्तिको स्थान नै यज्ञलाई दिएको थियो, यज्ञ नै सबैभन्दा श्रेष्ठ कर्म मानेको थियो, यज्ञ कर्मबाट नै स्वर्गको प्राप्तिको बाटो देखाएको थियो, यसैले सुखी सम्पन्न र आनन्ददायक जीवन जिउनको लागि यज्ञ गर्दै देवताहरूलाई प्रसन्न सन्तुष्ट बनाउनु नै वेदको उद्देश्य थियो, यही वेदको सूत्र थियो । चेतनशील ऋषिहरूले याज्ञिक कार्यमा कुनै सार देखेनन्, कुनै फल प्राप्ति पनि भेटेनन् । वैदिक ऋषिहरू बौद्धिक रूपमा प्रखर र चिन्तनशील थिए, यसमा दुई मत छैन । वेदका ऋचाहरू अध्ययन गर्दा नै यिनको बौद्धिक क्षमता प्रस्ट हुन्छ । वेदको प्रमुख देन भनेको काव्यको श्रृष्टि हो, वार्णिक मात्र नभएर मात्रिक छन्द हो, काव्यका अन्य तत्त्व उपमा, अलङ्कार, रस आदि हुन् । यी बौद्धिक  र प्रखर चेतनशील ऋषिहरू हव्य ग्रहण गर्ने देवतामा मात्र सीमित भएर रहन चाहेनन्, उनीहरू व्यग्र रूपमा हव्य ग्रहण गर्ने देवताहरूलाई पनि जन्माउने र सञ्चालन गर्ने, ती भन्दा पनि माथिको ऋष्टिको निर्माता र सञ्चालक परम शक्ति र सत्ताको दर्शन गर्न र त्यसको वास्तविक स्वरूप बुझ्नको चिन्तन गर्न थाले । प्रकृतिको विशाल रंगभूमि निर्माता, उद्गम, सञ्चालक, खोज्न चिन्तन हुन थाल्यो, हामी को हौँ कहाँबाट आयौँ, कता जान्छौँ, त्यता गएपछि के हुन्छ आदि प्रश्नहरूको उत्तर मस्तिष्कले खोज्न थाल्यो, अनन्तको खोज यात्रामा निस्केको व्यग्र मस्तिष्कले चिन्तनको बाटो खुलायो, दर्शनको उदय भयो ।

यो बडो विचित्रको अवस्थाको समय थियो, जहाँ परम्परागत रूपमा चल्दै आएको वेद अध्ययन र यज्ञादी कार्यका आर्य ऋषिहरू पहिलो पल्ट सैद्धान्तिक रूपमा विभाजित हुन पुगे । यिनै ऋषिहरू मध्येका केहीले वेदको यज्ञादि कार्यको विरोधमा चिन्तनको बाटो अपनाए, यज्ञादि कार्यबाट वाक्क भएका कोहीले प्रकृतिपरक भएर “नास्ति दत्तम नास्ति हुत्तम“ भनेर वेदलाई नै नमान्न थाले, कोही परम्परागत वेद अध्ययन र यज्ञादिकै कार्यलाई निरन्तरता दिँदै जान थाले । यहीँबाट तीन धार उत्पन्न भयो, पहिलो धारले उपनिषदको माध्यमबाट आत्मवादी दर्शनको अवधारणा ल्याए, दोस्रो धारले प्रकृतिपरक अनात्मवादी दर्शनको (चार्वाक या लोकायत) अवधारणा ल्याए, तेस्रो धारले भने परम्परागत कर्मकाण्ड र वेदाध्ययनलाई त्यागेनन् । गहिरिएर हेर्दा आत्मवादी दर्शन, अनात्मवादी दर्शन, कर्मकाण्ड, बौद्ध धम्मको महायान शाखा आदि सबैका प्रणेता वैदिक ऋषिहरूका सन्तति नै हुन् । यसलाई पनि प्रमुख दुई भागमा विभाजित गर्दा वेदको प्रमाणिकतालाई मान्नेहरू आस्तिक भए भने नमान्नेहरू नास्तिक या वाममार्गी (परम्परागत धार विपरीत जाने) भए ।

आस्तिक या नास्तिक दुवै मत यज्ञको विकल्पमा आएको चिन्तन थियो । पहिलो प्रकृतिपरक चार्वाक या लोकायत मत जो यज्ञ, हिंसा, परलोक पुनर्जन्म, स्वर्ग आदिलाई नमान्ने थिए, बुद्ध यही मतको वैज्ञानिक चिन्तक थिए । अर्को मतको प्रकृति भने अलि भिन्न प्रकारको थियो, यो मतका अनुयायीले यज्ञादि क्रियालाई धर्मको काम मान्न अस्वीकार गरे । उनीहरू त्यागी तपस्वी, एकान्तवादी मुनि थिए, पराविज्ञानवादी, जो केवल चिन्तन मनन गर्ने र ज्ञान प्राप्त गरेर ज्ञानी हुनुलाई नै धर्म मान्दथे, यिनैको चिन्तनले उपनिषद जन्मियो । यता वेदलाई मान्ने वैदिक ऋषिहरू पनि दुई धारमा विभाजित भए, यज्ञादि क्रियाका समर्थक र उपनिषदका अनुयायीहरू, र यिनको बिचमा पनि खुब सङ्घर्ष भयो । यज्ञादि कार्यमा विभिन्न मेध यज्ञहरू थपिएका थिए, यज्ञादि कार्यमा पशु वध र अश्वमेध यज्ञका नाममा युद्धहरू पनि भए । यज्ञादि क्रियाका समर्थकहरू नै पछि गएर हिन्दु धर्मका कर्मकाण्डी ब्राह्मण पुरोहितहरू भए । यसको तात्पर्य कर्मकाण्डी ब्राह्मण पुरोहितहरूले दर्शनलाई अस्वीकार गरेका भने थिएनन्, उल्टो दर्शनले प्रतिपादित आत्मा, मोक्ष आदिको लागि पनि कर्मकाण्ड र मन्त्रहरू बनाए, अर्थात्, कर्मकाण्डीहरूले आत्मा, मोक्ष आदि दर्शनलाई पनि कर्मकाण्डमा गाभे, आत्मालाई मोक्ष दिने अनेक कर्मकाण्डी विधि बनाए । उपनिषद काल या बुद्ध कालसम्म त्रिवेद प्रचलनमा थियो, अथर्व वेद अस्तित्वमा थिएन । अथर्ववेदमा भएको होम, यज्ञ, वशीकरण, भूत विद्या आदि धेरै कुराहरू असीरिया पनि प्रचलित थियो । यी प्रचलनहरू पनि वैदिक जनहरूले सप्तसिन्धुमा लिएर आएका थिए ।

दर्शनको प्रारूप

वैदिक ऋषिहरूले आत्मा र शरीर, पुनर्जन्म र कर्मफलवाद र जीवनको विषयमा प्रारम्भमा यदाकदा बिचार गरेका छन्, यसको आभास वेदमा गौण रूपमा देखिन्छ पनि, तर चिन्तन या दर्शनकै रूपमा भने उपनिषदमा मात्र गहन रूपमा उल्लेख हुन आयो । वैदिक ब्राह्मणहरूले यज्ञादि कार्य र कर्मकाण्डलाई नै जोर दिएर यसैलाई नै जीवनको सबै समस्याहरूको हलको रूपमा प्रतिपादित गर्दै जाने प्रवृत्तिले विचारवान ऋषिहरूमा विरोधी भावनाको सूत्रपात हुन गयो, यसबारे पुनर्विचार गर्न प्रेरित ग¥यो र उनीहरू चिन्तन गर्न थाले । आत्मा र स्वर्गको आभास वेदमा छ, यो सेमेटिक अवधारणा वैदिक ऋषिहरूले उतैबाट बोकेर आएका हुन् । स्वर्गको बारेमा सेमेटिक र वैदिक दुवै चिन्तकहरूको धारणा लगभग उस्तै छ । यो मृत्युपछिको पृथ्वीभन्दा उपल्लो अदृश्य भौतिक लोक हो जहाँ आत्मा, सेमेटिक दर्शन अनुसार कयामत पछि ज्युँदिएका आत्मा जान्छन् । सेमेटिक र वैदिक धारणा अनुसार स्वर्गमा दूध, मह, हुर (सुन्दरी) रक्सी आदिको अविरल नदी बग्छ, हरेक सुख सुविधा उपलब्ध छ, शोक हुँदैन, कुनै दुराचार या पाप हुँदैन, यस्ता भौतिक सुविधायुक्त लोक भएकोले स्वर्ग अदृश्य भौतिक लोक भन्नुमा अत्युक्ति नहोला ।  

सप्तसिन्धुमा आएर काव्य र यज्ञादी कार्यको तीव्रता र बिस्तार पछि यसबाट वाक्क भएका ऋषिहरू भने चिन्तनमय हुन थाले । यज्ञादी कर्मले के साँच्चै मनोकामना पूर्ण गर्छ ? यज्ञ भागको सच्चा अधिकारी को हो, मनोकामना दाता को हो ? यज्ञ अधिकारीको अस्तित्व के र कहाँ छ ? यो भित्र के रहस्य छ ? यो धर्मको कुन रूपको प्रतीक हो ? के यसले जीवनको चरम लक्ष्यसम्म पु¥याउन सक्छ ? यज्ञादीबाट प्राप्त मनोकामनाको भोग कसले गर्छ ? यस्ता प्रश्नको उत्तरमा दुई धारणहरू उब्जिए, आत्मा र मोक्ष ।  परलोक । आत्मालाई शरीरभन्दा पृथक तत्त्व मानियो, स्वर्गभन्दा अहम मोक्ष मानियो । वैदिक ऋषिहरू संसारमा आत्माको आवागमन किन हुन्छ भन्ने खोजमा प्रवृत्त थिएनन्, उपनिषदका ऋषिहरूले यसलाई पनि चिन्तनको विषय बनाए । यज्ञादी कार्य र स्वर्गको आशभन्दा माथि उठेर उनीहरू मोक्षको अभिलाषी भए, गृहस्थ त्यागेर संन्यास लिन थाले, सृष्टिकर्ताको सम्बन्धमा सिद्धान्तहरू प्रतिपादित गरे, उपासना गर्नु पर्ने देवताको बारेमा व्याख्या गरे, तत् मीमांसा गर्दै आत्मा र शरीरको सूक्ष्म विवेचना गरे, स्वर्गभन्दा परको परलोकको समेत विस्तृत विवरणहरू लेखे । पूर्वीय दर्शनलाई दर्शनको उत्पत्ति श्रोत नै मान्नु पर्दछ । दर्शन मूलतः धर्मसँग जोडिएर आएको चिन्तन हो । वेदपछिको उपनिषदले नै दर्शनको प्रारम्भ गरेर ईश्वरीय तत्त्व, परम शक्ति, मोक्ष आदिलाई शब्दमा बाँध्ने कोसिस गरे, निराकार, असीम ईश्वरीय शक्तिलाई अन्तर्दृष्टिको माध्यमबाट बुझ्ने र परिभाषित गर्ने अदम्य आकाङ्क्षाको लेख्य स्वरूप नै दर्शन हो । यसैले दर्शनको मूल उद्देश्य ज्ञात भन्दा अज्ञातको खोज या विवेचना हो, भौतिक तत्त्व या तत्त्वको गुणको बारेमा विमर्श गर्नुभन्दा अतत्त्वको चिन्तन गर्नु हो ।

विश्वमा प्रचलित सबै धर्महरूले ईश्वरको अस्तित्वलाई मानेका छन् र ईश्वरसँगै आत्मा, स्वर्ग पनि जोडिएर आएको छ । यो भनेको प्राचीन सेमेटिक र वेदको मान्यता हो, यसैको अनुकरण अन्य ईश्वरवादी धर्महरूले गरेका छन् । सेमेटिक (यहुदी, इसाई या इस्लाम) धर्म नभएर सम्प्रदाय हो, सेमेटिक सम्प्रदायको मूल श्रोत भनेको अवेस्ता हो, अवेस्ता मूलतः अर्धभौतिक दर्शनमा आधारित धर्म हो, यसमा स्वर्ग, ईश्वर र आत्मालाई मानिएको छ, तर स्वर्गभन्दा माथि पुगिएको भने छैन । इसाई र इस्लाममा पनि केवल कयामत (जजमेन्ट डे) पछि मात्र मृतात्माहरू स्वर्ग या नर्कको भागिदार बन्ने कुरा लेखिएको छ, त्यहाँ हुने उपलब्धिको बारेमा व्याख्या मात्र गरिएको छ, यसैले सेमेटिक सम्प्रदायहरू अर्धभौतिकवादी छन् । यसको अनुपातमा चार्वाक दर्शन विशुद्ध अनात्मवादी भौतिक दर्शन हो भने बौद्ध दर्शनलाई पनि अनात्मवादी अर्धभौतिक दर्शन भन्न सकिन्छ ।  

यहुदी, इसाई र इस्लाम सेमेटिक सम्प्रदाय हुन् । यिनमा धर्मको व्याख्या गर्न बाइबल, कुरान, अवेस्ता जस्ता एक निश्चित पुस्तक या शास्त्र छ, जसको आधारमा अनुयायीहरूलाई शास्त्र अनुरूप धार्मिक कार्य गर्न, नियमहरू पालना गर्न, उपासना गर्न सिकाइन्छ, निर्देश गरिन्छ । वेद जस्तै सेमेटिक सम्प्रदाय पनि एकेश्वरवादी अवधारणा हुन्, वेदमा र यिनमा पनि ब्रह्म एउटै छन्, निर्गुण निराकार छन् । सेमेटिक धर्महरूमा ईश्वर अदृश्य भएर सृष्टिको सञ्चालन गर्दछन् दूत या पैगम्बर पठाएका आफ्नो सन्देश प्रवाहित गर्छन् । अवेस्ता, कुरान, र बाइबल ईश्वरद्वारा स्वप्न, दिव्य दर्शन या आकाशवाणी मार्फत प्रदत्त वाणी सुनेर लेखिएका धार्मिक ग्रन्थहरू हुन् । कुरानको मूल प्रति स्वर्गमा भएको मानिन्छ । इस्लाम र इसाई दुवै मृत्युपछिको जीवन र मोक्षलाई मान्दैन, स्वर्ग नर्कलाई भने मान्दछ । सेमेटिक सम्प्रदायका बाइबल, कुरान, अवेस्ता आदिमा सम्प्रदायको निश्चित संहिता या धर्मको व्याख्या गर्ने एकै पुस्तक छन् । यिनमा श्रृष्टि लगायत सबै कुराको व्याख्या गरिएको छ र अनुयायीहरूलाई केवल यसैमा मात्र विश्वास गर्न भनिएको छ । अर्थात्, यसका अनुयायीहरूको आशङ्का गर्ने, सोच्ने, या तर्क गर्ने बाटो पूर्ण रूपमा बन्द गरिदिएको छ । जहाँ प्रश्न गर्न, आशङ्का या कुनै कुरामा अविश्वास गर्न नै बन्देज लाग्दछ भने त्यहाँबाट कसरी दर्शन प्रतिपादित हुनसक्छ र !  

सेमेटिक (यहुदी, इस्लाम, इसाई) परम्परामा ईश्वर धरतीमा अवतरित भएका छैनन्, दूत या पैगम्बर पठाएका छन् सेमेटिक धर्महरूमा ईश्वर अदृश्य भएर सृष्टिको सञ्चालन गर्दछन् । वेदमा पनि ब्रह्म एउटै छन्, निर्गुण निराकार छन्, तर वेदपछि रचिएका हरेक धर्मशास्त्रमा हरेक देवी देवता, ऋषि, राजा या अनेक पात्र सबै ईश्वरांश लिएर जन्मिएका या ईश्वरकै अवतार हुन् । यी देवी देवता र अवतारहरू पनि केवल काव्यमा मात्र सीमित राखिएका छैनन् अपितु यिनलाई सोह्रै आना सत्य र सिद्ध इतिहासको रूपमा ग्रहण गर्ने प्रवृत्ति छ, तर यसको कुनै प्रमाणिक श्रोत छैन, आर्कियोलजिकल प्रमाण छैन, अर्थात्, यो काव्य, इतिहास या धर्मग्रन्थ नभएर कपोलकल्पित संशयपूर्ण कथा मात्र हो । अपौरुषेय प्रकृति मानिने वेदलाई हिन्दु धर्मको मूल मान्ने हो भने पनि वेद पछिका सबै धार्मिक गन्थ्रहरूको मूल्य शून्य छ ।

यसको विपरीत वैदिक धर्ममा भने बाइबल, कुरान, अवेस्ता जस्तै धर्मको कुनै निश्चित संहिता या धर्मको व्याख्या गर्ने कुनै एक पुस्तक छैन । समयानुसार वैदिक धर्मलाई नियमन गर्न विभिन्न समयमा विभिन्न शास्त्रहरू लेखिए, समयोचित नियमहरू बनाइए । वैदिक धर्ममा अनेक मत, वाद, सम्प्रदाय, आस्तिक नास्तिक सबै समेटिएको छ, आत्मवादी र अनात्मवादी दर्शनलाई समेत वैदिक धर्मले समाहित गरेको छ । आवश्यकता अनुसार समय समयमा अनेक शास्त्र, पुराण, स्मृति, ग्रन्थ लेखिएको छ, यस आधारमा यो धार्मिक सम्प्रदाय होइन भन्न सकिन्छ । तथापि, अनात्मवादी या नास्तिक दर्शनलाई छोडेर बाँकी सबै मत, वाद, सम्प्रदाय आदिले अन्य धार्मिक सम्प्रदायले गर्ने जस्तै सबै कार्यहरू गर्ने भएकोले परोक्ष रूपमा यो पनि सम्प्रदाय नै हो । वैदिक धर्मको पुस्तकहरूका तीन विभाग छन्, वेद, उपनिषद र सूत्र ग्रन्थ पहिलो, स्मृति दोस्रो र पुराण तेस्रो । यी सबैलाई धर्मग्रन्थ मानिए पनि यिनमा अनन्त मतभेद छन् र यिनै मतभेदले गर्दा वैदिक धर्ममा यति धेरै सम्प्रदायहरू छन् कि स्वयं पण्डितहरू व्याख्या गर्न या भेद बताउन असमर्थ छन् । यी सम्प्रदायका अनुयायीहरूका भावना, विश्वास र आचार बिचार पनि भिन्न भिन्न छन् । वेद र वेदका साहित्यलाई मात्र मान्नेहरूका सम्प्रदाय पनि थुप्रै छन् । स्मृतिका काल र वर्णन पनि एक अर्कामा प्रतिकुल छन् भने पुराणको वेद र प्राचीन साहित्यसँग प्रत्यक्ष तारतम्य छैन ।

शाक्त सम्प्रदायका (प्राचीन झाँक्री) तान्त्रिकहरूले जब यज्ञ विधानलाई अपनाए तब मारण, मोहन, उच्चाटन वशीकरण आदि शक्ति प्राप्तिको भैरव भैरवी, चण्डी काली कराली आदिको सिद्धि पनि यज्ञको माध्यमबाट नै सिद्ध गरिन लागियो । कुण्डलिनी योग शाक्त परम्परामा आधारित छ भने बज्रयान पनि यसैको सेरोफेरोमा घुम्दछ । यी दुवै सम्प्रदायहरू प्राचीन प्रकृति पूजक र यज्ञ पूजनका फ्युजनबाट (समागम) बनेका हुन् । मूर्ति र मन्दिर सुमेर र मेसोपोटामियन सभ्यताका देन हुन् । वेदमा मन्दिर र मूर्ति पूजाको कुनै उल्लेख छैन । बौद्ध धम्मको उदय पश्चात् हिन्दुहरूको यज्ञ धर्म शिथिल भयो र सुषुप्त अवस्थामा पुग्यो । सुमेरियन र मेसोपोटामियन सभ्यताको सिको गर्दै बौद्ध धम्मले बुद्धको मूर्ति बनाएर मूर्तिलाई ध्यानको साधन बनाउन थाल्यो, बौद्ध धम्मको चरम अवस्थासम्म यो निक्कै फैलियो, बुद्धका दश मुद्रा र अनेक आसनका मूर्तिहरू बन्दै गए । विद्वान ऋषिहरूको दर्शन र बुद्ध धम्मको उदयको साथसाथै हिन्दुहरूको यज्ञ धर्म दब्न गयो । यद्यपि बुद्धको निर्वाणको २०० वर्ष पछिको दोस्रो संघातीपछि नै बौद्ध धम्म महायान र हीनयान गरेर दुई मार्गमा अगाडि बढी सकेको थियो, तथापि यसको विस्तार पुष्यमित्र शुङको समय अगाडिसम्म तीव्र रूपमा फैलियो । बुद्ध आफै गणराज्य प्रमुखका पुत्र मात्र थिए, कुनै राजाका छोरा या राजकुमार भने थिएनन् । यसैले पनि गणराज्यका राजाहरू र सम्राट अशोकको उदयपछि मौर्य वंशसम्म बुद्ध धम्मले चरम विकास ग¥यो ।

हिन्दु धर्मसँग बाह्य तथा आफ्नै तीन भेद हीनयान, महायान, बज्रयान सँगको आन्तरिक सङ्घर्ष गरिरहेको बौद्ध धम्मावलम्बीले यवनहरूलाई भारत वर्षमा जित पछि बौद्ध धम्मलाई सम्पूर्ण भारतको राजधर्मको बनाइदिने प्रलोभनमा साथ दिए । यसै सङ्घर्षमा सेनापति पुष्यमित्रले बौद्ध धर्मावलम्बी राजा बृहद्रथको हत्या गरे यवन तथा सहयोगी बौद्ध धर्मावलम्बीहरूलाई दमन गरे । बौद्ध सङ्घमा लुकेका सयौँ यवनहरू र बुद्धमार्गीहरूको हत्या भयो, यवन र बौद्ध भिक्षुहरूको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिने घोषणा भयो, भिक्षुहरूका काटिएका टाउकाहरू थुप्रिए, दाहसंस्कार नगरेर तिनलाई खोलाको ढुङ्गामा फोरियो, (नरिवल फोड्ने प्रचलन यसैको प्रतीक हो भनिन्छ), हजारौँ बौद्ध भिक्षुहरू भागे, भारतमा बौद्ध धम्म यहीँबाट ओरालो लाग्यो ।  

उपनिषदहरू

दर्शनको सुरुवात उपनिषद बाटै भएकोमा दुई मत छैन ।  उपनिषदको रचना काललाई लिएर विद्वानहरूमा मतभेद छ । उपनिषद वेद पछिको रचना हो, चार्वाक र बुद्धको समयमा पनि त्रिवेद प्रचलनमै थियो, तथापि, प्रारम्भिक उपनिषद भने निश्चित रूपमा बुद्ध कालभन्दा अगाडिका हुन् भने केही पछिका । यस आधारमा उपनिषद वैदिक सूक्त लेखनको समाप्ति र बौद्ध धम्मको उदयभन्दा अघि इ.पू. ५५० को हाराहारीबाट सुरु भएको देखिन्छ । सबैभन्दा प्राचीन उपनिषदहरूमा कुनै सम्प्रदायले रचेका या सम्प्रदायवाद रहित गद्यात्मक छन् । डा. राधाकृष्णनले पनि शङ्कराचार्यले भाष्य गरेका उपनिषदहरूलाई प्राचीन र प्रमाणिक मानेका छन् ।प्रमाण र दर्शन

माथि नै भनियो, आस्तिक दर्शनले ईश्वर र ईश्वरको सत्ता, आत्मा र मोक्ष आदि प्रमाणित गर्ने तार्किक कोसिस गर्दछ । तर यी सबै, प्रत्यक्ष प्रमाण बिनाका या पञ्च ज्ञानेन्द्रियले अनुभूत गर्न नसक्ने कुराहरू हुन्, यसैले यिनलाई ूप्रमेयू अर्थात् प्रमाणित गरिनु पर्ने कुराहरू मानिन्छन् । उपनिषदहरू या अन्य आस्तिक धर्महरूका दर्शनहरूले पनि तर्कका आधारमा प्रमाणित गर्ने कोसिस गरेका छन् । प्रमाणहरू मुख्यतया चार प्रकारका हुन्छन्, प्रत्यक्ष, अनुमान, उपमा र शब्द । ईश्वर र ईश्वरीय अवतार प्रमेय अर्थात् प्रमाणित गरिनु पर्ने कुरा हो ।

कुनै कुरालाई मानिसका पञ्चज्ञानेन्द्रियहरूको मद्दतबाट देख्न, सुन्न, सुँघ्न, स्वाद लिन, छुन या महसुस गर्न सकिन्छ भने तिनलाई प्रत्यक्ष प्रमाण मानिन्छ । अनुमान प्रमाणको आधार मानवको ज्ञानमा आधारित शङ्कायुक्त अर्धसत्य प्रमाण हो । उपमा प्रमाण अन्यको कथन या कुनै एक कुरा देखाएर दाँजेर दिइने प्रमाण हो । शब्द प्रमाण या तर्क प्रमाण मानिसको ज्ञान, अनुभव, बुद्धि, परिवेश आदि थुप्रै कुराहरूको  आधारमा दिइन्छ । यी मध्ये प्रत्यक्ष प्रमाण नै परिस्थितिवश असत्य हुन्छ भने बाँकी अन्य प्रमाणहरू प्रत्यक्ष प्रमाणभन्दा निक्कै कमजोर र आधारहीन हुन्छन् ।

आस्तिक दर्शनले प्रमेय कुरालाई स्थापित गर्न प्रत्यक्ष प्रमाण बाहेक अन्य प्रमाणहरूका साथै तर्क र कल्पनाको सहायता लिएको छ । यसको विपरीत नास्तिक दर्शनले केव प्रत्यक्ष प्रमाणलाई मात्र मान्दछ । नास्तिक दर्शनले अभौतिक तत्त्वलाई मान्दैन भने आस्तिक दर्शनले अभौतिक तत्त्व या प्रमेय कुरालाई नै प्रमाणित गर्ने कोसिस गरेको छ ।  

आस्तिक दर्शनका आधारमा ईश्वर या मोक्षको कुरा गर्दा यी दुवै प्रमेय कुरा हुन् । ईश्वर र मोक्षको कुनै प्रत्यक्ष प्रमाण छैन । आदिकलादेखि वेद तथा अन्य प्राचीन धर्मग्रन्थहरूले ईश्वरलाई निर्गुण, निराकार र अजन्मा भनेको छ । नास्तिक दर्शनले ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन, बौद्ध दर्शनले  ईश्वर र आत्माको अस्तित्वलाई अस्वीकार गरेको छ, तर ईश्वर या परम शक्तिलाई प्रकृति र मोक्षलाई निर्वाण मानेको छ । परम शक्तिलाई प्रकृति भनिदिएपछि भने तर्क या प्रत्यक्ष प्रमाणको आवश्यकता नरहेकोले भौतिक र वैज्ञानिक आधारमा यही सत्य देखिन्छ । फूलमा रङ्ग र सुवास हुनु कुनै ईश्वरीय कार्य नभई प्रकृतिको कारणले हो भनेर बुद्धले भनेका छन् । परम शक्तिलाई आत्मवादी सनातनले ईश्वर मान्नु र अनात्मवादी बुद्धले प्रकृति मान्नुमा यही अन्तर छ । प्रकृतिको कार्य अनुभूत गर्न सकिन्छ, देख्न, छुन सकिन्छ, भौतिक र वैज्ञानिक आधारमा यही सत्य देखिन्छ ।

अनुमान सदैव सत्य नै हुन्छ भन्ने छैन, अनुमान गरिएको कुरा हुन पनि सक्छ र नहुन पनि सक्छ । अनुमान गर्नलाई पनि कुनै भौतिक आधार चाहिन्छ र भौतिक प्रमाणको अभावमा अभौतिक कुरालाई जति सुकै अनुमान गरे पनि नतिजा शून्य नै हुन्छ । सारस पानी भएको ठाउँमा बस्छ । यसैले जहाँ सारस देखिन्छ त्यहाँ पानी छ भनेर अनुमान लगाइन्छ, तर सारस हुँदैमा पानी हुनैपर्छ भन्ने छैन । डाइनोसरको अस्थिपञ्जरका आधारमा गरिने अनुमान समेत शतप्रतिशत मिल्दैन भने अस्थिपञ्जर नै नभेटिएको भरण्डी नामक दुई टाउके चराको बारेमा गरिने अनुमानको नतिजा शून्य नै हुने हुँदा अनुमान प्रमाण सटिक मानिन्न ।

उपमा प्रमाणको आधार अन्यको भनाई या कुनै कुराको उपमा हुन्छ । कुनै व्यक्तिले भनेकै कुरा सत्य मान्न सकिन्न । बाबुआमा कालो हुँदैमा सन्तान पनि कालै हुन्छ भन्ने छैन । जिराफ र कङ्गारु दुवै नदेखेको व्यक्तिलाई जिराफ देखाएर कङ्गारु भने या कङ्गारु देखाएर जिराफ भन्यो भने देख्नेको लागि त सत्य हुन्छ, तर त्यो पूर्ण सत्य भने हुँदैन, यहाँ आँखाले देखेकै कुरा पनि झुटो हुन्छ ।  

शब्द या तर्क प्रमाणको आधार मानिसको ज्ञान, अनुभव, बुद्धि, परिवेश आदि थुप्रै कुराहरू हुन् । कटहर फल र तरकारी दुवै हो । यसको उपती, प्रयोग र अवस्था अनुसार एकै पदार्थ भए पनि जब यसका बारेमा कुरा गरिन्छ, तब बिचार फरक फरक आउँछन् । कुनै हिसाब गर्न कल्पना गरिएको कुनै पदार्थ प्रत्यक्ष रूपमा हुँदैन, जसलाई आप्त भनिन्छ । तिमीसँग चार वटा लड्डु छ, दुई वटा साथीलाई दियौ, अब कति बाँकी छ भनेर सोध्दा दुई उत्तर आउँछ । जवाफ सही हो, तर लड्डु प्रत्यक्ष नभएर आप्त हुन्छ । शब्द प्रमाणमा यसरी नै लड्डु जस्तो आप्त शब्द प्रयोग गरिन्छ ।

कसैलाई चोर भन्दा प्रमाणित गर्न प्रमाणहरू जुटाउनु पर्ने हुन्छ, तर असल भनेर तारिफ गरिदिँदा त्यसलाई प्रमाणित गरिरहनु आवश्यक रहँदैन । आस्तिक र नास्तिक दर्शनका बिच यही अन्तर देखिन्छ । नास्तिक दर्शनमा चार्वाक या लोकायतको आधार विशुद्ध भौतिक र प्रत्यक्ष प्रमाण मात्र हो, यसले ईश्वर, आत्मा, परलोक, मोक्ष आदि अलौकिक कुरालाई स्वीकार गर्दैन ।

आस्तिक दर्शन    

आस्तिक दर्शनको सुरुवात उपनिषद बाटै भएकोमा दुई मत छैन । उपनिषदको रचना काललाई लिएर विद्वानहरूमा मतभेद छ । उपनिषद वेद पछिको रचना हो, चार्वाक र बुद्धको समयमा पनि त्रिवेद प्रचलनमै थियो, तथापि, प्रारम्भिक उपनिषद भने निश्चित रूपमा बुद्ध कालभन्दा अगाडिका हुन् भने केही पछिका । यस आधारमा उपनिषद वैदिक सूक्त लेखनको समाप्ति र बौद्ध धम्मको उदयभन्दा अघि इ.पू. ५५० को हाराहारीबाट सुरु भएको देखिन्छ । सबैभन्दा प्राचीन उपनिषदहरूमा कुनै सम्प्रदायले रचेका या सम्प्रदायवाद रहित गद्यात्मक छन् । डा. राधाकृष्णनले पनि शङ्कराचार्यले भाष्य गरेका उपनिषदहरूलाई प्राचीन र प्रमाणिक मानेका छन् ।

उपनिषद चिन्तनशील तथा कल्पनाशील ऋषिहरूको दार्शनिक काव्य रचनाहरू हुन् । वेदमा झैँ उपनिषदमा पनि विदुषीहरूको प्रभावशाली उपस्थिति रहेको छ । लेखन शैलीका आधारमा उपनिषदहरू संवाद, प्रश्नोत्तर, विद्वानहरूको पारस्परिक चर्चा र उपदेशको रूपमा गद्यमा लेखिएका छन् । उपनिषदमा कतै कतै संक्षिप्त आख्यान द्वारा दर्शनलाई बुझाउने प्रयास पनि गरिएको छ । मूलतः उपनिषदहरू गद्यमा छन् तर यिनमा प्रयोग भएका शब्द शक्ति, ध्वन्यात्मकता, र अर्थको गहिराइका आधारमा मन्त्र समान सम्मोहन र आकर्षण राख्दछन् ।

वैदिक या पूर्वीय दर्शनको मूल वेद भने होइन, तर वेद सङ्गत या वेदलाई नै मूल मानिएर व्याख्या गरिने गरिएकोले यसलाई वैदिक दर्शन पनि भन्ने गरिएको छ । सरल भाषामा भन्दा पूर्वीय दर्शनले वेदलाई नै स्थापित गर्दछ । तत्वमीमांसा अनुभवातीत जगतको कुरा गरिन्छ, जसलाई वैज्ञानिक तवरले सत्य साबित गर्न सकिन्न । धर्मशास्त्र र दर्शन फरक कुरा हुन् तथापि धर्मले आफ्नो दर्शनद्वारा सत्य स्थापित गर्ने कोसिस गरेको छ । ईश्वर, सृष्टि, जगत, ब्रह्म, मोक्ष, परलोक, स्वर्ग नर्क आदिलाई दर्शनकै सहारा लिएर सत्य प्रमाणित गर्ने कोसिस गरिएको छ र यिनलाई प्रत्यक्ष इन्द्रियले भन्दा अन्तः प्रज्ञा ले हेर्नु पर्दछ भनेर व्याख्या गर्दछन् । तर दर्शनको आधार तर्क बुद्धि नभएर आस्था र श्रद्धा मात्रै हो । दर्शन तर्कमा आधारित छ र तर्कको आधार केवल आस्था मात्र हो, यसको कुनै भौतिक आधार छैन, प्रत्यक्ष इन्द्रियले भन्दा अन्तस्करणले हेरिने गरिन्छ ।  

उपनिषदहरू ऋषिहरूको मनश्चेतना, मानसिक अनुभूति या अन्तर्दृष्टिबाट भएको आध्यात्मिक स्फुरण या दिव्य ज्ञानको वर्णन मानिन्छ । उपनिषदरूमा परमात्माको स्वरूप, अवस्था, प्राकृतिक शक्तिसँग सम्बन्ध, आत्मामा सूक्ष्म उपस्थिति आदिलाई रूपकहरू र प्रतीकहरूको रूपमा वर्णन गरिएको छ । उपनिषदहरूमा श्रृष्टिको उद्गम र रचनाको बारेमा गहन चिन्तन गरिएको छ । कल्पनाबाट उब्जिएका विविध बिम्ब र प्रतीकको माध्यमबाट यसको विश्लेषण गरेर सम्झाउने प्रयत्न गरिएको । मानवीय कल्पना, चिन्तन–क्षमता, अन्तर्दृष्टिको क्षमतालाई त्यति बेलाका दार्शनिक, ऋषि मनीषी र विदुषीहरूले जहाँसम्म पुर्याउन सकिन्थ्यो त्यहाँसम्म पुर्याउने अतीव कोसिस गरेका छन् र यही नै उनीहरूका तप थियो । तथापि, यहाँ महत्त्वपूर्ण कुरा के छ भने उपनिषदहरूमा ऋषिहरूले जे जति ज्ञान, दर्शन या आत्मा, ईश्वर, मोक्ष, श्रृष्टिको उत्पत्ति आदिका बारेमा लेखेका आफ्नो दर्शन या बिचार लेखेका छन् ऋषिहरू स्वयं त्यसैमा पनि संशय गर्छन्, तिनलाई पूर्ण सत्य भनेर यो भन्दा अर्को सत्य छैन भनेर ठोकुवा भने गर्दैनन् । ऋषिहरूकै शब्दमा उपनिषदहरू ऋषिहरूले गरेका अत्युत्तम परिकल्पनाको आधारमा बुझ्न सकिए जतिको ज्ञान हो, यो भन्दा अगाडिको गहन र भेदन गर्न नसकिएको रहस्य शायद परमात्मा नै जान्दछ, शायद परमात्मा पनि नजान्दो हो ! यसको सतही कारण भनेको ईश्वर, आत्मा, मोक्ष आदि कुनै भौतिक कुरा नभएर परिकल्पना गरिएका अनुमान, उपमा र शब्द प्रमाणले प्रमाणित गर्न खोजिएका तत्त्वहरू हुन् ।  

उपनिषदहरूमा परमात्मा र जीवात्माको विवेचना गरिएको छ । यसमा जीवात्माको मोक्षको लागि विवेकसम्मत सारगर्भित मार्गदर्शन गरिएको छ । आत्मा परमात्माको अंश भएकोले आत्मा र परमात्मा बिचको बाधा भनेको केवल अज्ञान हो र यो अज्ञान मेटिएमा परमात्मासँग साक्षात्कार भएर मोक्ष पाइन्छ । संक्षेपमा भन्नु पर्दा वेदले दृश्यमान प्राकृतिक शक्तिहरूलाई विभिन्न देवी देवताहरूको जामा लगाई दिएर यज्ञादि कार्यबाट उनीहरूलाई सन्तुष्ट बनाउने कोसिस गरे भने उपनिषदहरूले यी प्राकृतिक शक्तिको साक्षात्कार गर्ने उद्देश्यले चिन्तन गरेर प्राप्त ज्ञानलाई दर्शनको रूपमा व्याख्या गरे ।  

उनिषदहरू कुनै वेदलाई आधार मानेर लेखिएका छन् । उदाहरणका लागि ऐतरेय उपनिषदको आधार ऋग्वेद हो । ईश, कठ, तैत्तिरीय, वृहदारण्यक तथा श्वेताश्वतर उपनिषदहरू यजुर्वेद आधारित उपनिषद मानिन्छन् भने केन र छान्दोग्य उपनिषद सामवेदमा आधारित मानिन्छन् । प्रश्न, मुण्डक, माण्डूक्य अथर्ववेद आधारित मानिन्छन् । वैदिक दर्शनका उपनिषदहरूको सङ्ख्या लगभग २५० को हाराहारीमा रहेको मानिन्छ । यी मध्ये पनि १०९ वटा उपनिषदहरू उल्लेखनीय छन्, तर ती मध्ये पनि शङ्कराचार्यले टिका लेखेका उपनिषदहरूलाई प्रमुख मानिन्छ । तथापि यी सबै उपनिषदमा गरिएको व्याख्याका आधारमा केवल छ दर्शन प्रमुख छन्, गौतमको न्याय, कपिलको साङ्ख्य, पतञ्जलिको योग, जैमिनिको पूर्व मीमांसा र वादरायणको उत्तर मीमांसा या वेदान्त । यी सबै दर्शनहरू, पतञ्जलिको योग दर्शन वेदवाह्य छ, वेदमा आधारित भएकाले नास्तिक दर्शन मानिन्छन् । यसैले उपनिषदमा जे लेखिए पनि यदि त्यो वेद प्रतिकूल छ भने तिनलाई सत्य मानिँदैन ।

नास्तिक दर्शन

नास्तिक दर्शन भन्नाले वेदलाई नमान्ने दर्शन हो । यसमा चार्वाक बौद्ध र जैन दर्शन पर्दछन् । यसमध्ये पनि चार्वाक पूर्ण नास्तिक दर्शन हो । चार्वाक दर्शनलाई चार्वाक बाहेक विभिन्न नामहरू जस्तै, वृहस्पति सूत्र या बार्हस्पत्य मत, नास्तिक दर्शन, असुर मत, लोकवाद, लोकायत आदिले पनि सम्बोधित गर्ने गरिएको छ । केही विद्वानहरू यस दर्शनको संस्थापक वृहस्पतिलाई (देवताहरूका गुरु नभएर अर्कै) मान्दछन्, यसैले यसलाई वृहस्पति सूत्र पनि भन्दछन् । सुमेरियनहरूको दाहसंस्कारले वेदको परलोकवादलाई अस्वीकार गरेको देखिन्छ । आत्माको अस्तित्वलाई अस्वीकार गरेर शरीरलाई नै महत्त्व दिएर मृतक शरीरलाई आवश्यक खाद्य समेत राखेर गाड्नु र परलोक या मोक्ष अभौतिक भएको हुँदा लासलाई नजलाइनुले सुमेरियनहरू भौतिकवादी थिए भन्ने अर्थ लाग्दछ । यस अर्थमा सुमेरियनहरू आर्यहरूभन्दा धेरै अगाडिका भएकाले आर्यहरूको परलोकवादभन्दा भौतिकवाद निक्कै अगाडिको प्रतीत हुन्छ । यसर्थमा, भौतिकवादी दर्शनको मूल सुमेरियन सभ्यतालाई मान्न सकिन्छ । चार्वाक सिद्धान्तहरूलाई बुझाउन बौद्ध पिटकहरूमा लोकायत शब्दको प्रयोग गरिएको छ । प्रत्यक्ष इन्द्रिय ज्ञानको आधारमा स्थापित सत्यमा विश्वास राख्ने, स्वर्ग, नर्क, मुक्ति या परलोकभन्दा यही लोकमा विश्वास राख्ने लोकको दर्शन प्रणाली भएकोले यसलाई लोकायत दर्शन पनि भन्ने गरिएको छ । वृहस्पति सूत्र, नास्तिक दर्शन, असुर मत, लोकवाद, लोकायत, भौतिक दर्शन भने वेद र बुद्धभन्दा पनि अगाडिकै नै देखिन्छ ।

ग्रीक दार्शनिक एपिक्युरसले प्रतिपादन गरेको एपिक्युरिजममा पनि चार्वाक मतको प्रस्ट छाप देखिने हुँदा यसलाई नवीन मत मान्नु भुल हुनेछ । एपिक्युरसको आनन्दवादले पनि चार्वाक मतको “यावत् जिवेत्“ वाक्यलाई नै अङ्गालेर  पनि सुख भोगलाई प्रधानता दिएको स्पष्ट देख्न सकिन्छ । जीवनमा वर्तमान क्षणभरमै अतीत हुने भएकोले वर्तमानमा नै मानसिक शान्ति र शारीरिक आनन्द प्राप्त गरेर वर्तमानलाई यथेष्ट उपभोग गर्नु पर्दछ भन्ने मत यिनीहरूमा रहेको छ । यसका लागि शरीरको उपयोग पनि आनन्दको उपभोगकै एक निमित्त मात्र हो भन्ने विश्वास  राखिन्छ, स्वर्ग मोक्ष, पुनर्जन्म आत्मा आदिलाई नकारेर जीवनलाई केवल एक बारको मानेर आनन्दको खोजी गर्दछन् । एक वारको जीवनमा पाइने सुखलाई त्याग्नु मूर्खता हो, जसरी धानबाट चामल लिएर भुसलाई छाडिन्छ, त्यसरी नै जीवनमा दुखलाई छाडेर सुखलाई लिनु पर्दछ भन्ने मूल मर्म पनि चार्वाक मत नै हो ।
“न स्वर्गो नापवर्गो नैवात्मा पारलौकिकः

नैव वर्ण–आश्रम–आदीनां क्रियाश् फलदायिकाः”

धर्मप्रति नास्तिक बिचार भएकालाई अधर्मीको लांक्षना लगाएर नास्तिकलाई अनास्था, अनैतिकता र अनाचारसँग जोडिएर हेरिने परम्परा वास्तवमा गलत, दोषपूर्ण र भ्रामक छ । नास्तिक बिचार यथार्थलाई आत्मसात् गरेर मानवता र जनहितलाई प्रधानता दिने दर्शन हो । विश्वको इतिहास हेर्ने हो भने जति आस्तिक या धार्मिक विचारकहरूले नरसंहार गरेका छन् त्यसको दाँजोमा नास्तिक विचारकहरूले शून्य हत्या गरेका छन् । धार्मिक रुढीहरूको अन्धानुकरण नगर्नु, शास्त्रका कुरालाई बिना बिचार अक्षरशः सत्य भनेर स्वीकार नगर्नु र हरेक कुरालाई साक्षी, प्रमाण र तर्कका आधारमा ज्ञान विवेक र वैज्ञानिक दृष्टिकोणले हेर्नु नास्तिकता कदापि होइन ।

बुद्धले अनात्मवादी चार्वाक सिद्धान्तलाई भौतिक तथा लौकिक उदाहरण दिएर वैज्ञानिक ढङ्गबाट सर्वसाधारणलाई बुझाए । सरल, व्यावहारिक र ज्ञानेन्द्रियले अनुभूत गर्ने बिचारलाई सर्वसाधारण तथा अनपढले पनि बुझे । बुद्धको मतमा कल्पना, परलोक, आत्मा, ईश्वर आदि छैन, जे छ भौतिक र लौकिक छ, त्यसैले पनि यसलाई आत्मसात गर्न सबैलाई सजिलो भयो, छ । जातक कथा र अवतारवाद बुद्ध पछिका रचनाहरू हुन्, बुद्धको होइनन्, कर्मकाण्डीहरूको तेजोवध गर्न बुद्धका थुप्रै जातक कथाहरू र अवतारवाद बुद्धको निर्वाणपछि महायानीहरूले रचना गरेका थिए । यसैले बुद्धं शरणम् गच्छामी मन्त्र गलत छ, बुद्धको शरणमा जाँदैमा कुनै चमत्कार हुँदैन भन्ने कुरा स्वयं बुद्धले भनेका थिए । बुद्ध ज्ञान र विवेकले ठहराएको सत्यलाई सत्य मान्ने शिक्षा दिन्थे ।

नास्तिक दर्शनमा चार्वाकले केवल प्रत्यक्ष प्रमाणलाई मात्र मान्यता दिएको छ । बुद्धले प्रत्यक्ष र अनुमान प्रमाणलाई मान्यता दिए र बाँकीलाई अस्वीकार गरे । नास्तिक प्रत्यक्ष प्रमाणलाई आधार मान्दछ जो विज्ञान सम्मत हुन्छ । विज्ञान र धर्म परस्पर शत्रु हुन् । धर्मको जग असत्यमा उभिएको छ भने विज्ञानको सत्यमा, धर्म भयका कारण श्रद्धा र विश्वासले सबै कुरा हेर्छ विज्ञान खोज, प्रयोग र तर्कले । नास्तिकताको अर्थ पुरातन धर्मशास्त्रको विरोध होइन, त्यसमा के कति सत्य छ, कति वास्तविकता छ, ऐतिहासिक साक्षरहरूले के भन्छ, आदि सत्यलाई वैज्ञानिक रूपमा हेरेर अध्ययन गरेर सत्य मान्ने प्रवृत्ति मात्र हो ।

नास्तिकताको राम्रो उदाहरण इसाईहरूको इतिहासलाई हेरे प्रस्ट हुन्छ । इस्लाम धर्मले युरोपमा झन्डा गाड्दा इसाईहरूको आत्मविश्वास हल्लियो र धर्मप्रति अविश्वासको बीजारोपण भयो, मुस्लिम धर्म हटाउने युद्धमा पराजय भोग्दा इसाई मस्तिष्कले पवित्र आत्मालाई अविश्वास गर्न थाल्यो । पवित्र आत्माको वचन काटेर पृथ्वी गोलो छ भन्ने व्यक्तिलाई धर्मको नाममा जलाउनेहरूलाई मैगलेनले अविश्वास गरेर  विश्व भ्रमण गरेपछि कतै स्वर्ग नर्क नदेखेको बयान गरिदिएर विज्ञानलाई विजयी बनाइ दिए । उनको बयान लगत्तै अमेरिका पत्ता लागेपछि पवित्र आत्मा र बाइबल माथि बचेखुचेको भ्रम पनि समाप्त भयो । कोपरिनकस र केपलरले बाइबलमा लेखिएको ज्योतिषलाई गलत प्रमाणित गरिदिए, डार्विनको सिद्धान्तले बिचारशील मानिसको मस्तिष्कबाट बाइबलको प्राणी उत्पत्तिको व्याख्यालाई नष्ट गरिदियो । तथापि, आफूलाई सभ्य र शिक्षित ठान्ने युरोपियन देशहरू नै अझै बाइबललाई स्थान दिएर धर्म प्रचारमा लाग्नु भनेको आफैलाई बारम्बार थुकी रहनु नै हो ।

वैदिक दर्शन पनि बेलाबेलामा विज्ञानको सहारा लिएर यसलाई स्थापित गर्न खोज्छ, विज्ञानको नयाँ खोजसँग जबरजस्ती जोडिन खोज्छ, यी दुवैको सहारामा वेदलाई श्रृष्टि भन्दा अगाडिको र पुराणादीलाई सत्य इतिहास प्रमाणित गर्न खोज्छ, जब कि यी सबै कपोलकल्पित हुन्, कुनै साक्ष्य, प्रमाण, पुरातात्त्विक अभिलेख या कार्बन डेटिङ गर्न कुनै उपलब्ध कुनै साधन समेत छैन । विषय जे सुकै होस्, व्याख्या जस्तोसुकै गरियोस्, ईश्वर, आत्मा, परलोक, स्वर्ग र मोक्ष काल्पनिक कुराहरू हुन्, यसैले यिनलाई प्रत्यक्ष प्रमाणित गर्न सकिँदैन, हिन्दु दर्शन वेद र यिनैको बारेमा चिन्तन गर्दछ, बौद्धिकता र तार्किकताका आधारमा यी जिब्रो टोक्ने खालका भए पनि जीवनोपयोगी भने छैनन् ।

संसारमा अहिले बुद्धिवादी दार्शनिकको भन्दा प्रयोगवादीहरूको प्रधानता ज्यादा छ, कर्मवादीहरूको आवश्यकता छ । एकातिर भाग्यवादीहरू धर्मको आधारमा विज्ञान, वैज्ञानिक चिन्तन, सिद्धान्त, तथ्य, उपलब्धिहरू लाई अस्वीकार गरेर धार्मिक ग्रन्थमा लेखिएको कुरामा मात्र आस्था र विश्वास राख्न उपदेशित गर्छन्, तर तिनै दर्शनका व्याख्यताहरू उपलब्ध वैज्ञानिक उपकरणहरूको पूर्ण उपभोग गरेर आनन्द लिन्छन् भने यो भन्दा ठुलो पाखण्ड के होला ! धर्म र धर्मग्रन्थहरूलाई ईश्वरीय, अलौकिक र सत्य मान्नेहरूका सबै प्रश्न र जिज्ञासाको उत्तर धर्म ग्रन्थमै भए पछि धर्मावलम्बीको सोच्ने या चिन्तन मनन गर्ने मानवीय हक र क्षमता तत्क्षणै मर्दछ । सृष्टिदेखि संहारसम्म, भूलोकदेखि परलोक सम्मको पूर्ण वर्णन भएका शास्त्रलाई बिना कुनै प्रमाण अक्षरशः सत्य मान्नेहरू चरम आस्थावादी त हुन् तर निश्चय नै मुढमतीका पनि हुन्छन्, त्यहाँ कुनै प्रमाण तर्क या प्रश्नको आवश्यकता रहँदैन । यो भनेको बुद्धि विवेक माथि धर्मको पूर्ण नियन्त्रण हो, धर्मको नाममा दास प्रवृत्ति हो, आस्तिकताको चरममा सत्य असत्यको भेद बिना नै धर्मको लागि हत्याहिंसा गर्न लागिपर्नुले धर्म धर्म रहँदैन, अहिंसा परमोधर्म को अर्थ रहँदैन ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै